बागलुङ / बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले आगामी चैतेदशैमा मेला आयोजना गर्ने भएको छ । झण्डै ५ सय वर्ष अघिदेखि स्वतस्फूर्त कालीका मन्दिरमा चैतेदशैमा मौलिक मेला लाग्ने गरेकोमा केही वर्ष अघिदेखि भने समितिले मेला व्यवस्थापन गर्दै आएको थियो ।
सोही अनुसार चैते दशैंको अवसर पारेर मेला व्यवस्थापन गर्न लागेको अध्यक्ष कुमार खड्काले जानकारी दिए । चैतेदशैभर झण्डै ५ लाख दर्शनार्थी आउने आँकडा राखेको गुठी व्यवस्थापन समितिले मेला व्यवस्थापन गराएर धार्मिक पर्यटक बढाउने, व्यापार प्रवद्र्धनमा साथ दिने लक्ष्य राखेको हो ।
चैत्र शुक्ल प्रतिपदादेखि नै मन्दिरमा चहलपहल सुरु हुन्छ । त्यसैलाई व्यवस्थापन गराएमा मौलिक कला र संस्कृतिको संरक्षण हुने, स्थानीय उत्पादनले बजारीकरणमा साथ पाउने खड्काले जानकारी दिए । देशभरबाट मेलाको अवलोकन तथा कालिकाको पूजाका लागि भक्तजन आउने भएकोले मेलालाई विशेष पर्वको रुपमा लिने गरिएको छ । चैतेदशैंको प्रतिपदादेखि राम नवमीसम्म भक्तजनहरु नियमित आउने गर्छन् । भक्तजन तथा आन्तरिक पर्यटकले बागलुङको व्यवसायमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
चैतेदशैंकै अवसर पारेर बागलुङको ग्रामीण क्षेत्रमा उत्पादन हुने डालो, नाङलो, मान्द्रो, ठेकी र कोदाला लगायतका सामाग्री पनि बिक्री गरिन्छ । यो पटक गुठीले खुला लोकदोहोरी प्रतियोगिता नभई लाइभ दोहोरी कार्यक्रमसमेत राख्ने भएको छ । साथै, राष्ट्रिय ख्यातीप्राप्त कलाकार र चर्चित कार्यक्रम संचालकहरु बोलाएर लाइभ दोहोरी संचालन गर्ने तयारी गरेको हो ।
पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालीकालाई साथैमा ल्याएर विधिपूर्वक स्थापना गरेको किंवदन्ति अनुसार १५९१ सालदेखि मन्दिरमा मेला र पूजा शुरु भएको पाइन्छ । अहिलेसम्म बागलुङ कालिका बारेमा तीनवटा मात्र पुराना लेखोटहरु फेला परेका छन् ।





