बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बिहुँकोटमा बन्ने भयो गुरुकुल

बिहुँकोटमा बन्ने भयो गुरुकुल


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०७९, आइतबार

बागलुङ/गुरुको प्रत्यक्ष निगरानीमा बसेर अध्ययन गर्ने पुरानो पद्दती लोप भैसकेको छ । तर बागलुङको बिहुँकोटमा गुरुकुल पद्दती थाल्ने तयारी भएको छ ।

सशष्त्र द्वन्द्वका कारण बन्द भएर देवघाटमा स्थानान्तरण भएको गुरुकुल आश्रम पुनः संचालनमा आउने भएको हो । काठेखोला गाउँपालिका–५ मा रहेको रामकोटमा ‘परमान्द बेदबेदाङ्ग पाठशाला’ संचालनमा आउन लागेको हो । यो पाठशाला संचालन गर्न थालिएको धार्मिक महोत्सवमा आर्कषक रकम संकलन भएपछि पाठशाला चलाउन सहज भएको हो ।

२०३२ सालमा स्वर्गिय प्रमानन्द सरस्वतीको अगुवाइमा मुठीदानबाट यो पाठशाला स्थापना भएको थियो । यहाँ संस्कृत, बेदबेदाङ्ग र कर्मकाण्ड समेतको पढाइ हुन्थ्यो । सशष्त्र द्वन्द्वको समयमा संस्कृत पढाइलाई अबरोध भएपछि यहाँ पढाइ संचालन कठिन भएको थियो ।

२०५६ सालमा यो पाठशालाका शिक्षक र बिद्यार्थीले छाडेपछि बन्द भएको थियो । बिद्यार्थीहरु पढ्न नपाउने, शिक्षकले डराएर छाड्ने अवस्था भएपछि बटुकहरु देवघाटमा स्थानान्तरण गरिएकोमा अहिले आवस्यकता देखिएपछि पुनः पाठशाला संचालन तयारी गरिएको संरक्षक ज्ञानानन्द सरस्वतीले बताए ।

संस्कृत भाषाबिरुद्ध आन्दोलन भएको, ग्रामीण क्षेत्रमा दुर्घटनाको खतरा भएको र मुठीदान संकलन हुन नसकेकोले पाठशाला बन्द गर्नुपरेको उनले बताए । ‘त्यतिबेलाको राजनीतिक घटना क्रमले पाठशाला चलाउन सकिएन, स्थानान्तरण भयो, अब केही साधनश्रोत जुटाएर पाठशाला चलाउने तयारीमा लागेका छौ’ उनले भने, ‘स्थानीयले मुठी दानबाट पनि पाठशाला चलाउने रकम दिएका छन् ।’

सात दिनसम्म चलेको धार्मिक महोत्सवमा २ करोड २५ लाख रुपैयाँ संकलन भएको छ । साथै, जापानलगायत विदेशमा बस्ने स्थानीयले बिदेशमैपनि सहयोग संकलन गरिरहेका छन् ।
संस्कृत भाषाको आवस्यकता बढीरहेको तर विभिन्न कारणले लोप हुन लागेकोले गत बर्षदेखि नै अभियान थालेको महोत्सव आयोजक समितिका संयोजक देवीलाल सुवेदीले बताए ।

‘संस्कृति र संस्कृतसमेत लोप हुन लागेकोले ग्रामीण क्षेत्रमा पनि जगाउनुपर्छ भनेर काम थालेका थियौं, जनताले अनुमोदन गरेका छन्’ उनले भने, ‘पूर्वाधार बनिसकेकोले व्यवस्थापन गर्ने हाम्रो जिम्वेवारी भएको छ ।’ पछिल्लो समय संस्कृत भाषाप्रति फेरी चासो बढेको उनको भनाइ छ ।

धेरै बालबालिकाले संस्कृत पढ्ने चाहना राखेपछि पुरानो पाठशालालाई व्युताउने गरी महायज्ञ समेत शुरु भएको थियो । महायज्ञ आयोजक समितिका महासचिव हरिप्रसाद कंडेलका अनुसार सभ्य समाज निर्माण गर्न पनि संस्कृत पढाइ र धार्मिक क्षेत्रको विकास र बिस्तार हुनुपर्ने बताए । ‘संस्कृत भाषाले जीवन जीउन सिकाउँछ’ उनले भने, ‘योग शिक्षा, प्राकृतिक चिकित्सा र समाज दर्शन बुझ्ने बिद्यार्थी हामीले उत्पादन गर्ने लक्ष छ ।’

नेपाल सरकारको औपचारिक शिक्षामा जोडेर पाठशाला संचालन हुने उनीहरुको लक्ष छ । आयोजकका अनुसार हरेक बर्ष देवघाटमा भर्ना नपाएका १ सय ५० बढी बटुकहरु बिहुँमा आएर पढ्न सक्ने बताइएको छ । यहाँ पढ्न शुल्क लाग्ने छैन ।

गुरुकुल शिक्षा भएपनि नेपालको शैक्षिक क्यालेन्डरमा पनि पाठशाला जोडिने योजना कंडेलले सुनाए । ‘संस्कृतका बेदबेदाङ्ग, कर्मकाण्डसहित नेपाल सरकारको पाठ्यक्रम पनि पढाइ हुने गरी तयारी गरेका छौं’ उनले भने, ‘पढ्न आउनेबाट शुल्क लिंदैनांैं ।’

पाठशालाका लागि शिक्षकहरु पनि चाहिन्छ । एकदुइ जना देवघाटबाट आउने छन् भने केही शिक्षकको दरबन्दी माग भएको पाठशालाका प्रधानाध्यापक हंश चैतन्यले बताए । गाउँपालिकाले शिक्षक दरबन्दी थप्ने योजनामा साथ दिने अध्यक्ष राजु थापाले बताए । पालिकाले गौरवको आयोजनामार्फत ५० लाख लगानी गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->