सुरक्षित आप्रवासी श्रमिक दिवसको अवसरमा वैदेशिक रोजगारीमा जाने तयारी गरेकाहरुलाई परामर्श तथा सम्मान गरिएको छ ।
बागलुङ नगरपालिकाद्वरा संचालित सुरक्षित आप्रवासन कार्यक्रम सामी परियोजनाले आइतबार जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आएकाहरुलाई परामर्शसंगै सम्मान पनि गरेको हो ।
कार्यालयमा पहिलो सेवाग्राहीको रुपमा आएका अमलाचौरका बिनोद पौडेल, छिस्तीका हिमाल शर्मा र बानपा–७ का किस्मत गैरेलाई सम्मान गरिएको हो । प्रमुख जिल्ला अधिकारी रमेश ढकालले उनीहरुलाई खादा ओडाएर सम्मान गरे । आइतबार आएका सेवाग्राहीलाई परियोजनाका कर्मचारीले सम्मान गरेका थिए ।
उक्त अबसरमा परियोजनाका कार्यक्रम संयोजक मीनप्रसाद उपाध्यायले बैदेशिक रोजगारीमा आउन सक्ने समस्या, ती समस्याबाट छुटकारा पाउन शुरुवातमै गर्नुपर्ने काम, तयारी र समस्या आएमा परियोजनाले दिने सेवाबारे सेवाग्राहीलाई परामर्श दिएका थिए । उनले हरेक नागरिकले वैदेशिक रोजगारीमा जानुपरेमा जाने देशको कम्पनीले चाहेअनुसारको सीप सिकेर जान आग्रह गरे । भाषाको ज्ञानदेखि कामको प्रकृतिबारे प्रष्ट भएपछि मात्र जान उनले सल्लाह दिए ।
वैदेशिक रोजगारीको सिलसिलामा कुनै समस्या आइहालेमा परियोजनाले संचालन गरेको आप्रवासी सुचना तथा श्रोत केन्द्रमा सम्पर्क गर्न पनि आग्रह गरे । समस्या परेको सूचना आएमा जिल्ला प्रशासनमार्फत केन्द्रले सम्बन्धीत देशको राजदूतावास र वैदेशिक रोजगार बिभागसम्म सम्पर्क गरेर सेवा प्रवाह गर्ने उनले जानकारी गराए ।
सेवाग्राहीलाई सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी रमेश ढकालले वैदेशिक रोजगारी नेपालीको बाध्यता भएको भन्दै विदेशमा सुरक्षा पाउने अधिकारका लागि परियोजना र प्रशासनले सहयोग गर्ने बताए । उनले सकेसम्म विदेश नजान र जानैपरेमा सीप सिकेर विदेशका कम्पनीमा राम्रो रोजगारी पाउने गरी मात्रै जान आग्रह गरेका थिए ।
चार वर्ष अघिदेखि बागलुङ, जैमिनी, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकामा परियोजना संचालनमा छ । उपाध्यायका अनुसार चार वर्षमा ११ हजार आप्रवासीको पक्षमा काम भइसकेको छ । बागलुङबाट बैदेशिक रोजगारीमा जाने धेरै छन् । तीमध्ये कतिपयले रोजगारीमा गएको देशको जानकारी नराखेको, सीप नसिकी गएकोले समस्यामा फसेको र कतिपयले दुर्घटना व्यहोरोको बताइएको छ ।
परियोजना लागू भएपछि हरेक दिन राहदानी बनाउने नागरिकको लागत राख्ने, उनीहरु वैदेशिक रोजगारीमा गएमा खोजी गर्ने तथा परिवारका
सदस्यालाई समेत पटकपटक मनोसामाजिक परामर्श दिने गरिएको परियोजनाका अधिकृत रामचन्द्र गौतमले बताए । ‘समस्यामा परेकाहरुको कानूनी उपचारमा पनि हामी सक्रिय छौं’ उनले भने, ‘कोही पनि बैदेशिक रोजगारीमा पुगेर समस्यामा नपरुन् भन्ने लक्ष्यले काम गर्दा कतिपयलाई सेवा दिन पनि सकियो ।’
परियोजनाले फिल्ड तहमा समेत परामर्शदाता राखेको छ । जिल्ला प्रशासनमै रहेर परियोजनाको सूचना तथा श्रोत केन्द्र संचालनमा छ ।





