बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङलाई गिज्याउने ‘मालढुंगा–कुश्मीसेरा’ सडक

बागलुङलाई गिज्याउने ‘मालढुंगा–कुश्मीसेरा’ सडक


  • ढोरपाटन संवाददाता
  • पुष ५ २०७९, मंगलबार

बागलुङ/ जिल्लाको दक्षिण क्षेत्रलाई जोड्नेगरी २६ वर्षअघि निर्माण थालिएको बागलुङ–कुश्मीशेरा सडकमा अहिले पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्छन् । मालढुंगादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको ठाउँ ठाउँमा गएका पहिरा तथा मर्मत नभएको कच्चि सडकका खाल्डाखुल्डीले सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

बागलुङ नगरपालिका–१ मालढुंगादेखि वडा नं. १० को गलुवासम्मको एक किमी सडक कच्चि छ । गलुवाकै दव्ल्याङमा दुई बर्षअघि झरेको पहिरो नरोकिँदा यात्रा थप जोखिमपूर्ण बनेको हो । यो पहिरो रोकथाम तथा नियन्त्रणका लागि पूर्वाधार कार्यालय बागलुङले तयार पारेको स्टमेट मन्त्रालयमा पुगेर थन्किएको छ । कार्यालयले पहिरो नियन्त्रणका लागि एक करोड ३१ लाख ७७ हजार ८३७ रुपैयाँको लगत स्टमेट गरेको छ ।

‘गतबर्ष नै पहिरो नियन्त्रणका लागि स्टमेट गरेर पठाएका हौं, तर बजेट ४ लाख मात्रै आयो’ कार्यालयका इञ्जिनियर कृष्ण गौतमले भने ‘सामान्य पहिरो पन्छाएर सडक खुलाउन समेत नपुग्ने बजेटले पहिरो रोकथाम गर्न सकिएन् ।’ बर्षायाममा बगिरहने पहिरो नियन्त्रणका लागि हिउँदमा सरोकारवालाको चासो नहुने सर्वसाधारणको गुनासो छ ।

‘बर्खाभरी हिउँद लागेपछि पहिरो रोक्ने काम होला भनेर आशा गर्छौं तर हिउँदमा सुनसान हुन्छ’ बागलुङ नगरपालिका–१२ अमलाचौरका कमल हमालले भने ‘पहिरो खस्न थालेपछि मात्रै कामको चर्चा हुन्छ ।’ पहिलो पन्छाउन मात्रै बागलुङ नगरपालिकाले दुई बर्षमा दश लाख खर्च गरेको छ । गत बर्ष नगरपालिकाले बिनियोजन गरेको २० लाख बजेटबाट तयार भएका संरचना पहिरोले बगाएको छ ।

२०७२ सालमा सडक विभागले कालोपत्रे गरेको गलुवादेखि पाग्जासम्मको चार किमी खण्डको ठाउँ ठाउँमा खसेको पहिरोले सडक नै जोखिममा छ । कतै सडक भाँसिएको छभने कतै सडकमाथीबाट आएको पहिरोले सडक पुरीएको छ । लामो समय बितिसक्दा समेत सडकको पहिरो सवारीसाधन एकतर्फी चल्ने गरी पन्छाउने गरिएको स्थानीय ज्ञानेन्द्र ढकाल बताउँछन् । पूर्वाधार विकास कार्यालय पर्वतले कालोपत्रे गरेको पाग्जादेखि सरंगेसम्मको १० किमी खण्डमा खसेका पहिरोको समेत अवस्था उस्तै छ ।

‘पहिरो नियन्त्रणका लागि पहल भैरहेको छ, स्थानीय सरकारको बजेटले मात्रै थेग्ने अबस्था नरहेकाले माथिल्लो निकयमा पहल गरेका छौं’ बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का भन्छन् ‘अर्थमन्त्रीसँग सिधा संवाद गरेका छौं, आशा छ हिउँदमा काम हुने वातावरण बन्छ ।’ सडकको दुरावस्थाले बागलुङलाई नै गिज्याईरहेको छ । बागलुङका मुख्य सडकमध्ये पर्ने यो सडक बिभिन्न समयमा बिभिन्न योजनामार्फत खण्ड खण्डमा कालोपत्रे भएको भएपनि अझै दुई किमी सडक कच्चि छ ।

मालढुंगादेखि दव्ल्याङ सम्मको खण्ड कालीगण्डकी करिडोरसमेत पर्ने भएकाले कालोपत्रे गरिएको छैन् । बागलुङ नगरपालिका–१२ अमलाचौरको सरंगेदेखि टाकुरीसम्मको एक किमी खण्डमा कसैको आँखा नपरेको स्थानीय प्रेम शर्माले बताए ।

बागलुङ नगरपालिकामा पर्ने उक्त खण्ड जैमिनी र बरेङ गाउँपालिकाको प्रयोगमा आउने भएकाले चपेटामा परेको हो । उपयोग कम हुने भएकाले बागलुङ नगरपालिकाले कम महत्व दिने गरेको छभने आफ्नो भुगोल नभएकाले जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई त्यहाँ बजेट खर्चिन कठिन छ । ‘बीचमा परेको बाटो नबन्दा दुःख पायौं’ शर्माले भने ।

यो खण्ड कलोपत्रेका लागि जैमिनी नगरपालिकाले ५०÷५० प्रतिशत साझेदारीको प्रस्ताव गरेको छ । तर पूर्वाधार कार्यालय बागलुङसँग साझेदारीको बजेट नहुने भएकाले आगामी वर्षको कार्यक्रममा बजेट माग गरिने कार्यालयका निमित्त प्रमुख महेन्द्र शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->