बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

स्थानीयको पैसा लिएर ठेकेदार सम्पर्कबिहिन

स्थानीयको पैसा लिएर ठेकेदार सम्पर्कबिहिन


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०७९, शुक्रबार

बेपत्ता भएका श्रेष्ठ चेक बाउन्स मुद्दामा थुनामा परेको कम्पनीका लेखापाल टेकप्रसाद दाहालले श्रेष्ठ आएपछि मात्रै कामले गति लिने बताए ।

बागलुङ/ तोकेको समयमा बाटो बन्न त सकेन । अझै कहिले काम सकिने हो त्यो पनि यकिन छैन । तर, कामको जिम्मा लिएका ठेकेदारनै सम्पर्कमा छैनन् । त्यो पनि जनताको लाखौं पैसा समेत लिएर ।

काठेखोला गाउँपालिका–५ का अधिकांस स्थानीयसँग पैसा सापटी लिएका ठेकेदार रामकाजी श्रेष्ठ सम्पर्कबिहिन भएको स्थानीयले गुनासो गरे । मध्यपहाडी लोकमार्गको सुल्डाँडादेखि घोडाबाँधे सम्मको सडक ठेक्का लिएका पेटी ठेकेदार श्रेष्ठ सम्पर्कविहीन हुँदा काम अलपत्र परेको हो । ठेक्का लिएको सात वर्ष बितिसक्दापनि यो खण्डमा काम भएको छैन । सूर्य कन्स्ट्रक्सनले ठेक्का लिएको यो सडकको जिम्मा सहायक ठेकेदारको रुपमा श्रेष्ठ निर्माण तथा ढुवानी सेवाले लिएको थियो ।

नियमित काम भएको भए २०७५ सालमा यो सडक कालोपत्रे भैसक्थ्यो । उक्त कम्पनीका प्रमुख रामकाजी श्रेष्ठले आधाबढी काम छाडेर सम्पर्कविहीन भएका हुन् । स्थानीयसँग लाखौं रकम सापटी लिइ ठेकेदार सम्पर्कबिहिन भएपछि स्थानीय आक्रोसित छन् । स्थानीयले आफ्नो पैसा डुबेको गुनासो गरेका छन् । यो खण्डमा ७ वर्षमा सात किमी मात्रै कालोपत्रे भएको छ । ठेक्का लिएको १३ किमी सडकको आधा काम भएको र बाँकी काम नसकिंदै कालोपत्रे गरिएको खण्ड जीर्ण बनेको छ ।

यहाँ हिउँदमा पनि खाल्डैखाल्डाले हैरानी खेप्नुपर्ने बाध्यता छ । ‘लोकमार्ग भनेर के गर्नु, धुलो र खाल्डाले हैरानी खेप्नुपरेको छ’ काठेखोला गाउँपालिका–६ का अध्यक्ष वृहस्पति कंडेलले भने, ‘राजमार्गमा ट्यांक्सी लिएर हिंड्न सकिने अबस्था छैन ।’ इनारपानी र ठूलोढुंगा खण्डमा हिलो र खाल्डा बढी छन्भने बिहुँपोखरा र रिजालचोक खण्डमा कालोपत्रे भत्केर धुलाम्मे भएको उनले बताए ।

बेपत्ता भएका श्रेष्ठ चेक बाउन्स मुद्दामा थुनामा परेको कम्पनीका लेखापाल टेकप्रसाद दाहालले श्रेष्ठ आएपछि मात्रै कामले गति लिने बताए । ‘विशेष कारणले उहाँ सम्पर्कबाट बाहिर हुनुहुन्छ, तरपनि कतिपय काम गरिरहेका छौं’ उनले भने, ‘असार मसान्तभित्र काम सक्छौं ।’ ठेकेदार श्रेष्ठले भने गाउँका घर घरबाट ऋण लिएर नतिरेकोले फर्केर आउने नआउने पक्का नभएको टिप्पणी भएको छ ।

कालोपत्रे गर्ने सामाग्री खरिद र ढुवानी गर्ने भन्दै श्रेष्ठले स्थानीयसँग १ लाखदेखि ७ लाख रुपैयाँसम्म सहयोग मागेको तर नतिरेको आरोप लागेको छ । ‘म बाट ३ लाख रुपैयाँ लगेर एक रुपैयाँ पनि फिर्ता गरेका छैनन्’, स्थानीय डिलकुमारी कंडेलले भनिन्, ‘खेती किसानी गरेर बसेका हामीबाट पैसा लगेर हराएका छन् ।’ लगेको ऋण मात्र फिर्ता गरिदिएपनि राम्रो हुने उनले बताइन् । अर्का एक स्थानीयले ७ लाख रुपैयाँ लगेर कुनै लिखित भरपाइ समेत नगरेको र फिर्ता पनि नगरेको गुनासो गरे ।

दैनिक २ सयबढी सवारी गुड्दा घरबारीको तरकारी र सुन्तला धुलोले ढाकेको छ । यो सडकका लागि असार मसान्तनै अन्तिम पटकको म्याद थपको समय हो । समयमा काम नगके ठेकेदारको नाम कालो सूचीमा राखेर कारवाही गर्ने मध्यपहाडी लोकमार्ग आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए । ‘हामीले कालो सूचीमा राखेर कारवाही किन नगर्ने भनेर पत्र पनि पठाइसकेका छौं, अन्तिम पटकको म्याद थपमा काम गरेर देखाउने प्रतिबद्धता आएको छ’ भण्डारीले भने, ‘काम पूरा नभए कारवाही गरेर देखाउँछौं ।’ यो खण्डको काम पुरा हुनेमा भण्डारी स्वयं पनि विश्वस्त छैनन् । आयोजनाले लागत संशोधन गरेर पुन ठेक्का दिनेगरी आन्तरिक तयारी समेत गरेको आयोजनाका एक कर्मचारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->