बागलुङ/ भर्ना हुन आएका बिरामी अस्पतालले उपचार गरेर जीवन बचाउने हो । तर, धौलागिरि अस्पतालमा आएका बिरामीलाई अस्पतालले पत्र काटेर मानवअधिकार संगठन बागलुङ शाखालाई जीवन बचाइदिन आग्रह गरेको छ ।
पुस २६ गतेको पत्रमा संगठनका अध्यक्षलाई सम्बोधन गरेर एक बिरामीको जीवन बचाइदिन भन्ने व्यहोराको पत्र लेखेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. अमित ढुंगानाको हस्ताक्षर रहेको पत्रमा ठेगाना नखुलेका ६२ वर्षीय टेकबहादुर किसानको जीवन बचाइदिन आग्रह गरिएको हो ।
किसान कलेजोसम्बन्धी रोगी भएको पनि पत्रमा उल्लेख छ । धौलागिरि अस्पतालमा कलेजो सम्बन्धी उपचार हुँदैन । तर, उनलाई पुस १७ गतेदेखि उपचार गराइरहेको भन्ने पनि पत्रमा उल्लेख छ ।
‘अस्पतालले हामीलाई जीवन बचाइदिन भनेर पत्र लेखेको छ, कसरी बचाउने ?’ संगठनकी अध्यक्ष लक्ष्मीदेवी जिसीले भनिन्, ‘यो विषय गम्भीर भयो, एउटा बिरामीको जीवन बचाउन सबैको पहल आवश्यक पर्ने भयो ।’
अस्पतालका सूचना अधिकारी तेजप्रसाद निउरेले ती बिरामीका लागि आर्थिक सहयोग अभियान जुटाउने भन्ने उदेश्यले पत्र लेखिएको दाबी गरे । ‘हामीले अस्पतालमा खर्चन पाउने जतिको उपचार दियौं, अब चन्दा उठाएर उनको जीवन बचाउने भन्ने हो’, निउरेले भने, ‘त्यसका लागि संगठनले सहयोग देओस् भनेर पत्र लेखिएको हो ।’ अस्पतालका मेसु ढुंगाना काम विशेषले पोखरा गएको बताए ।
अस्पतालका एक स्वास्थ्यकर्मीले भने ती बिरामीलाई पहिले नै यहाँबाट उपचार हुने अस्पतालमा पठाउनुपर्ने बताए । ‘यहाँ नहुने विषय भएपछि यतिका दिन भर्ना गरेर राख्नै हुन्थेन’, उनले भने, ‘बिज्ञ अस्पतालमा पठाएको भए उनको उपचार भैसक्थ्यो ।’ अलपत्र परेको बिरामीलाई राज्यकै कोषबाट उपचार गरिनुपर्ने उनले बताए ।
उपचारमा समस्या भएका धेरै बिरामीलाई बचाऊ अभियान, उपचार कोष लगायतको अभियानबाट पनि उपचार गरिएका उदाहरण छन् । अस्पतालले संस्थालाई पत्र लेख्नुभन्दा अभियान चलाएमा रकम संकलन गरेर उपचार गर्न सक्ने सामाजिक क्षेत्रका मानिसले बताए । यसअघिका कैयौं अवस्थामा लाखौं रकम संकलन गरेर जटिल रोगका बिरामी उपचार गराएको भन्दै पत्र लेखेरभन्दा अभियान चलाएर मानिस बचाउन सकिने एक स्वास्थ्यकर्मीले बताए । अस्पतालका एक चिकित्सकले भने ती बिरामीको ठेगाना र आफन्तको खोजी भइरहेको बताए । संभावित आफन्त आएमा उनीहरुसँगै उपचारका लागि पठाइने उनले जानकारी दिए ।





