बागलुङ/ किसानको हातमा स्मार्ट फोन छ । देशभरका सूचना क्षणभरमै पाउँछन् । तर, किसान आफ्नै सूचनाबाट बञ्चित छन् । सूचनाबाट नजिक बनाउन काठेखोला गाउँपालिकाले मोबाइल एप्समार्फत कृषकलाई कृषी सूचना प्रदान गर्न थालेको हो ।
गाउँपालिकाले तयार गरेको ‘कृषि फर्म’ मोबाइल एप्स स्मार्ट फोनमा डाउनलोड गरेपछि अब काठेखोलाका किसान आफ्नै लागि चाहिने सूचना र सन्देशबाट बञ्चित हुने छैनन् । मोबाईल एप्स निर्माण, व्यवस्थापन र सञ्चालनको विधि तथा आर्थिक सहयोग विवाईसी बागलुङको व्यवस्थापनमा सञ्चालित हेफर इन्टरनेसनल परियोजनाले गरेको हो ।
उक्त सेवा निःशुल्क हुने हेफरइन्टरनेसनलका कार्यक्रम संयोजक तारा पन्थीले बताए । परियोजनाले मध्यम किसानमा कृषी सुचनाको पहुँच पु¥याउने उद्देश्यले मोबाइल एप्स सहयोग गरेको हो । परियोजनाले गाउँपालिकाको पशु तथा कृषी शाखामा रहने ‘किस्का मेसिन’ हस्तान्तरण गरेको छ । उक्त मेसिनमा कृषी फर्म मोबाइल एप्स जडान गरिएको छ । किसानले मोबाइल एप्समार्फत कृषी फर्म एप्समा रहने कृषी विज्ञ तथा गाउँपालिकाको विषयगत शाखासँग समन्वय गरी सुचना प्राप्त गर्न सक्छन् ।
सुचना पविधिबाटै खेतीपाती गर्ने तरिका, रोगकिराबारे जानकारी पाउन, मौषम अनुसारको खेतीपाती गर्नु सहज बनाउने हेफर इन्टर नेशनलका कार्यक्रम संयोजक तारा पन्थीले जानकारी दिए । मोबाइल एसएमएस सेवाबाट किसानहरुले घरमै बसेर मौसम र कृषी सम्बन्धी जानकारी पाउने छन् । किसानले सहजै मौसम, कृषी उत्पादनको सूचनासँग जोडिन सक्नेछन । बाली लगाउने सही समय, मल व्यवस्थापन, सिञ्चाई बाली बिरुवाको शत्रु तथा तिनको रोकथाम जस्ता कुराहरु मोबाइल एप्सबाट थाहा पाउन सकिने छ ।
गाउँपालिकाले सञ्चालन गरेको एप्समा काठेखोलाका ४६९ जना कृषक जोडिएका छन् । कृषकहरुको व्यक्तिगत तथा खेतीवालीको विवरण एप्समा समावेश गरिएको विवाईसी बागलुङका अध्यक्ष मणीभद्र शर्माले बताए ।
किसानले आफ्नो मोबाइल एप्समार्फत विज्ञ केन्द्र वा स्थानीय तहको पालिका केन्द्रमा घरबाटै आफ्नो अन्नबालीमा लागेको रोग, किरा तथा पशुमा लागेको रोगबारे जानकारी दिएर आवश्यक विज्ञ सुझाव सल्लाह प्राप्त गर्नेछन् । प्राविधिकहरुले कुन क्षेत्रमा कस्ता बाली लगाउने, कति मल छर्ने, कसतो बालीमा कस्तो खालको रोग किरा लाग्छ र कसरी रोकथाम गर्ने लगायतका सन्देश कृषकको मोवाईलमा एप्समार्फत पुग्नेछ ।
पढ्न र लेख्न नसक्ने किसानको लागि भिडियो र अडियो सेवा व्यवस्थापन गरिएको छ । कृषी सुचना प्रणालीमा कृषकलाई जोड्ने गरी अभियान सञ्चालन गर्ने गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए । ‘कृषकको समय र पैसाको बचत गर्ने विषयमा गाउँपालिका सचेत छ’ उनले भने– ‘घरमै बसेर समस्या समाधान गर्न सक्नेगरी पहल गछौँ ।’





