बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

घरआँगनमै पोषण अभ्यास…

घरआँगनमै पोषण अभ्यास…


  • अनिस पाठक
  • पुष १६ २०७९, शनिबार

बागलुङ/ पुसको पारिलो घाम । घरको आँगनभरी ६ देखी ५९ महिना उमेर समुहका स–साना बालबालिका । बीचमा नाङ्लोभरि राखिएका पोषणयुत्त खानेकुरासंगै तिनै केटाकेटीे लागि नजिकै चुलोमा खाना पाक्दै थियो ।

बालबालिकाका आमाबुबा र गर्भावस्थाका आमा पनि सोही ठाँउमा भेला थिए । अभिभावकले स्वास्थकर्मीलाई घेरेर बसेका थिएभने उनीहरुलाई स्वास्थयकर्मीले पोषणबारे जानकारी गराउँदै थिए । बालबालिका रमाईरहेका देखिन्थे, अभिभावक ध्यान दिएर सुनिरहेका थिए ।

बडिगाड गाउँपालिका–२ मा रहेको दनियाँ टोलमा आधारभुत स्वास्थ्य सेवा केन्द्र खर्वाङका स्वास्थ्यकर्मीले पोषणको बिषयमा बिभिन्न सामग्री पस्के । गर्भवती, सुत्केरीसमेत गरि ४० जना सहभागिलाई मातृपोषण, बालपोषण, खाद्य विविधीकरण, गर्भावस्था र सुत्केरी अवस्थामा पोषण यसको महत्व, पोषण–नाङ्लो प्रदर्शन, हरेक बार खाना चार लगायतका विषयमा जानकारी गराईएको थियो ।

अरु बेला स्वास्थ्य केन्द्रमा हुने कार्यक्रम यो पटक गर्भावस्था र सुत्केरी आमासंगै गाँउमै भएर होला धेरैको अनुहारमा चमक थियो । पोषण जस्तो संवेदनशिल बिषयमा जानकारी दिने कार्यक्रम बार्षिक तालिका बनाएरै गर्नुपर्ने स्थानीय सिम्रन रानाले बताईन् ।

‘यो कार्यक्रम पहिलो हो ? उनले प्रश्न गर्दै गुनासो पोखिन् आज जस्तै कार्यक्रम केहि नभएपनि वर्षमा एक पटक भएपनि गर्नुपर्यो । म गर्भावस्थामा हुँदा यस्तो जानकारी पाएको भए कति खुसी हुन्थे होला । यस्तै कति जनालाई लागेको होला । त्यसैले एक पटक हैन यस्तो कार्यक्रम समय समयमा गर्नैपर्ने भो’ उनले भनिन् ।

आधारभुत स्वास्थ्य सेवा केन्द्र खर्वाङकी अनमी माया विकले समय समयमा स्वास्थ्य केन्द्रमा पोषण सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु भैरहेको बताइन् । आमाहरुको उपस्थिती कम हुने गरेपछि टोल टोलमा गर्भावस्था र सुत्केरीको संख्या बढि भएको समयमा मात्रै सचेतना बोकेर आँफुहरु गाउँ पुग्ने गरेको उनले सुनाइन् । ‘यस्ता कार्यक्रम समय समयमा केन्द्रमै आयोजना गर्छौं । अब सबैमा घर–घरमा गएर सिकाउन÷भन्न सकिदैन, त्यहि भएर टोल टोलमा कार्यक्रम गर्ने योजना हाम्रो छ’ उनले भनिन् ।

कार्यक्रममा सहभागि बनेकी अनिता राना बलामीले भने टोलमै बालबाच्चालाई खुवाउने तथा खाना बनाउने तरिकासंगै स्वास्थकर्मीले उनीहरु र आफुहरुको परिक्षण गरेकोमा खुसी व्यक्त गरिन् । ‘आवश्यक पोष्णयुक्त खानेकुरा त छोराछोरीलाई खुवाउने प्रयास गरिन्छ । तर कहिलेकाँहि उनीहरुले खाना खान मान्दैन्न् त्यो बेला कसरी, के खुवाउने भन्ने अझ सजिलोसंग बुझ्ने अवसर मिल्यो’ उनले भनिन् ।

आधारभुत स्वास्थ्य सेवा केन्द्र खर्वाङका प्रमुख सुदिप रञ्जन यादवले भने बालबालिकालाई पसलका खानेकुरामा भन्दा गाँउघरमै उत्पादन हुने खानेकुरा खुवाउन आग्रह गरे । ‘हाम्रो खेतबारीमै उत्पादन भएका साग, दाल, काउली, सिमी लगाएत दुध, ध्यु, दहि, मासु, अण्डा लगाएतका खाना खुवाउनुपर्यो’ यादवले भने ‘हामी केटाकेटीले माग्यो, रोयो भनेर पसलका खानेकुरा र मोबाईल दिएर खुवाउछांै । त्यसले बानी विग्रन्छ र स्वास्थ्यमा पनि असर गर्छ ।’

पोषण सचेतनाकै क्रममा ५६ जनाको निःशुल्क मधुमेह परिक्षण गरिएकोमा एक १८ महिनाको बच्चासहित ७ जनामा मधुमेहको मात्रा बढि देखिएको छ । क्षयरोगका शंकास्पद लक्षण देखिएका ३ जनाको खकार परिक्षणको लागि नमुना संकलन गरिएको आधारभुत स्वास्थ्य सेवा केन्द्र खर्वाङका ल्याब असिस्टेन्ट रेखा बलामीले बताईन् । पोषण प्रशिक्षणले आमाहरु उत्साहित देखिन्थे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->