बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘समपोखरा’ ताल संरक्षणको पर्खाइमा

‘समपोखरा’ ताल संरक्षणको पर्खाइमा


  • ढोरपाटन संवाददाता
  • पुष १९ २०७९, मंगलबार
गलकोट नगरपालिका–३ मा रहेको समपोखरी ताल । फाईल तस्विर

बागलुङ/ गलकोट नगरपालिका–३ मा रहेका पानीका मुहानको प्रमुख स्रोत समपोखरा ताल संरक्षणको पर्खाइमा छ । प्राकृतिक र पर्यटनका हिसाबले महत्व बोकेको तालको संरक्षण तथा प्रचार प्रसार हुन सकेको छैन ।

तालको संरक्षण गर्न नसक्दा यसको क्षेत्रफल घट्दै जान थालेको गुनासो स्थानीयको छ । ताल माथीको खेतीयोग्य जमिन र जंगल क्षेत्रबाट बर्षेनी आउने बाढीले ताल पुरिँदै गएको हो । गलकोट नगरपालिकाको हटियाको खानेपानी, कृषि तथा आर्थिक पक्षसँग जोडिएको यो तालको क्षेत्रफल ५० मिटर लम्वाई र १५ मिटर चौडाई छ ।

सामुन्द्रिक सतहदेखि २ हजार मिटरको उचाईमा रहेको ताल संरक्षण गर्नुपर्ने स्थानीय जय बहादुर दर्जी बताउँछन् । ‘हाम्रा चौपायले पानी खाने ताल हो, पहिले निकै गहिरो थियो, अहिले पिँधमा माटो भरिएको छ’ दर्जीले भने ‘ताल नजोगाए पानीका मुहान सुकेर जान्छन् ।’ जैविक महत्व बोकेको यो तालमा विभिन्न प्रजातिका जलचरको बसोबास छ ।

तालभन्दा केही तलको पानीको मुहानबाट ओख्रेनी खोला बग्ने गरेको छ । ओख्रेनी खोलाको पानीले नै हटिया बजार र आसपासका गाउँको प्यास मेटाउने गरेको छ । ‘केही बर्षअघि ताल सफा गर्दा तल मुहान सुक्यो, पछि पानी भरिएपछि फेरी खोला बगेको छ’ दर्जीले भने ‘यो ताल मास्न हुँदैन, जोगाएर राखे सबैलाई बचाउँछ ।’

समपोखरा वरपरको जंगलमा रहेका चराचुरुङ्गीले प्यास मेट्ने प्रमुख थलो यही ताल भएको गलकोट नगरपालिका–३ का अध्यक्ष फम बहादुर खत्री बताउँछन् । ‘आजसम्म राज्यको नजर परेको पाईएन, अब हामी तालको संरक्षण र प्रचारप्रासर गर्छौं’ खत्रीले भने ‘आन्तरीक पर्यटक ल्याउनेगरी ताल क्षेत्रमा पूर्वाधार बन्ने छन् ।’ तालको प्राकृतिक अवस्था नबिग्रिने गरी क्षेत्रफल बिस्तार र संरक्षणका लागि संरचना तयार गर्ने योजना रहेको खत्रीले सुनाए ।

‘हिजोआज कृतिम ताल हेर्न पर्यटक खचाखच हुन्छन्, हामीसँग प्रकृतिको उपहार छ’ खत्रीले भने ‘घुम्न र हेर्न मिल्ने बनाउँछौं, प्रकृतिले दिएको पानी मासिन दिँदैनौं ।’ हटिया बजारबाट एक घण्टा पैदल र आधा घण्टा सवारी यात्रामा ताल पुग्न सकिन्छ । यो प्राकृतिक ताल हो । स्थानीय बुढापाकाको भनाइअनुसार यो पुस्तौँ पुरानो ताल हो ।

‘यहाँको पानी न कहिल्यै घटेको देखिन्छ न भरिएर बाहिर जान्छ’ स्थानीय सन्तबहादुर खत्रीले भने ‘तालभित्रैबाट पानी आउँछ, त्यहिँ हराउँछ, बाहिर पानीको स्रोत छैन् ।’ यो ताल क्षेत्रमा देशमा द्वन्द सुरु हुनुपूर्व चैतेदशैंमा ठुलो मेला लाग्ने गरेको थियो । द्वन्दको समयमा रोकिएको मेला अहिलेसम्म सुरु गर्न नसकिएको खत्री बताउँछन् ।

समपोखरा ताल पर्यटन गन्तव्य क्षेत्र बन्ने प्रचुर सम्भावना छ । परापूर्वकालमा यस क्षेत्रमा देवी देवताको आश्रयस्थल रहेको स्थानीय बताउँछन् । तालको उत्तरपट्टि भट्ट बहाको मन्दिर छ । आसपासका गाउँका युवायुवतीका लागि वनभोज स्थल मात्र बन्ने गरेको यस ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने वडा अध्यक्ष खत्री बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->