बागलुङ/ गलकोट नगरपालिका–३ मा रहेको ऐतिहासिक ‘कोटघर’लाई पर्यटकीय गन्तव्य बनाउन कलात्मक पदमार्ग निर्माण गरिएको छ । गलकोट नगरपालिकाको हटिया बजारबाट कोटघरको पहुँचमार्गदेखि कोटघरसम्म कलात्मक पदमार्ग निर्माण गरिएको हो ।
स्थानीय ढुंगाको प्रयोग गरेर कलात्मक पदमार्ग तयार गरिएको कोट पुजा व्यवस्थापन समितिका सचिव गुञ्ज बहादुर खत्रीले बताए । गण्डकी प्रदेशको पर्यटन, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको दश लाख अनुदान र नगरपालिकाको सहयोगमा पदमार्ग निर्माण गरिएको हो । झण्डै १३ लाख खर्चेर पुरा गरिएको पदमार्गमा स्थानीयले ३ लाख बढीको श्रमदान गरेका थिए ।
१ सय ४४ सिँडी रहेको पदमार्ग निर्माणका लागि ढाँडको पाखो सामुदायीक वनमा रहेको स्थानीय कालो ढुंगाको प्रयोग गरिएको खत्रीले जानकारी दिए । ‘पदमार्ग र कोटघर वरपरका संरचनासमेत मल्लकालिन कलाशैली प्रयोग गरेर तयार गरेका हौं’ खत्रीले भने ‘बागलुङमा कालिगड नपाएपछि म्याग्दी र गोरखाबाट ल्याएर ढुंगा तयार गरिएको थियो ।’
कालो रंगको कटान गर्न सहिलो भएकाले उपभोक्ताले उक्त ढुंगा प्रयोगमा ल्याएका हुन् । पदमार्गमा ढुंगाको जडान बिन्दुमा मात्रै बालुवा सिमेन्टको प्रयोग गरिएको छभने बाँकी सबै संरचना स्थानीय ढुंगाको प्रयोगबाट तयार भएका छन् ।
चार बर्षअघि नगरपालिकाले ‘गौरवको आयोजना’को रुपमा निर्माण थालेको कोटघर पुग्ने पदमार्ग र तारवार तथा पर्खाल निर्माणको काम कोरोना महामारीका कराण रोकिएर अलपत्र परेको थियो । ५० लाख रुपैयाँको लागतमा निर्माण थालिएको काम कोरोना महामारीका कारण बीचमै रोकिएर १२ लाख रुपैयाँ फिर्ता भएपछि पदमार्ग अलपत्र थियो ।
प्रयोग भएको ३८ लाख रुपैयाँ मध्येबाट कोट पुजा व्यवस्थापन समितिले नेपालकै सबैभन्दा ठुलो दाबी गरिएको ६० किलोको खुकुरी खरिद गरेर कोटघरमा राखेको छ । वडा कार्यालय र नगरपालिकाको पहलमा प्रदेश सरकारले अपुग रकम बिनियोजन गरेपछि पदमार्गले पूर्णता पाएको उपभोक्ता समितिका सचिव सन्तबहादुर खत्रीले बताए ।
कोटघरको वरपर पर्खाल तयार गरिएको छभने सोही बजेटबाट तारजाली लगाएर सुरक्षित गरिएको खत्रिले बताए । ‘मल्लकालिन इतिहास बोकेको कोटघरमा पर्यटक भित्राउने हाम्रो लक्ष हो, दशैं र चैतेदशैंमा लाग्ने मेलामा सर्वसाधारणको भीड लाग्ने गरेको भएपनि पदमार्ग नहुँदा जोखिम थियो’ खत्रीले भने ‘पौराणिक महत्व झल्किने गरी कोटघरलाई तयार गर्दा पर्यटक आउँछन् र यहाँको विकास हुन्छ ।’
‘कोटमा बली पुजाका लागि राँगा, बोका लैजानसमेत कठिन भिरालो जमिन थियो, अहिले सजिलो भएको छ’ स्थानीय तुलसी परियारले भनिन् ‘अब कोटघरको प्रचारको खाँचो छ ।’ बाईसे चौबिसे राजाका पाला गलकोट राज्यको प्रारम्भ यही कोटबाट भएको इतिहास छ । लामो समय यही कोटमा बसेर राज्य गरेका राजा महाराजा पछि गलकोट दरबारमा सरेका थिए । शक्तिपिठको रुपमा गलकोट, ताराखोला क्षेत्रका सर्वसाधारणले यहाँ बर्षेनी पुजाआजा गर्दै आएका छन् ।





