बागलुङ/ चार वर्षअघि घर घरमा भ्वाङ पर्ने र भाँसिने समस्याले विस्थापित बस्ती पुनःस्थापना भयो तर खानेपानीको समस्या समाधान भएको छैन । काठेखोला गाउँपालिका–५ को काउलेबासीले नयाँ घरमा सरेपनि खानेपानी नपाएको गुनासो गरेका छन् ।
पानी अभावले टाढा पुगेर खेप्नुपरेको र बस्तीमा मोटरबाटो पनि नभएकोले सामान ल्याउन अप्ठ्यारो परेको स्थानीय धनमाया परियारले गुनासो गरिन् । दुई किलोमिटर परको काउले बस्तीको पानी खेपेर खान बाध्य भएको परियारको गुनासो छ ।
टाढाबाट पानी ल्याउनुपर्दा दिनदिनै हैरानी भोगेको उनले बताइन् । काउलेकी बसी परियार, भविराम परियारसहित १० घरको यो साझा समस्या हो । कुनै सामान ल्याउनुपर्दा मध्यपहाडी लोकमार्गबाट बोकेरै लैजानुपर्ने अवस्था छ । खानेपानीको जोहो नभइ बस्ती सारिएकोले उनीहरुले समस्या भोगेको गुनासो गरे ।
चार वर्षअघि घरभित्रै भ्वाङ पर्ने र भासिने भएपछि काउले बस्ती विस्थापित थियो । विस्थापित ४ जनाले आफ्नै जग्गामा घर बनाएर सरे । १० परिवारले थातथलो छाडेर गाउँपालिकाले दिएको जग्गामा सरेका हुन् ।
काउलेको सिंगो दलीत भूकम्प पुनःनिर्माण प्राधिकरण र गाउँपालिकाको पहलमा बनेको हो । पूर्वाधार बनेपछि धमाधम सारियो, तर उनीहरुको घरमा दर्जनौं समस्या परेको पीडितले बताए । ‘घर बन्यो, तर धेरैजना छौं, दुइवटा कोठामा सबै बस्न धेरै गाह्रो भयो’, भविरामले भने, ‘खाना पकाउनेदेखि सुत्ने–बस्ने एकैठाउँ गर्न बाध्य छौं ।’
सडक अभावमा घरभित्रका संरचना बनाउँदा ढुंगा र काठ बोकेरै लैजान उनीहरु बाध्य छन् । सडकका लागि जग्गा नपाएपछि खुलाउन नसकिएको गाउँपालिका अध्यक्ष राजु थापाले बताए । ‘हामी लगानी गरेर सडक बनाउन तयार छौं, तर जग्गा छैन’, थापाले भने, ‘स्थानीयलाई सहमति गराएर सडक लैजाने योजना छ ।’
बनेका घरपनि छाना मात्रै राखेको भन्दै स्थानीयले गुनासो गरे । ‘न बस्ने ठाउँ छ, न सुत्ने ठाउँ’, भविलालले भने, ‘अहिले काठ काटेर फर्निचर बनाउने, चुल्होदेखि अगेना बनाउने काम पनि गरिरहेका छौं ।’ भुइँमै खाने, बस्ने, सुत्ने र सामान थुपार्नुपर्ने बाध्यताले छाना भएपनि घर जस्तो नदेखिएको उनले बताए । उनीहरुलाई २ कोठे घर र एउटा शौचालय बनाएर प्राधिकरणले घर हस्तान्तरण गराएको थियो ।
बस्तीमा भ्वाङ, बारीका कान्लामा पहिरै पहिरो खसेपछि चार वर्षअघि उनीहरु विस्थापित भएका थिए । बस्तीको तल्लो र माथिल्लो भागमा मध्यपहाडी लोकमार्गको ट्रयाक छ । ठूला मेसिनसमेत प्रयोग भएकोले यो क्षेत्र कमजोर भएको अध्ययनले देखिएपछि प्राधिकरणको सहयोगमा नयाँ बस्ती बनेको थियो । सुरक्षित छानो पाएर खुसी भएका यो बस्तीका अधिकांश अहिले दुःखी छन् ।
बिहुँस्थित काउलेमा अचानक जमिन भासिएपछि घर भत्केका थिए । तत्कालिन वडा अध्यक्ष शिव प्रसाद कंडेलको अगुवाइमा उक्त बस्ती स्थानान्तरणका लागि जग्गा छनोट गरिएको थियो । तर, १० घरलाई भाग लगाउँदा जग्गा नपरेको हो । प्राधिकरणले प्रतिघर ३ लाख र गाउँपालिकाले एक÷एक लाख रुपैयाँ लगानी गरेका थिए । चार लाखमा बनेका घर दुइकोठे र जस्ता लगाइएको मात्रै छन् ।
वडाले २१ लाख रुपैयाँमा बस्तीका लागि ३ रोपनी जग्गा खोजेको थियो । प्राधिकरणले बागलुङका २ हजार ३ सय ७५ निजी आबास पुननिर्माण गरिसकेको छ । अन्य आबास बनेको स्थानमा पीडितको आफ्नै बारी भएकोले समस्या आएको छैन । यो बस्तीमा भने सबैखाले समस्या आएको स्थानीय शिक्षक भिष्म कंडेलले बताए ।





