बागलुङ/ भ्रष्टाचारबिरुद्ध नागरिक निगरानी संस्थाले बिद्यालयको छानामा कमजोर सामाग्री प्रयोग गरेको आरोपमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ ।
बागलुङ नगरपालिका वडा नंं ७ को गौरीशंकर प्राबिमा छाना छाउने क्रममा कमजोर गुणस्तरको सामाग्री प्रयोग भएको देखिएको र सो को स्थानीयबासी, व्यवस्थापन समिति र सरोकारवाला संघ संस्थाले गरेको अनुगमनबाट पत्ता लागेको भन्दै अख्तियारमा उजुरी गरिएको हो । भवन निर्माणमा लगानी गरेको संस्थाका प्रमुख मतिलाल चपाइ र निर्माण सामाग्री सप्लायर्स गर्ने लुम्बिनी इन्जिनियरिङ वर्कसपबिरुद्ध उजुरी गरिएको संस्थका अध्यक्ष तथा राष्ट्रिय उपभोक्ता मन्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
उजुरी दर्ता गर्दा श्रेष्ठले छानामा परेको प्वाल, सो सम्बन्धी ढोरपाटन दैनिकमा प्रकाशित समाचारकपी र अन्य कागजातसमेत संलग्न गरेका छन् । गत साउनमा उक्त बिद्यालयमा भ्वाङ परेको ढोरपाटन दैनिकमा समाचार प्रकाशित थियो । यो भवन राष्ट्रिय पुन निर्माण प्राधिकरण को शिक्षा शाखाले बनाएको हो । यो भवनमा युपिभिसी जस्तापाताले छाना छाइएको छ । छानामा प्वालैप्वाल परेकोले बिद्यार्थी राखेर पढाउन समेत नसकी बर्षातमा बालबालिकालाई एकै स्थानमा दुइदुइ वटा कक्षा संचालन गर्नुपरेको थियो ।
सप्लायर्स कम्पनीले गुणस्तरहिन सामाग्री प्रयोग गरेको आरोप लगाइएको छ । उजुरीमा शिक्षा शाखाका तत्कालिन प्रमुख मतिलाल चपाइ र सप्लायर्स कम्पनी लुम्बिनी इन्जिनियरिङ वर्कसलाई दोषी बनाइएको हो । बिद्यालय व्यवस्थापन समितिलाई दवावमा पारेर आयोजना र कम्पनीले गुणस्तरहिन सामाग्री प्रयोग गरेका थिए । बिद्यालयको दुइ कोठे भवनको छानामा गुणस्तरहिन जस्तापाता प्रयोग गर्दा सयौं भ्वाङ परेको थियो । बिद्यालयको छानामा सयौं प्वालहरु परेको अनुगमनबाट पनि पुष्टी भएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए । बिद्यालयमा बिजोग भएको देखेपछि मर्मतका लागि नगरपालिकाले सहयोग गर्ने तयारी भएको सापकोटाले जानकारी दिए ।
असिना पर्दा गतबर्षको चैतबैसाखमा यो बिद्यालयमा भ्वाङ परेको वडा अध्यक्ष मेघनाथ गैरेले बताए । पानी पर्दा समेत ती भ्वाङ थपिंदै गएको स्थानीयले बताए । भवनमा प्लाल परेपछि वडा अध्यक्ष गैरेले बिद्यालयको अबस्था अनुगमन गरेर पुन निर्माण गर्न नगरपालिकामा बजेट माग गरेको बताए ।
पुननिर्माण प्राधिकरणमार्फत जिल्लामा पुननिर्माण गरिएका बिद्यालयको परियोजना हेर्ने शिक्षा शाखाका तत्कालिन प्रमुख मतिलाल चपाइ र सव इन्जिनियर नजाम उद्दिनले लुम्बिनी इन्जिनियरिङ वर्कसपबाट सामान ल्याउन दवाव दिएपछि गुणस्तरहिन सामान आएको थियो । उक्त दवावकै कारण बागलुङका सप्लायर्सले ७ लाखमा सामान बिद्यालयमै लगिदिने भन्दाभन्दै बिद्यालयले बुटवलस्थित लुम्बिनी इन्जिनियरिङ वर्कसपबाट १० लाख ५० हजारमा सामान ल्याउन बाध्य बनाएको उजुरीमा उल्लेख छ । बिद्यालयकी प्रअ सरिता गौतमले पनि दवावका कारण उनीहरुले भनेको सप्लायर्सबाट सामान ल्याउन बाध्य भएको बताएकी छिन् ।





