बागलुङ/बुहारी ! घरकी कामदारी पात्र । मेला, महोत्सव, भेलाबैठक, भोजभतेर वा समाजमा हुने बिभिन्न कार्यक्रममा कम देखिने पात्र । धेरै ठाउँका घरमा पुरुष सदस्य नभए वा सासुले नसक्ने भए मात्रै बुहारीको खोजी हुन्छ । घरको काममा जती बुहारीको खोजी हुन्छ त्यत्तिकै खोजी सामाजिक काममा हुँदैन् । अधिकारका विषयमा हुने अनेकौं क्रियाकलापमा त झन् बुहारीलाई बोलावट नै कम हुन्छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्र्तगत जिल्लाभर भएका अनेकौं कार्यक्रममा यस्तै दृष्य देख्न पाइयो । लैङ्गिक हिंसाविरुद्धका चर्का भाषण भएका सभाहरुमा समेत न त मञ्च विभेदरहित थियो न बक्ता । तर बागलुङको वडिागाड गाउँपालिकामा भने अभियानको अन्त्य निकै रोचक र सन्देशमुलक गरियो ।
अभियानको अन्तिम दिन मञ्चमा पालिका प्रमुख, उपप्रमुख र केही कर्मचारी मात्रै थिए । दर्शकदीर्घामा २० वर्षदेखि ४० वर्ष उमेर समूहका बुहारीको जमघट । अझै रोचक त के थियो भने बुहारीहरु त्यहाँ भाषण सुन्न पुगेका होइनन् । अभियानअन्र्तगत आयोजना गरिएको कार्यक्रममा सहभागी हुन पुगेका थिए । गाँउपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा बुहारी हाजिरीजवाफमा सहभागी हुन पालिकाका बुहारीको सहभागिता थियो ।
एक समुहमा ३ जनाका दरले प्रतियोगितामा ३९ बुहारी तथा आमाहरुको सहभागी थिए ।
प्रतियोगितामा सोधिएका महिला हकअधिकार, कानुनका र समसामयिक प्रश्नमा उनीहरुको जवाफले माहौल निकै रोचक बनेको थियो । कतै अप्रत्यासित जवाफ त कतै झटारो जवाफले कार्यक्रम रोचक बन्यो । प्रतियोगितामा सहभागी समुहका बुहारी कतै बच्चा काँखमा च्याप्दै प्रश्नको जवाफ दिईरहेका थिए भने कतै आमाहरु बुहारीलाई प्रश्नको जवाफ सोधिरहका थिए ।
अभियानको अवसरमा गाउँपालिकामा पहिलो पटक आयोजना गरिएको सो प्रतियोगिताले उपस्थित आमा तथा बुहारीलाई केही जानकारी दिएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् । लैङ्गिक हिंसामा महिला मात्र नभइ पुरुष पनि पर्ने भन्दै अधिकारीले हिंसा सहेर नबसी समाजका हरेक गतिविधिमा महिलाहरु सहभागी बन्नुपर्ने बताइन् ।
काँखमा बच्चा राखेरै भएपनि प्रतियोगितामा सहभागिता जनाएर तृतीय भएकी बडिगाड–२ को कोलबोट महिला समुहकी अनिता बलामी रानाले सुरुमा प्रतियोगितामा सहभागिता जनाउन डर लागेको सुनाइन् । प्रतियोगितामा सोधिएका प्रश्नले महिला हक र कानूनको विषय जान्ने अवसरमा मिलेकोमा भने उनी पुलकित थिइन् ।





