बागलुङ/धौलागिरि अस्पतालमा नयाँ एम्बुलेन्स सेवा शुरु भएको छ । अष्ट्रेलियामा बस्ने नागरिकहरुले पठाएको २८ लाख रुपैयाँमा बागलुङ नगरपालिकालले ३२ लाख रुपैयाँ थप गरिदिएपछि एम्बुलेन्स सेवा संचालनमा आएको हो ।
लामो समय देखि सुविधासम्पन्न एम्बुलेन्स नभएकोले बिरामीको रिफरमा समस्या थियो । शुक्रवार एक कार्यक्रमका बीच अस्पताललाई बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले ३२ लाखको चेक हस्तान्तरण गरे । उनले नगरको सहयोगले अस्पतालको सेवा चुस्त हुने र बिरामीले सुविधा पाउने भएपछि यो निर्णयमा पुगेको बताए ।
गत बर्ष अष्ट्रेलिया बसेका युवाहरुले रकम संकलन गरेर अस्पतालमा २८ लाख रुपैयाँ पठाएका थिए । नेपाल सरकारको कार्यविधिमा टुहिल गाडि एम्बुलेन्सको रुपमा चलाउने प्रावधान नभएको भन्दै उक्त रकमले एम्बुलेन्स खरिद गर्न नसक्दा रकम फिर्ता भएको थियो । युवाहरुबाट रकम ल्याउने काममा बानपा ३ का सामाजिक अगुवा पुनमप्रसाद शर्माले पहल गरेका थिए ।
उक्त रकममा साथ दिने अन्य श्रोत नभएपछि पैसा फिर्ता हुने डर थियो । नगरप्रमुख श्रेष्ठले उक्त अभियानमा साथ दिने गरी बजेट व्यवस्थापन गरिदिएपछि अस्पतालमा एम्बुलेन्स आएको हो । फोर्स कंपनीको फोरहिल गाडि र गाडि भित्रै स्वास्थ्यकर्मी समेत बसेर सेवा दिने व्यवस्थापन भएको एम्बुलेन्सले सेवा बिस्तारमा सहज भएको अस्पतालका अध्यक्ष नारायणप्रसाद पौडेलले बताए ।
जटिल समस्याका कारण उपचार हुन नसकी सहरी क्षेत्रमा रिफर गर्नुपर्ने बिरामीकालागि सुविधासम्पन्न एम्बुलेन्स बढी आवस्यक पर्छ । त्यकालागि भित्रै अक्सिजन र अन्य सेवा सुविधा समेत भएको एम्बुलेन्स झिकाइएको हो । अस्पतालले शुक्रवारदेदिनै उक्त एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था भएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा समाजका तर्फबाट आएका अभिभावकले २८ लाख र नगरपालिकाले ३२ लाख रुपैयाँ रकमको चेक हस्तान्तरण गरे । अस्पताल व्यवस्थापनले उनीहरुलाई धन्यवाद समेत दिएको थियो । उक्त कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष केवी राना मगरले सरकारी क्षेत्रको अव्यवहारिक कार्यविधिका कारण अस्पतालमा चाहेर पनि समयमा एम्बुलेन्स ल्याउन नसकेको बताए । उनले पटक पटकको प्रयासपछि नगरपालिकाको सहयोगले मात्रै यो सफलता मिलेको भन्दै नगरपालिका र पहल गर्ने निकायलाई धन्यवाद दिए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षता, शाखा अधिकृत तेजप्रसाद निउरेको संचालनमा सम्पन्न कार्यक्रममा पुनमप्रसाद शर्मा, लेखा अधिकृत झलक शर्मा लगायतले मन्तव्य राखेका थिए । अस्पतालमा अहिले दैनिक ३ सय बढी बिरामीले सेवा लिएका छन् । ती सेवाबाट दैनिक रिफर हुनेले एम्बुलेन्स अभावमा ट्यांक्सीमा महंगो शुल्क तिरेर पोखरा जाने गरेका थिए ।





