बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ओडारचौर खानेपानी मुहानमा विवाद

ओडारचौर खानेपानी मुहानमा विवाद


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०७९, शुक्रबार

बागलुङ/ वर्षौंदेखि खाइरहेको खानेपानी ट्यांकीमा समानान्तर संरचना बनेपछि ओडारचौर खानेपानी आयोजनामा विवाद सुरु भएको छ ।
ओडारचौर र रमेटारबासीले वर्षांैदेखि खाएको पानीको संरचना मर्मत भैरहेकै बेला सोही मुलमा अर्को ट्याँकी बनेपछि स्थानीय आक्रोसित भएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा सम्झौता नभइ अर्को ट्यांकी बनेपछि स्थानीयले तत्काल रोक्न माग गरेका छन् ।

दुई बस्तीका लागि २०३३ सालमा दर्ता भएको पानीबाट अहिलेसम्म बितरण भैरहेको उपभोक्ता समितिका अध्यक्ष द्रोणराज आचार्यले बताए । ‘हामीले रमेटारका लागि २५ एमएम र ओडारचौरका लागि ३२ एमएमको पाइपबाट पानी बितरण गरिरहेका छौं, तर अहिले हामीलाई थाहै नदिई अर्को ट्यांकी बनाइयो’, उनले भने, ‘हामीले दर्ता गरेको मुलमा समानान्तर ट्यांकी बनाएपछि रोक्न भन्दाभन्दै बनाइयो ।’ बुधबार ओडारचौरका ४० जनाभन्दा बढी मानिस आएर डिभिजन कार्यालयमा घेराउ गरे ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सूचना अधिकारी इश्वरीप्रसाद शर्मासहित उपभोक्ताले स्थलगत रुपमा पानी ट्यांकीको अबलोकनसमेत गरेको छ । शर्माले उक्त ट्यांकी बनाउने कुनै योजना सम्झौता नभएको बताए । ‘प्रदेशको बजेट आएको हो, तर सम्झौता भएको छैन’, शर्माले भने, ‘समन्वय नगरी काम गर्दा यस्तो बिबाद आएको हो ।’ रमेटारमा छुट्टै उपभोक्ता समिति बनाएर उक्त बजेट प्रयोग गर्ने गरी भूमिराज शर्माको संयोजकत्वमा काम भएको उनले बताए ।

उपभोक्ता समितिका अध्यक्ष शर्माले भने बजेट आएको छ भनेपछि काम थालेको बताए । ‘हामीले छुट्टै पानी खानका लागि बनाएका हौं, उहाँहरुको योजनामा केही असर गरेका छैनौँ’, शर्माले भने, ‘ठेकेदारमार्फत् काम गरेको र बजेट अहिलेसम्म भुक्तानी दिएका पनि छैनौं ।’ उनले रमेटारबाहेक माथिल्लो बस्तीका ७ घरका लागि छुट्टै पानी आवस्यक परेको बताए ।

यो विवाद समाधान गर्न स्थानीयले कार्यालयमा अल्टिमेटम दिएका छन् । उनीहरुले तत्काल विवाद समाधान नभए घटनाले उग्र रुप लिने भन्दै कार्यालयमा चर्काचर्की भएको थियो । अधिकांसले कार्यालयको समन्वय अभावले उक्त ट्यांकी निर्माण भएको बताएका छन् ।

गत वर्ष प्रदेश सरकारको १० लाख बजेट ल्याएर आयोजनामा मर्मत गरिएको थियो । तर काम पुरा नभएपछि ६ लाख मात्रै भुक्तानी भएको थियो । यो पटक बनेको छुट्टै ट्यांकी भने १० लाख बढी लागतको काम भैसकेको छ । तर उक्त बजेटको काम सम्झौता नभएको बताइएको छ । ‘मिलिजुली खाइरहेको पानीमा बिबाद झिकेर कार्यालयले साथ दियो’, उपभोक्ता लुलाराम शर्माले भने, ‘यो विषय राम्रो भएन ।’ सूचना अधिकारी इश्वरीप्रसाद शर्माले रमेटार लिफ्ट खानेपानी आयोजनाको काम भैरहेको र केही समयमा पूरा भएमा यस्ता सबै विवाद समाधान हुने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->