बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कालीगण्डकी करिडोर मालढुंगा–हर्मिचौर खण्ड कालोपत्रेको काम सुरु

कालीगण्डकी करिडोर मालढुंगा–हर्मिचौर खण्ड कालोपत्रेको काम सुरु


  • ढोरपाटन संवाददाता
  • मंसिर २७ २०७९, मंगलबार

बागलुङ/ राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर मालढुंगा–बलेवा र बलेवा–हर्मिचौर खण्ड कालोपत्रेको काम सुरु भएको छ । कालीगण्डकी कोरिडोर (गैंडाकोट–राम्दी–मालढुंगा) सडक आयोजना कार्यालय पाल्पाले बागलुङको मालढुंगादेखि गुल्मीको हर्मिचौर सम्मको ५४ किलोमिटर सडक एकैपटक कालोपत्रेको काम थालेको हो ।

बागलुङ नगरपालिका–१ मालढुंगादेखि बलेवा बिमानस्थलसम्मको दश किलोमिटर सडक एक खण्ड र बलेवा बिमानस्थलदेखि हर्मिचौरसम्मको ४४ किलोमिटर सडक अर्को खण्डमा स्तरोन्नती तथा कालोपत्रेको काम सुरु भएको आयोजना कार्यालय पाल्पाका प्रमुख शंकर पौडेलले बताए ।

मालुढंगा–बलेवा खण्डको कामको जिम्मेबारी पाएको खड्का–कृष्ण बिएन जेभीले काम सुरु गरेको छ । मालढुंगाबाट सडक फराकिलो बनाउने र संरचना निर्माण गर्ने काम सुरु भएको हो । दश किलोमिटर दुरी रहेको यो खण्डको लागि ५५ करोडमा निर्माण कम्पनीले ठेक्का लिएको छ । दुई वर्षमा मालढुंगा–बलेवा खण्ड कालोपत्रे भैसक्ने पौडेलले बताए ।

त्यस्तै, बलेवा बिमानस्थलदेखि हर्मिचौर सम्मको सडक खण्ड कालोपत्रेका लागि कालिका कन्ट्रक्सनले जिम्मेवारी पाएको छ । ३ अर्ब ३० करोड रुपैयाँमा तीन वर्षभित्र काम सक्नेगरी ठेक्का सम्झौता भएको पौडेलले जानकारी दिए ।
कालीगण्डकी करिडोरअन्तर्गत कालोपत्रे हुन लागेका दुई खण्डहुँदै गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानबाट बुटवल, बागलुङ, पोखरासम्म नियमित यातायात सञ्चालन गर्न सहज हुनेछ । करिडोरअन्तर्गत त्रिवेणीधाम, देवघाटधाम, केलादीधाम, राम्दीघाट, रानीघाट, रुद्रवेणी, सेतीवेणी, पूर्तिघाट, जैमिनीधाम, पाल्पा भैरवस्थान, बागलुङ कालिका, गलेश्वरधाम, कागबेनी, मुक्तिनाथ, दामोदर कुण्डजस्ता महत्वपूर्ण तीर्थस्थल पर्छन् ।

उक्त करिडोरमा विभिन्न स्थानमा गरी एक सय ४८ वटा घाट छन् । कालीगण्डकीमा मात्र पाइने शालिग्राम दर्शनका लागि समेत धार्मिक पर्यटक आउनसक्ने सम्भावना उत्तिकै छ ।

करिडोर निर्माणपछि छिमेकी राष्ट्र चीन र भारत बीचमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । नेपालको दक्षिणी सीमा भारतको सुनौलीदेखि र उत्तरी सीमा चीनको कोरलालाई जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइएको छ । करिडोर नेपालको आर्थिक सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ । करिडोर कुल ४३५ किलोमिटर लम्बाइ रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->