बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कानूनले पठायो जेल, अध्यक्ष गए गाउँपरिषदमा

कानूनले पठायो जेल, अध्यक्ष गए गाउँपरिषदमा


  • ढोरपाटन संवाददाता
  • माघ ४ २०७९, बुधबार

बागलुङ/ सार्वजनिक पद धारण गरेको व्यक्तिलाई अदालतले दोषी ठहर गरेको छ । सजाय पनि तोकियो । तर उही व्यक्ति सरकारी कार्यालयमा हाजिर छ । उसकै अध्यक्षतामा महत्वपूर्ण काम समेत भएका छन् ।

जिल्ला अदालत बागलुङले साँढे तीन बर्ष जेल सजायको फैसला गरेका निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले आफ्नै अध्यक्षतामा कार्यपालिकाको बैठक र गाउँ परिषद समेत सम्पन्न गरेका छन् । लागूऔषध मुद्दामा घर्तीलाई जेलसहित ५० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ । फैसला भएको दुई सातापछि उनले गाउँ परिषद सम्पन्न गरेका हुन् ।

अदालतको फैसलापछि घर्तीले गाउँपालिकाको कार्यलय पुगेर सेल्फी तस्बिर खिचेर सामाजिक संजालमा पोष्ट गरेका थिए । पुसको पहिलो र दोश्रो साता पालिका नगएका घर्ती फैसलापछि नियमित जसो गएको जनप्रतिनिधिहरुले बताए । पालिकामा कुनै अदालती पत्र नपुगेपछि अध्यक्षबिरुद्ध बोल्ने साहस कसैले गरेका छैनन् ।

‘अध्यक्ष ज्यू आउनुभयो, काजगात केही नबोलेकोले हामी बोल्ने कुरै भएन’ वडा नं. २ का अध्यक्ष कुबिर बिकले भने, ‘नियमित काम त गर्न पर्छ भनेर बैठक र परिषद सम्पन्न भए ।’ कागजात नबोली अरुले दोष लगाउन नमिल्ने उनले बताए । अध्यक्षको अनुपस्थितिमा रोकिएका काम एक सातामा भएका छन् । उपाध्यक्ष प्रेम बहादुर घर्तीले पनि अध्यक्षको अनुपस्थितिमा रोकिएका धेरै काम सल्टिएको बताए ।

२०७७ असार १२ गते निसीखोला गाउँपालिका–६ को वडा अध्यक्ष हुँदा घर्ती ८० केजी गाँजासहित घरबाटै पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट गएको टोलीले उनलाई दुइ बर्षअघि गाँजासहित पक्राउ गरेको थियो । गाँजा भण्डारन गरेको आरोपमा लागूऔषध कसुर सम्बन्धी ऐन २०३३ को दफा ४ (क) अनुसार २०७७ भदौ ४ गते उनीबिरुद्ध जिल्ला अदालतमा मुद्दा परेको थियो ।

पक्राउ परेलगत्तै झण्डै तीन महिना पुर्पक्ष बसेपछि उनी धरौटीमा रिहा भएका थिए । धरौटीमा रिहा भएकोले उनले वडा अध्यक्षको काम नियमित रुपमा गरे । गत बैसाखमा गाउँपालिका अध्यक्ष पदमा उमेदवार भएर निर्वाचित भए । कांग्रेसबाट उमेदवार बन्दा उनीबिरुद्ध दाबीबिरोध परेको थियो । तर, निर्वाचन आयोगले उनको उजुरी उपर कुनै कारवाही गरेन ।

पार्टी पंत्तीमा भने उनको उमेदवारीको बिरोध भएको थियो । ‘उनको कारणले अहिले पार्टी र गाउँपालिका दुवै बदनाम भयो’ कांग्रेसका एक पदाधिकारीले भने, ‘यस्तो काम नगरौं भन्दा सभापति जी मान्नुभएन, अहिले कति ठाउँमा जवाफ दिने ?’ घर्ती यसअघि भने यस्ता गतिविधिमा नभएकोले इमान्दार कार्यकर्ताको रुपमा टिकट पाएको सभापति जितबहादुर शेरचनको दावी छ । धरौटीमा छुटेकोले दोषी ठहर हुने संभावना नदेखेपछि टिकट दिइएको समेत उनले बताए ।

जिल्ला अदालत बागलुङका स्रेस्तेदार सूर्यप्रसाद भण्डारीले अदालतको फैसला अब छिटै पठाउने बताए । ‘फैसला तयार भएपछि हामीले एक प्रति पालिकामा पठाउँछौं, एक प्रति निर्वाचन आयोग पठाउँछौं’ भण्डारीले भने, ‘त्यसपछि निर्वाचनले के गर्छ त्यही हुन्छ ।’ भ्रष्टाचार मुद्दामा बाहेकका आरोपितले तारेख र धरौटीमा बस्न पाइने कानूनी व्यवस्था भएको उनले बताए ।

उच्च अदालत बार एसोसिएसन बागलुङका अध्यक्ष अखिलनाथ शर्माले सजायको पत्र गएपनि प्रहरीले पक्राउ गर्न नसक्ने बताए । ‘अभियुक्तलाई पुनरावेदनको ७० दिने म्याद हुन्छ, ३० दिन थप माग्न पाउँछ’ शर्माले भने, ‘उच्चले पनि सदर गरेमात्रै प्रहरीले पक्राउ गर्ने हो, सजायमा फरक परे सर्बोच्च जाने अधिकार हुन्छ ।’ यो प्रकृया टुंगो लाग्दा ३ बर्ष बितिसक्ने उनले बताए । ‘तीन तहको अदालती प्रकृयामा अन्तिम फैसालासम्म उनले मुद्दा लड्न पाउने कानूनले अधिकार दिएको छ’ अर्का अधिवक्ता राम शर्माले भने, ‘नैतिकताको कुरा मात्रै मुख्य भयो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->