बागलुङ/ यहाँका किसानले छुँदै चिलाउने वनस्पतीलाई भान्सामा पु-याएका छन् । बागलुङको जैमिनी नगरपालिका–३ दमेकमा समुहमा आबद्ध किसानले जंगलमा पाईने पिँडालु प्रजातीको बाँकोलाई गुन्द्रुक बनाएर बजारीकरण थालेका हुन् ।
उच्चपहाडी क्षेत्रमा गुन्द्रुक बनाउन प्रयोग गरिने जंगली वनस्पती बाँको अब व्यवसायीक किसानको रोजाइमा पर्न थालेको छ । शहरिया भान्छामा बाँकोको गुन्द्रुक पाक्दै छ । छन्त्याल कृषक समुहमा आबद्ध दमेकका १४३ जना किसानको सामूहिक प्रयासमा बाँकोको बजारीकरण थालिएको हो । अन्य सागबाट भन्दा बाँकोको सागबाट बनेको गुन्द्रुक स्वादिलो र पोसिलो हुने भएकाले किसानले जंगली बाँकोको गुन्द्रुक बनाउँदै आएका थिए ।
आफन्तलाई कोसेलीको रुपमा मात्रै गाउँ बाहिर जाँदै आएको बाँको अब भने किसानको आम्दानीको स्रोत बन्ने छ । ‘हामीले पुर्खाका पालादेखिनै बाँको खाँदै आएको हो, आफन्तलाई कोसेली मात्रै पठाइन्थ्यो, अब बिक्री गरेर आम्दानी गर्न लागेका छौं’ छन्त्याल कृषक समूहका अध्यक्ष देवप्रकाश छन्त्यालले भने ‘एकाद घरबाट पाथीमा बिक्री हुँदै आएको बाँकोलाई प्याकिङ गरेर किलोग्राममा बिक्री गर्न थालिएको छ ।’
दमेकका झण्डै पाँच सय घरमा बाँको हरेक घरमा भित्रिन्छ । तर, कसैले पनि यसलाई व्यावसायिक बनाएका थिएनन् । ‘हरेक घरमा आठ÷दश किलो बाँको हरेक वर्ष भित्रिन्छ, घरमै खाएर मात्रै सकिँदैन्, बजारमा माग छ पु¥याउन सकिएको थिएन्’ छन्त्याल भन्छन् ‘हामीले समूहमार्फत् प्याकिङ र ब्राण्डिङ गर्ने काम थालेका छौं ।’
चालु आर्थिक वर्षमा ८ सय किलो बाँको बजार पठाउने तयारी गरेको समुहले १ सय ग्रामका प्याकेट तयार गरेको छ । एक प्याकेटको मुल्य ३५० रुपैयाँ कायम गरिएको छन्त्यालले जानकारी दिए । ‘एक पाथीलाई आठ सय रुपैयाँमा बिक्री हुँदै आएको थियो’, उनले भने ‘किसानका दुःख हेर्ने हो भने मूल्य अझै कम हो ।’
जेठ/असारमा दमेकका जंगलभरी पाइने बाँको असोजसम्म घरभित्र ल्याइसक्नुपर्छ । असोजसम्म टिप्न नभ्याइएमा बाँको यत्तिकै हराएर जान्छ । सावधानीपूर्वक नटिप्ने हो भने बाँकोको काँचो पातले शरीर चिलाउने समस्या हुन्छ । यहाँका किसानले परम्परागत रुपमा बाँकोका पात र काण्ड टिपेर परम्परागत शैलीबाट थिचेपछि एक महिनासम्म प्लाष्टिकको ड्रममा राखेपछि मात्रै बाँकोको गुन्द्रुक तयार हुने उनले बताए ।
बाँकोको ब्राण्डिङका लागि जैमिनी नगरपालिकाले सहयोग गरेको छ । बाँको कुट्ने र प्याकिङ गर्ने मेसिन नगरपालिकाले सहयोग गरेको कृषि प्राबिधिक रवीन्द्र शर्माले बताए । दमेकमा उत्पादन भएको बाँको बजारको माग अनुसार पु¥याउन नसकेको शर्माले बताए ।
बाँकोका पात र गाना ज्यादै कोक्याउने खालका हुन्छन् । बाँकोको गाना खाने चलन त छ तर विशेष रूपले प्रशोधन गरेर मात्र खान चिकित्सकहरु सुझाउँछन् । समग्रमा बाँकोको गानोको पीठो र पातको साग धेरै पर्वतीय समुदायमा प्रचलित छ ।





