बागलुङ/ नेपाल पत्रकार महासंघ बागलुङको १३ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा अध्यक्ष नरेश कंडेलकै राजीनामा माग्ने एजेण्डाले प्रवेश पाएको छ ।
अध्यक्ष भएलगत्तै महत्वकांक्षी निर्णय र योजना ल्याएपनि एउटा पनि कार्यान्वयन नगरेपछि साधारणसभाका सहभागिले नै राजिनामा मागेका हुन् । कंडेलले कार्यवाहक दिएका छन् । कावा अध्यक्ष नविन शिशिर बिकको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो । तर, कंडेल बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षको रुपमा साधारणसभामा उपस्थित भएर छिट्टै निस्केका थिए । उनी केही समयअघि बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित भएपछि कावा दिएका थिए ।
सहभागिले साधारणसभाको बन्दसत्रमा पद मात्रै कावा लिएको की काम पनि गर्ने हो भन्ने प्रश्नसमेत सोधेका थिए । महासंघले प्रविधि हस्तान्तरण कार्यक्रमअन्र्तगत एक पत्रकार एक ल्यापटप दिने घोषणा गरेको थियो । उक्त घोषणापछि केही संस्थाले रकम समेत सहयोग गरेका थिए । तर, कार्यक्रम संचालन गर्न छाडेर महासंघको गरिमा समेत घटाउन थालेको आरोप लागेको थियो । कंडेलले संयोजन गरेका केही कार्यक्रममा भएको खर्च तथा हिसाबकिताब समेत स्पष्ट नभएकोलगायत विषय सहभागीले उठाएपछि बन्दसत्रमा धेरैबेर तनाब समेत बनेको हो ।
साधारणसभा उद्घाटन गर्दै गण्डकी प्रदेशका पर्यटनमन्त्री मणीभद्र शर्माले राज्यका अन्य निकायको खबरदारी गर्ने संस्था भएकोले पत्रकारिताले चौथो अंगको नाम पाएको बताए । उनले पत्रकारले समाजको बेथिथिविरुद्ध नियमित कलम चलाउनुपर्ने धारणा समेत राखेका थिए ।
साधारणसभाले सचिव विजय रानाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुवास गौतमको आर्थिक प्रतिवेदन पास गरेको छ । साथै समसामयिक विषयमा विभिन्न प्रस्ताव पनि पास भएको कावा अध्यक्ष नविन शिशिर बिकले बताए ।
कार्यक्रममा जनप्रतिनिधि भएको भन्दै बानपा ११ का वडा अध्यक्ष पूर्व पत्रकार ज्ञानेन्द्र गौतम र नेपाल प्रेस युनियनको महासचिव बन्न सफल भएकोले दिलीप पौडेललाई सम्मान गरियो ।
पत्रकारहरु पुरस्कृत
पत्रकार महासंघबाट संचालित विभिन्न पुरस्कार कोषको पुरस्कारसमेत शर्माले बितरण गरेका थिए । ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले आफ्ना आमाबाबुको स्मृतिमा स्थापना गरेको नन्दहरी सिर्जनशील पत्रकारिता पुरस्कारबाट राससका प्रधानसम्पादक एकराज पाठक, गणेश पौडेल र भाषा शर्मालाई पुरस्कृत गरियो । आमा नन्दकली र बुबा हरिलालको सम्झनामा २०६६ सालमा उक्त पुरस्कार स्थापना गरेका थिए । लामो समयदेखि पत्रकारितामा सक्रिय व्यक्तिलाई हौसला प्रदान गर्न सो पुरस्कार दिने गरिएको छ । उक्त पुरस्कारको राशि रु १५ हजार रहेको छ ।
यसैगरी पत्रकार राम थापा अविरल, सिर्जना पन्त, सरोजराज पन्त र सज्जनकुमार सिंहलाई हरिलक्ष्मी नारायणप्रसाद स्मृति पुस्कार प्रदान गरिएको छ । व्यवसायी तथा समाजसेवी तीर्थप्रसाद श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, बलराम श्रेष्ठ, श्यामप्रसाद श्रेष्ठ र मनोविज्ञान श्रेष्ठले आफ्नो बुबा नारायणप्रसाद र आमा हरिलक्ष्मीको स्मृतिमा २०७३ सालमा उक्त पुस्कार स्थापना गरेका थिए ।
हाल यो पुरस्कारको संरक्षकमा व्यवसायी श्रीजय श्रेष्ठ छन् । यो पुरस्कारबाट एक पत्रकार एक स्तम्भकार गरी दुइ जनाको दरले पुरस्कृत गरिने कार्यक्रम छ । यो पटक दुइ वर्षको पुरस्कार बितरण भएको हो । उक्त पुरस्कारको राशि रु १५ हजार रहेको छ ।
सोही अवसरमा पत्रकार राजेशचन्द्र राजभण्डारीलाई ‘टीकाधना पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । पत्रकार मित्र खरेलले बाबुआमाको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका थिए । पुरस्कारको राशी १० हजार छ ।
नेपाल पत्रकार महासंघ बागलुङका कावा अध्यक्ष नविन शिशिर बिकको अध्यक्षता, सचिव विजय रानाको संचालन र उपाध्यक्ष सरिता खत्रीको स्वागतमा सम्पन्न कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुन, पत्रकार दिलीप पौडेल, पुरस्कृत पत्रकार एकराज पाठक, भाषा शर्मा तथा पेशागत संगठनका प्रमुख समेतले शुभकामना मन्तव्य राखेका थिए ।





