बागलुङ/ बितेको एक बर्षमा बागलुङमा २२ जना बालिका बलात्कारको शिकार बनेका छन् । १९ वटा बलात्कार तथा बलात्कार प्रयासका घटनामा पीडित बनेका बालिकाहरु ५ देखि १५ बर्ष उमेर समुहका छन् । बयोबृद्धादेखि युवा र आफ्नै उमेर समुहकाबाट बालिकाहरु पीडित भएको तथ्यांक छ । यसले बालकहरु बलात्कार जस्तो अपराधमा संलग्न भएका घटना बागलुङमा बढ्न थालेको देखाउँछ ।
गत असार ५ गते बागलुङको एक गाउँकी १३ बर्षिया बालिकाको महिनाबारी रोकिएपछि परिवारले खोजी गर्यो । छोरीलाई कुनै स्वास्थ्य समस्या भयो की भनेर खोजी गर्दा परिवारले उनी गर्भवती भएको पत्ता लगायो । प्रहरीले घटनाको अनुसन्धान गर्दा १५ बर्षिय बालक पक्राउ परे ।
असोज १ गते जिल्ला प्रहरी कार्यालयमा एउटै बालकका बिरुद्धमा दुईवटा उजुरी आए । ६ र ७ बर्षिया बालिका बलात्कार गरेको आरोपसहित दर्ता भएका उजुरीमा १४ बर्षिया बालक आरोपी थिए । उनले एकै दिन दुवै बालिकालाई बलात्कार गरेको प्रहरीले पत्ता लगाएको छ ।
२०७७ सालमा बागलुङमा बालिकालाई बलात्कार तथा बलात्कार प्रयासका १२ वटा मात्रै घटना भएका थिए । त्यो संख्या बढेर २०७८ मा २३ पुग्यो । यसअघिका घटनामा बालकहरुको संलग्नता निकै कम रहेको तथ्यांक छ । तर, चालु बर्षका घटनामा भने बालकहरु समेत बलात्कारमा संलग्न भैरहेको पाईएको हो ।
बालकहरु बलात्कारमा संलग्न भएका घटना बढ्न थालेकोमा सरोकारवाला चिन्तित छन् । बागलुङमा युवा, बालक र बयोबृद्धाको समेत बलात्कारमा उत्तिकै संलग्नता पाइएको छ । पीडित भने बालिकाहरु धेरै छन् ।
जिल्लाको निसीखोला गाउँपालिकामा १५ बर्षिया बालिका बलात्कारको आरोपमा ७५ बर्षिय जेष्ठ नागरिक पक्राउ परे । १५ बर्षिया बालिका गर्भवती भएको थाहा पाएपछि बलात्कारको भेद खुलेको थियो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले तयार गरेको तथ्यांक अनुसार बालकहरु बलात्कारमा संलग्न भएको पाइएको हो ।
बालक संलग्न भएका बलात्कारका घटना महिनाबारी रोकिएपछि मात्रै बाहिर आउने गरेको अनुभव प्रहरीको छ । ‘महिनाबारी रोकिएपछि मात्रै अभिभावक उजुरी लिएर आउनुहुन्छ, कयौं प्रयास गर्दासमेत बालिकाहरु आँफु बलात्कृत भएको बताउँदैनन्’ प्रहरी निरीक्षक राजाराम खड्काले भने ‘दबाव र प्रभावमा पारेर बलात्कार भएका कयौं घटना छन् ।’ जिल्लाको दुर्गम र कम शिक्षित गाउँहरुमा यस्ता घटना बढीरहेको खड्काले बताए ।
‘बालकले एकै दिन दुई जना बालिका बलत्कार गर्नसक्ने अवस्था कहाँबाट आयो, यो त समाजको बिकिृत चित्र हो’ पत्रकार महासंघ बागलुङका कार्यबहक अध्यक्ष नविन शिशिर बिकले भने ‘बालकलाई कसले उत्प्रेरित गरिरहेको छ, कस्तो वातावरणमा हुर्केको बालकले यस्ता घटना घटाउन सक्छ, यो खोजीको बिषय हो ।’
बालक बलात्कारमा संलग्न भएको बिषयमा मानवअधिकारकर्मी लक्ष्मी जिसी कार्कीले पनि चिन्ता व्यक्त गरिन् । ‘यस्ता घटनाले हाम्रो समाजलाई कहाँ पु¥याउँदै छ भन्ने हो’ उनले भनिन् ‘कलंक बन्दै गरेका घटनालाई निरुत्साहित गर्न चेतनाको खाँचो छ ।’ उनले बालबालिका तथा महिलाको बिषयमा बोल्ने सरकारी निकाय नै नभएको जिकिर गरिन् ।
बरिष्ठ अधिबक्ता काजिगाउँले श्रेष्ठले न्यायपूर्ण समाज निर्माण हुन नसक्दा यस्ता घटनाहरुले बढावा पाएको बताए ।
जिल्लामा एक बर्षमा ७० वटा मानबअधिकार हनन्का घटना भएको तथ्यांक छ । राजनीतिक अधिकारका ३, बालअधिकारका, २२, महिला अधिकार हनन् भएका ४६, पत्रकारलाई धम्कि १, विद्यालयमा कुटपीट १, बालबिबाह १, बलात्कार १९ (२२ जना बालिका पीडित), अपहरण तथा शरीर बन्धक १, हत्या २, बलात्कार ५ (६ जना महिला पीडित), बहुबिबाह ४, आत्महत्या दुरुत्साहन १ र घरेलु हिंसाका ३२ घटना भएको इन्सेक बागलुङ प्रतिनिधि सिर्जना पन्तले जानकारी दिईन् ।





