बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बुर्तिवाङमा अस्पतालको खोजी

बुर्तिवाङमा अस्पतालको खोजी


  • ढोरपाटन संवाददाता
  • पुष १६ २०७९, शनिबार

बागलुङ/ ठूलो संरचना, ठूलो भूगोलको क्षेत्रलाई सेवा दिनुपर्ने बाध्यता भएर पनि बुर्तिवाङमा अस्पताल बन्न सकेको छैन । प्राथमिक स्वास्थ्य केन्द्रकै भरमा बस्नुपर्दा पश्चिम बागलुङबासीले सास्ती खेप्नुपरेको छ ।

बागलुङ बजारमा रहेको तत्कालिन जिल्ला अस्पताललाई २०६७ सालमा अञ्चल अस्पताल बनाएपछि बुर्तिवाङमा जिल्ला अस्पताल बनाउने राजनीतिक दलले पनि सहमति गरेका थिए । तर अहिलेसम्म अस्पताल नबन्दा धेरैले सास्ती खेप्न बाध्य भएका छन् । कोरोना कालमा धौलागिरि अस्पताल उपप्रादेशिकमा बढुवा भएर पनि बागलुङमा अझै जिल्ला अस्पतालको सुरसार नभएको हो ।

सदरमुकामदेखि ९० किमी पश्चिमको बुर्तिवाङमा जिल्ला अस्पताल बनाउने नारा अझै पुर हुन नसकेपछि जिल्लाबासीले सेवा पनि पाउन नसकेका हुन् । बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बर्षमा ५ सय जनाले त सुत्केरी सेवा मात्रै लिएको तथ्यांक छ । मासिक २० वटा सम्म अपरेशन पनि हुन्छ । दैनिक १ सय ५० बिरामीको ओपिडीमा स्वास्थ्य परीक्षण गरिन्छ । तीमध्ये ३० जनाको ल्याब र २० जनाको भिडियो एक्सरे सेवा पनि प्रवाह छ तर अस्पतालको मान्यता नपाएर कतिपय सेवा संचालन भएको स्वास्थ्यकर्मीले बताए ।

१२ वर्षसम्म बागलुङ जिल्ला अस्पताल नबन्दा जनताले सेवा नपाएको केन्द्रका प्रमुख डा. नीरज सुवेदीको भनाइ छ । धौलागिरि अस्पताल अहिले विशेषज्ञ अस्पतालको रूपमा लिइन्छ । त्यसैले हरेक नागरिकको सेवाका लागि जिल्ला अस्पताल आवस्यक पर्ने उनको भनाइ छ । ‘धेरैपटक प्रयास भयो, राजनीतिक नेतृत्व र मन्त्रालयबाट चासो दिइएन’ उनले भने ‘अब नगर अस्पतालको अवधारणा आइसकेकोले जिल्ला अस्पताल बनाउन कठिन होला ।’

निर्वाचनमा भने अधिकांश उम्मेदवारले जिल्ला अस्पताल बनाउने नारा लगाएका थिए । हालै निर्वाचित प्रदेशसभा सदस्य द्रोण कुँवरले भने आफ्नो मुख्य एजेन्डाको रूपमा बुर्तिवाङमा जिल्ला अस्पताल बनाउने भएको बताए । ‘हामीले सामान्य उपचार पनि नपाउने ?’ कुँवरले भने, ‘के कारणले रोकिएको हो, खोजी गरेर अस्पताल स्थापित गराउन पहल गर्छौं ।’ बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा वर्षमा ५ सय जनाले त सुत्केरी सेवामात्रै लिएको तथ्यांक छ ।

सुवेदीका अनुसार यहाँ दैनिक एक सय २० देखि डेढसय जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् । दुई जना डाक्टर कार्यरत छन् । नियमित ओपीडि, गर्भवती जाँच, सुत्केरी सेवा, आधारभूत ल्याब, खोप सेवा, परिवार नियोजन सेवा, क्षयरोग र कुष्ठरोगको उपचार सेवा जस्ता काम पनि केन्द्रबाटै भएका छन् ।

यति धेरै सेवा प्रवाह भएको स्थानमा न उपकरण छन्, न चाहिनेजति स्वास्थ्यकर्मी । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यालय समय बाहेक आकस्मिक सेवा दिने सरकारी प्रावधान छैन । सेवा नपाउँदा ढोरपाटन नगरपालिका र तीनवटा गाउँपालिकाबासीले रिफर भएर पाल्पा, बुटवल र पोखरा पुग्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->