बागलुङ/ बरेङ गाउँपालिका ! सदरमुकाम बागलुङ बजारदेखि ४५ किमी दुरीमा पालिका मुकाम हुग्दीशिर पुगिन्छ । सडकको दूरीले नजिक भए पनि सहज नहुँदा बरेङ भौगोलिक हिसाबले दुर्गम हो ।
बागलुङ–कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकको बाटो भएर यात्रा गर्दा बरेङ पुग्ने छोटो दुरी हुन्छ । बरेङ जोड्ने यो मात्रै सडक होइन् । बरेङ जोड्ने झण्डै आधा दर्जन सडक छन् ।
बागलुङ बजारदेखि सिगानाहुँदै गाजाको दहबाट बरेङडाँडा पुग्ने अझै छोटो सडक छ । गलकोट नगरपालिकाको दुदीलाभाटीहुँदै पेरिवाङ–बाराकोट, गलकोट नगरपालिकाहुँदै वडा नं. ५ को भित्रिवन र गुल्मी जिल्लाको शान्तीपुरहुँदै हुग्दीशिर जोड्ने सडक बरेङ गाउँपालिका सदरमुकामसँग जोडिएका छन् । तर, सडक कच्ची हुँदा बरेङको यात्रा कष्टकर छ ।
बरेङ–१ धुल्लुबास्कोटको लिउँवा गाउँकी रुपा पौडेलले गाउँमा सडक देखेको बर्षौं भयो । २०५४ सालमा बागलुङ–कुश्मीशेरा–बरेङ–शान्तिपुर सडक एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरु भएसँगै गाउँमा सडक पुग्ने आशा थियो । २०६२/०६३ को आन्दोलनपछि लिउँवा गाउँमा सडक त पुग्यो तर कच्ची सडकले सधैंको सास्ती ।
लामो समय हिलो र धुलोले सास्ती खेपेका लिउँवाबासीले यसपटक भने दैलोमा कालोपत्रे सडकको आभास गर्न थालेका छन् । सडक फराकिलो र नाली बनेको छ । ढुंगा, गिट्टीहरु सडकमा मेसिनले पेलिरहेको देख्दा रुपालाई गाउँको सडक बनिसकेको जस्तो लाग्छ ।
बागलुङ–कुश्मीशेरा–बरेङ–शान्तिपुरअन्र्तगत जैमिनी–१० राङ्खानीदेखि बरेङ–१ चित्रेसम्मको सडक स्तरोन्नती तथा कालोपत्रेको काम भैरहेको छ । गण्डकी प्रदेशको पालिका मुकाम जोड्ने सडक कालोपत्रे गर्ने योजनाअन्र्तगत ११ किमी खण्डमा काम भैरहेको हो ।
बागलुङ–कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकअन्र्तगत जैमिनीको मुकाम कुश्मीशेरा बजारदेखि वडा नं. १० को देवधारासम्मको दश किमीखण्ड पाँच बर्षअघिदेखि निर्माणाधिन छ । यो खण्ड अलपत्र रहेकाले स्थानीय देवलधारादेखि चित्रेसम्मको खण्डमा कामै नहुने आँकलन गरेका थिए । ‘काम देख्दा अबको पाँच÷सात महिनामा सजिलो बटो हिँड्न पाईन्छ जस्तो लाग्यो’ स्थानीय खिमादेवी पौडेलले भनिन् ‘जैमिनी खण्ड पनि बने सदरमुकाम कालोपत्रे बाटो नै हिँडेर पुगिन्थ्यो ।’
यो सडकमा २०७८ असारमा सम्झौता भएर दुई बर्षमा कालोपत्रेको काम सक्नेगरी सडक स्तरोन्नतीको जिम्मेबारी पाएको निर्माण कम्पनीले धमाधम काम गरिरहेको छ । सडक फराकिलो, पर्खाल, नाली बनाउने, पानी कटाउनका लागि बनाउनुपर्ने संरचना बनाउने काम सकिएको निर्माण कम्पनी रौताहा खानी धुलीखेल जेभी कन्ट्रक्सनका साइड ईन्चार्ज सञ्जय भट्टले जानकारी दिए ।
‘अहिले धमाधम ढलानको काम भैरहेको छ, मौसमले साथ नदिएकाले कालोपत्रेका लागि समय पर्खिरहेका छौं’ भट्टले भने ‘अबरोधहरु केही नआए तोकिएको समयमा काम सकिन्छ ।’ २०८० को असार मसान्तसम्म काम सक्नेगरी सम्झौता भएको थियो । बरेङलाई सदरमुकाम र प्रदेश राजधानीसँग जोड्ने छोटो दुरीको सडक भएकाले समयमा निर्माणको काम सक्न निर्माण कम्पनीलाई दबाब छ ।
२०५४ सालमा नक्सांकन गरिएको यो सडकको १५ बर्षअघि ट्याक खुलेको थियो । बागलुङको मालढुंगादेखि कुश्मीशेरा खण्डमा बिभिन्न क्लस्टरमा काम भैरहेको छ । कुश्मीशेरा, देवलधारा १० किमी खण्डको स्तरोन्नती तथा कालोपत्रेको काम पटक पटक म्याद थप्दासमेत ३५ प्रतिशत काम मात्रै सकिएको छ । म्याद थप भएकाले यो खण्ड र देवलधारादेखि नम्दुकहुँदै चित्रेखण्ड तयार हुँदा बरेङलाई सहज हुने गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए । ‘हामीले काममा आउने बाधा सहजिकरण गरिरहेका छौं’ शर्माले भने ‘यो बरेङका लागि अत्यावश्क सडक हो ।’
यो खण्डमा एक ठाउँमा सडक फराकिलो बनाउनका लागि स्थानीयले जग्गामा अबरोध गरेका छन् भने जैमिनी नगरपालिका–१० को नाम्दुकमा घरगोठ लगायतका संरचना भत्काउन स्थानीयले आनाकानी गरेको निर्माण कम्पनीको भनाई छ ।
सडक फराकिलो र कालोपत्रे हुँदा बरेङको आर्थिक बिकासमा सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ । प्रदेश सरकारको योजना भएपनि गाउँपालिकाले सडकको काममा चासो दिएको छ । गाउँपालिकाकै स्रोतमा बरेङ बजारमा गत आर्थिक बर्षमा कालोपत्रे भएको सडकबाहेक यो सडक नै बरेङको पहिलो कालोपत्रे सडक हुनेछ ।
११ किलोमिटर यो खण्डमा ४.५ किलोमिटर ढलान र बाँकी सबै कालोपत्रेको स्टमेट रहेको पूर्वाधार कार्यालय बागलुङका इञ्जिनियर कृष्ण गौतमले बताए । ‘सडकको भौतिक प्रगति ४५ प्रतिशत हो, तर कठिन खालका काम सकिएकाले अब प्रगति धेरै हुँदै जान्छ’ गौतमले भने ‘निर्माण कम्पनी काम रोकेको छैन्, हामीले आवश्यक सहजीकरण गरिरहेका छौं ।’
गण्डकी प्रदेश सरकारको कुल ३४ करोड २५ लाख ३ हजार ६९६ रुपैयाँको लागतमा यो सडक कालोपत्रे र ढलान हुँदैछ । हालसम्म दश किलोमिटरमा चौडा गर्ने काम सकिएको, दश किलोमिटरमा नाली बनाउने काम सकिएको, झण्डै दुई किलोमिटर सडक ढलान भैसकेको र अन्य पूर्वाधारका काम समेत भैरहेको गौतमले बताए ।
चित्रेदेखि सुदाला र पालिका मुकामदेखि गुल्मी शान्तिपुरसम्मको सडक कालोपत्रेका लागि पहल भैरहेको छ । दुई बर्षअघि पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट गाउँपालिकाले पालिका मुकामदेखि शान्तिपुर सडकको केही खण्ड फराकिलो बनाएको थियो ।





