बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कालीगण्डकी पुलको कामले छ बर्षपछि गति लियो

कालीगण्डकी पुलको कामले छ बर्षपछि गति लियो


  • ढोरपाटन संवाददाता
  • मंसिर २६ २०७९, सोमबार

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्नेगरी कालीगण्डकी नदीमाथी निर्माणाधिन पक्कि पुलको कामले गति लिएको छ । दुई जिल्ला जोड्ने गरी निर्माण थालिएको पुलको कामले ६ बर्षपछि गति लिएको हो ।

पाँच बर्षसम्म अलपत्र रहेको पुलको कामले गति लिएपछि स्थानीयमा आशा पलाएको छ । ‘काम किन भएन भनेर चिन्तित थियौं, अहिले भैरकेको काम हेर्दा पुल बन्ने आशा पलाएको छ’ कुश्मीशेराका स्थानीय प्रेम शर्माले भने ‘यो पुल जैमिनीका लागि बाटो सोझो हुन्छ ।’

जैमिनी नगरपालिका–१ कुश्मीशेरा र पर्वतको फलेवास नगरपालिका–६ देविस्थान जोड्नेगरी २०७३ साल असोज ९ गतेदेखि पुल निर्माण थालिएको थियो । प्राबिधिक कारणले लामो समय काम रोकिएको पुलका संरचना बनाउने काम धमाधम भैरहेको सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनियर किरण पौडेलले बताए ।

रसुवा÷श्री गिता÷फेवा जेभीले सडक डिभिजन कानर्यालयसँग पुल निर्माणको सम्झौता गरेर छ वर्षअघि काम थालेका थिए । काम थालेको पाँच बर्षसम्म ३५ प्रतिशत भौतिक प्रगति रहेको पुलको पछिल्लो आर्थिक बर्ष सुरु भएपछि मात्रै १५ प्रतिशत भौतिक प्रगति थप भएको छ । ‘आगामी असार मसान्तसम्म म्याद थप भएको छ’ पौडेलले भने ‘थपिएको समयमा काम सकिनेमा आशाबादी छौं ।’

बागलुङ र पर्वत दुबैतर्फ पुल जोडिने संरचना बनाउने काम सकिएको छभने कालीगण्डकी नदिको बीचमा एउटा पिल्लर तयार भएको छ । पुलको पश्चिम तर्फको पिल्लर बनाउनका लागि कालीगण्डकी डाइभर्सनको काम भैरहेको छ । चौथो पटक म्याद थप भएपछि पुल निर्माणको काम धमाधम भैरहेको निर्माण कम्पनीका इञ्जिनियर अनिल श्रेष्ठले बताए ।

‘पुल तोकिएको समयमै निर्माण सक्न चाहन्थ्यौं तर निर्माण स्थलसम्मको सडककै कारणले काम थाल्नै पाएनौं’ श्रेष्ठले भने ‘सडक साँघुरो हुँदा पूर्वाधार निर्माणका लागि आवश्यक मेसिन ल्याउन पाएनौं, करिडोर सेनाले फराकिलो बनाएपछि पुलको काम थालिएको हो ।’
नदीमा पुल निर्माण गर्दा पटक पटक पानी तर्काउनुपर्ने र बर्षा याममा पानी तार्काउन सम्भव नहुने भएकाले पनि काममा ढिलाई भएको श्रेष्ठले बताए । पुल निर्माणका लागि पाइल फाउण्डेसनको स्टमेट भएकाले पाईलका लागि मेसिन ल्याउनुपरेको श्रेष्ठले बताए । नदी भित्रबाट पिल्लर उठाउने काम सकिएपछि पिल्लरमा जोड्ने स्लेप हाल्ने काम थालिने उनले जानकारी दिए । आउँदो बर्खाअघि नै नदीभित्र गर्नुपर्ने काम सकिने भएकाले त्यस बाहेकका काममा भने अब अबरोध नआउने उनको बुझाई छ ।

१३ करोड १२ लाख ४९ हजार ३६४ रुपैयाँमा लागतमा तीस महिनामा सक्नेगरी पुल निर्माणको सम्झौता भएको थियो । बागलुङ–पोखरा राजमार्गको विकल्पको रुपमा पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जाहुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्न यो पुल आवश्यक छ । समयमा पुल नबन्दा दुई बर्ष अघिको भदौमा एक साता मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध हुँदा बागलुङबासीले वैकल्पिक मार्गको प्रयोग गर्न पाएका थिएनन् । कालीगण्डकी करिडोरमा जोडिने यो पुलले पर्वत, स्याङ्जा र पोखरालाई समेत करिडोरको पहुँचमा ल्याउने काम गर्ने स्थानीय हरि केसी बताउँछन् ।

गण्डकी प्रदेश मुकाम पोखराबाट स्याङ्जाहुँदै पर्वत र बागलुङको जैमिनी नगरपालिकाहुँदै गलकोट जोड्ने रणनीतिक सडकको मुख्य पक्कि पुल हो यो । ऐतिहाँसिक जैमिनीधाम क्षेत्रमा निर्माण भैरहेको पुलले पर्वत र बागलुङका आर्थिक, सामाजिक र धार्मिक क्रियाकलापमा समेत प्रभाव राख्छ । पुल बनेमा मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्डमा आउने समस्याका कारण यात्रुले सास्ती खेप्नु पर्दैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->