बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बराहताललाई पर्यटकीय गन्तव्य बनाउने तयारी

बराहताललाई पर्यटकीय गन्तव्य बनाउने तयारी


  • ढोरपाटन संवाददाता
  • पुष १६ २०७९, शनिबार
फाईल तस्विर

बागलुङ/ तमानखोलाको बराह ताललाई पर्यटकीय गन्तव्य बनाउन पहल सुरु भएको छ । गाउँपालिकाले बराह तालको डिपिआरसमेत बनाएर पर्यटकीय गन्तव्यका लागि लगानी गर्ने योजना बनाएको हो ।

तमानखोला गाउँपालिका–२ मा पर्ने बराह ताल संरक्षण गरी पर्यटकीय गन्तव्य बनाउने योजनाका लागि पहुँच सडक बनाउने काम थालिएको हो । गाउँपालिकाले गत आर्थिक बर्षकै बजेटबाट दश/दश लाख खर्चेर डिपिआर निर्माण गरेको अध्यक्ष जोकलाल बुढाले बताए ।

डिपिआरमा ती गन्तव्यमा खानेपानी, शौचालय, वनभोज स्थल र गार्डेन बनाउने योजना समेटेको छ । सडक र पदमार्गमार्फत गन्तव्य जोड्ने लक्षले तालको आर्कषण हेर्न पर्यटक पुग्ने लक्ष राखिएको स्थानीयले बताए ।

बराहतालमा प्रारम्भिक रुपमा संरक्षण र पूर्वाधारका काम पनि थालिएका छन् । गाउँपालिकाले १५ लाख लगानी गरेर ताल संरक्षणका लागि घेराबार लगाइसकिएको छ । १० लाख लगानीमा बराह मन्दिर निर्माण भएको छ । दुइ कोठे शौचालय, खानेपानीको धारा निर्माण समेत भैसकेको हो ।

तमानखोलाको बोङगादोभानबाट एक दिनको पैदल यात्रा गरेर बराह तालमा बस्न सकिन्छ । बराह तालबाट छोटो समयमै ढोरपाटन पुग्ने पुरानो पदमार्ग छ । त्यो मार्गलाई स्तरीय बनाएर पर्यटक भित्राउने लक्ष बनाइएको बुढाले बताए । ‘बराहताल छेउमा आर्कषक चउर छ । गर्मी मौषममा पर्यटक पुगेर चउरमै पाल टाँगेर बस्ने चलन छ’ उनले भने, ‘केही पर्यटक प्याकेजका कार्यक्रम बनाएर आउजाउ गर्छन् ।’ आएका पर्यटकले टेन्ट टाँगेर बसेकोले केही कोठा बनाउनु पर्ने उनले औल्याए ।

बराह ताल व्यवस्थापनको लागि २ करोड ८५ लाख ७२ हजार लागतको स्टिमेट भैसकेको इन्जिनियर अर्जुन यादवले बताए । झण्डै ५ रोपनी जमिनमा ताल फैलिएको छ । २ हजार ७ सय मीटर उचाइमा रहेको यो तालमा सदाबहार रुपमा पानी रहन्छ । यहाँको सिद्द बराहको पूजा गर्दा मनोकांक्षा पूर्ण हुने स्थानीयमा बिश्वास छ । ‘हामी अहिलेसम्म यो तालमा पसेका छैनौ, बाहिरबाटै पूजा गर्छौ’ स्थानीय यामबहादुर घर्तीले भने, ‘बराहको पूजा गर्न छिमेकी गाउँबाट पनि आउने गर्छन् ।’ यो तालबाट पश्चिमतर्फ ढोरपाटन सिकार आरक्षको क्षेत्र पर्छ ।

बराहतालबाट ढोरपाटन पुग्न सजिलो भएकोले पैदलमार्गीले यो स्थान रोज्छन् । उत्तरतर्फ हिमाली श्रृंखला देखिने भएकोले यो स्थानको आर्कषण बढी छ । गर्मी मौषममा त यो स्थान धेरै मानिसको रोजाइमा पर्छ । हिमपात भएको बेला पनि गाउँलेहरु हिउँ खेल्न पुग्ने गरेको चुडामणी छन्त्यालले बताए । ‘बुंगादोभानदेखि आरामले हिंडेर बास बस्न पुग्ने, मुठाचौरका बासिन्दाले फलाएका आलु र तरकारी खाने धेरैले चाहना राख्छन्’ छन्त्यालले भने, ‘किसानका गोठ पनि सार्दै बराहताल पुग्ने भएकोले खर्कको जीवन बुझ्ने र हेर्नेलाई पनि यो स्थान उपयोगी छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->