बागलुङ/ मानसिक समस्या भएकी एक महिलालाई गलकोटका एक युवाले पटकपटक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।
गलकोट नगरपालिका–२ की ४५ वर्षीया महिलालाई स्थानीय २८ वर्षीय रामबहादुर गैरेले बलात्कार गरेको उजुरी परेको हो । ती महिलालाई पटकपटक बलात्कार भएको खुलेको छ । ती युवाले गत असार महिनादेखि नै बलात्कार गरेको भन्दै पीडितका परिवारले जिल्ला प्रहरीमा उजुरी दर्ता गरेका हुन् ।
बलात्कार गरेका गैरेले ती महिलालाई नजिकको स्वास्थ्य संस्थामा गर्भ परीक्षण गर्न लगेपछि यो विषय सार्वजनिक भएको थियो । ती महिलाका पतिको १५ वर्षअघि नै मृत्यु भएको थियो । ‘बिधवा महिलालाई युवाले किन गर्भ परीक्षण गर्न लग्यो भन्ने हल्ला चलेपछि परिवारले खोजी गरेका थिए’, स्थानीय सामाजिक अगुवा विष्णु बिकले भनिन्, ‘समाजका अगुवा बसेर खोजी गर्दा यो कुरा प्रमाणित भएको थियो ।’ पहिलो चरणमा गाउँ तहमा छलफल गरेर अगाडि बढ्ने तयारी गर्दा ती युवा भागेका छन् ।
गम्भीर घटना भएकोले लुकाएर राख्न नहुने समेत गाउँलेले ठहर गरेका थिए । पीडित महिला पतिको निधनपछि मानसिक रुपमा केही समस्यामा पर्दै आएकी छिन् । ‘यस्ता घटना लुकाएर राख्दा समाजमा धेरै महिला पीडित हुनेछन् भनेर हामीले बाहिर ल्याउने निर्णय ग¥यौं’ उनले भनिन्, ‘प्रहरीमा जाने कुरा चलेपछि केटा भागेको छ ।’ सम्पर्क बाहिर रहेकोले प्रहरीमा उजुरी गरेको उनले बताइन् ।
वडामा रहेको प्रहरीले उजुरी दर्ता नगरेपछि पीडितका छोरीहरु आएर जिल्ला प्रहरीमा दर्ता गरेको बताए । ‘निवेदन आएको छ, हामीले पीडक भनिएका युवाको खोजी गरिरहेका छौं’ जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका प्रहरी निरीक्षक राजाराम खड्काले भने, ‘मानिस भागिसकेको रहेछ, त्यसैले खोजी कार्य भइरहेको छ ।’ अभियुक्त भेटिएपछि सरकारी वकिल कार्यालयमार्फत मुद्दा अदालतमा पुग्ने उनले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण समेत भएको छ । उनी बलात्कृत भएको प्रमाणित भएको समेत परिवारका सदस्यले बताए । पैसा दिएर ती युवाले घटनालाई गुपचुप बनाउन समेत खोजेका थिए । वडा र समाजका अगुवाले यो विषय प्रहरीमै जानुपर्ने भनेपछि ती युवा पनि गाउँ छाडेर भागेको स्थानीयले बताए ।
गैरेले ती महिलालाई गर्भ जाँच्न स्वास्थ्य चौकी लगेपछि भने उनी पटक पटक बलात्कारमा परेको खुलेको हो । ती महिलाको घरको आर्थिक अवस्था समेत कमजोर भएकोले आफन्तहरु सदरमुकाम आउन चाहेका थिएनन् । पटकपटक घटना भएको र परिवारमा छोरीहरुलाई समेत जोखिम भएपछि भने ऋण खोजेर भएपनि सदरमुकाममा पुगेर उजुरी दर्ता गरेको उनीहरुले बताए । पीडित महिलाका २ छोरी र १ छोरा छन् ।





