बागलुङ/ वैदेशिक रोजगारीमा छोराबुहारी नभएको भए शालिकराम आचार्यका लागि देशको राजधानी काठमाण्डौं बिरानो सहर हो । पर्यटकीय सहर पोखरामा होटल व्यवसाय गरेर बस्ने उनी बिरलै काठमाडौं सहर आउजाउ गर्थे ।
बागलुङ नगरपालिका–४ घर भएका आचार्य पोखरा बसेर व्यवसाय गर्न थालेको केही वर्ष भयो । सवारीकै सहायतामा एक–दुई पटक काठमाडांै पुगेर फर्केको अनुभव थियो उनीसँग । छोराबुहारी जापानमा रहेकाले घर आउँदा जाँदा आचार्यले बिमानस्थलसम्म लिन र छोड्न जान थालेका थिए । काठमाण्डौंको विमानस्थलबाट छोराबुहारी आउँदा जाँदा लिन र पु¥याउन जान्थे ।
केही महिनाअघि जापानबाट घर आएकी बुहारी लक्ष्मी आचार्य जापान फर्किन थालेपछि आचार्यले बुहारीलाई उडाउन जहाज चडेरै काठमाडौंं पुगे । बुहारी लक्ष्मीसहित सुरक्षित काठमाण्डौं पुगेका आचार्यले गत शनिबार बुहारीलाई जापान जाने जहाजमा सुरक्षित हिसावले पठाए तर आफू भने घर फर्किएनन् । शनिबार बुहारी पठाएका आचार्य आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एटिआर ७२ नम्बरको विमान दुर्घटनासँगै अस्ताए ।
बुहारी लक्ष्मी जहाज चढेपछि जापानमा रहेका जेठा छोरा गणेशलाई जानकारी गराए । पोखरामा रहेका कान्छा छोरा लोकनाथलाई आफू फर्किने टिकटको बन्दोबस्त गर्न लगाए । ‘कान्छो छोरा लोकनाथले भाउजुलाई पठाएपछि शनिबारै पोखरा आउनुस्, अनलाइन टिकट काटिदिन्छु भनेको रहेछ तर भाइले आज यतै बस्छु भनेपछि आइतबार बिहानको टिकट लिएछ’, मृतक शालिकरामका दाजु डिल्लीप्रसाद आचार्यले भने ‘अघिल्लो दिन नै पोखरा फर्किएको भए सायद यस्तो भोग्न पर्ने थिएन् ।’ बुहारी जापान पुगिनसक्दै बिमान दुर्घटनामा भाई गुमाउनुपरेको आचार्यले सुनाए ।
मृतक आचार्यका माइला छोरा घनश्याम, कान्छा लोकनाथ र श्रीमती पोखराको नागढुंगामा बस्दै आएका छन् । उनले त्यहाँ केही वर्षदेखि बागलुङ कालिका होटल सञ्चालन गरेका थिए । आचार्यको निधनले बागलुङको कुँडुले गाउँ शोकमा डुबेको छ । बैदेशीक रोजगारीमा हिँडेकी बुहारी छोडेर फर्किँदा ज्यान गुमाउने बागलुङका आचार्य एक्ला होईनन् ।
अध्ययन तथा रोजगारीको शिलशिलमा अष्ट्रेलिया हिँडेका छोराबुहारी छोडेर फर्किँदै गरेकी बागलुङ नगरपालिका–१ की सीताकुमारी खड्का पनि घर फर्किनन् । शनिबार राति खुसीका साथ छोराबुहारीलाई त्रिभुवन विमानस्थलबाट अस्ट्रेलियाका लागि बिदाइको हात हल्लाएकी सीता आइतबार बिहान आँफै यो संसारबाट बिदा भइन् । आइतबार बिहान सोही विमानस्थलबाट यती एयरलाइन्समा घर फर्कंदै गरेकी खड्का पोखराको आकाशमा अस्ताईन् ।
छोराबुहारीलाई कर्मथलोका लागि बिदाइ गर्न गएकी आमा घर नपुग्दै बीचमै अस्ताएपछि घरपरिवार शोकमा ढुबेको छ । छोराबुहारी अस्ट्रेलिया नपुग्दै यता आमाको हवाई दुर्घटनामा परी मृत्यु भएको खबरले परिवार स्तब्ध भएको मृतकका भान्जा सूर्य लामिछानेले बताए । खड्का पोखरामा रहेकी छोरी अनिता खड्काले अनलाइन टिकट लिएपछि सोही विमानबाट पोखरा जाँदै आउँदै थिइन् ।
आमाको मृत्युको खबर सुनेपछि छोरी अनिता बेहोस भएर अस्पताल भर्ना गरिएको भान्जा सूर्यले बताए । ‘माइजू, भाइ र बुहारीलाई अस्ट्रेलियाका लागि बिदाइ गरेर आइतबार बिहान विमानबाट घर फर्कंदै हुनुहुन्थ्यो,’ लामिछानेले भने, ‘उता भाइ बुहारी अस्ट्रेलिया पुगिसकेका छैनन् । यता माइजूको यस्तो खबरले सबैलाई स्तब्ध र दुखी बनाएको छ ।’ उनीहरुसँगै बागलुङको बडिगाड गाउँपालिका स्थायी घर भएकी कलाकार निरा छन्त्याल र गलकोट नगरपालिका–२ नरेठाँटी घर भएकी बन्दना सुनारको पनि निधन भएको छ । छन्त्याल पोखरामा सञ्चालित एक कार्यक्रममा प्रस्तुतिका लागि आउँदै थिइन् भने सुनार अमेरिकाबाट काठमाडौंमा उपचार गराईरहेकी हजुरआमा भेट्न आएकी थिईन् । नेपाल आएका बेला जन्मथलो पुगेर फर्किने सुनारको सपना अधुरै रह्यो ।





