बागलुङ/ दुई महिना पहिले बागलुङको गलकोट नगरपालिका–७ मल्म गाउँकी एक गर्भवती सुत्केरी हुन् मल्म स्वास्थ्यचौकी पुगिन् । गर्भवती सुत्केरी हुन स्वास्थ्यचौकी पुगेपछि स्वास्थ्यकर्मीले सुत्केरी गराउने सबै तयारी पूरा गरे ।
प्रसुती व्यथाले च्यापेकी महिलालाई बर्थिङ सेन्टरमा राखियो । सम्भावित सबै जोखिम सामना गर्न स्वास्थ्यचौकीमा उपलब्ध स्वास्थ्यकर्मीहरु तयार थिए । जब बच्चा जन्मिने बेला भयो, स्वास्थ्यकर्मीले गरेको सबै तयारीलाई चुनौती दिँदै झ्याप्प बिजुली गयो ।
बच्चा जन्मिनै लागेकाले स्वास्थ्यकर्मीले हतार–हतार खल्तिमा रहेको मोवाइल निकाले । मोवाइलको लाइट बाले । मोवाइलको लाईटकै सहायतामा तीन जना महिलालाई सुत्केरी गराएको अनुभव छ, स्वास्थ्यचौकीकी अनमी माधुरी नेपालीको ।
‘कयौं पटक हामीले मोवाइलको लाइटकै सहायतामा सुत्केरी गराएका छौं, बेलाबेलामा काटिने बिद्युतको बैकल्पिक व्यवस्था नहुँदा समस्या छ,’ नेपाली भन्छिन् ‘बर्थिङ सेन्टर जस्तो संवेदनशील ठाउँमा कम्तिमा गतिलो बल्ने लाइट भएपनि चाहिन्छ ।’
स्वास्थ्यचौकीमा बिद्युत नभएका बेला चल्ने ‘व्याकअप’ नभएकाले समस्या हुने गरेको स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक अनिता कार्कीले बताइन् । ‘हामीले ब्याट्री राखिदिन गलकोट नगरपालिकाको स्वास्थ्य शाखालाई आग्रह गरेका छौं तर कार्यक्रम बनेर आएको छैन्,’ कार्कीले भनिन् । बेलाबेलामा बिना सूचना काटिने बिद्युतले यहाँका स्वास्थ्यकर्मीलाई सताउने गरेको छ । बर्थिङ सेन्टर रहेको स्वास्थ्य चौकीमा चालु आर्थिक वर्षमा मात्रै १९ जना महिला सुत्केरी भएका छन् । अधिकांश महिला रातिको समयमा सुत्केरी भएकाले स्वास्थ्यकर्मीले बिद्युत काटिएका बेला समस्या भोग्ने गरेका हुन् ।
‘एक त हामीसँग प्रयाप्त जनशक्ति छैन्, भएको जनशक्तिले काम गरिरहेका बेला एकजना मोवाइलको लाइट समातेर बस्नुपर्ने अवस्था आउँछ,’ कार्कीले भनिन् ‘मोवाइल कोखमा च्यापेर सुत्केरी गराएका अनुभव छन् ।’
यो समस्या गलकोट नगरपालिकाका स्वास्थ्य संस्थामा मात्रै होइन,बागलुङका अधिकांश स्वास्थ्य संस्थामा रहेको छ । स्थानीय तहले बिद्युतको विकल्प व्यवस्थापन गर्न नसक्दा स्वास्थ्यकर्मीले आकस्मिक उपचार तथा प्रसुतीको समयमा सास्ती ब्यहोर्नु परेको हो ।
बर्थिङ सेन्टर रहेको बरेङ गाउँपालिकाको बाटाकाचौर स्वास्थ्यचौकीमा पनि बैकल्पिक उर्जाको समस्या छ । छिमेकी जिल्ला गुल्मीहुँदै बरेङ ल्याइएको केन्द्रीय प्रसारण लाइनको बिद्युत सामान्य हावा चल्दासमेत अबरुद्ध हुने गरेको छ । ‘एक पटक गयो भने तीन÷चार दिन बिद्युत आउँदैन्, व्याकअप नहुँदा सबैभन्दा समस्या सुत्केरी गराउने बेला हुन्छ,’ स्वास्थ्यचौकीका निमित्त प्रमुख धर्मप्रकाश थारुले भने ‘बर्थिङ सेन्टरलाई संवेदनशील मानेर आवश्यक पूर्वाधार तयार गर्नुपर्छ ।’ बिद्युत नहुँदा मोवाइलकै भर पर्नुपरेको उनले पनि सुनाए । बरेङ गाउँपालिकाले भने केही स्वास्थ्य संस्थामा बिद्युत नभएका बेला बैकल्पिक प्रयोगका लागि ‘व्याकअप’ जडान गरेको छ ।
धुल्लुबास्कोट स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा जडान गरिएको ‘व्याकअप’ले निकै सहयोग गरेको अनमी अनिसा आचार्यले बताइन् । गाउँपालिकाले सबै स्वास्थ्य संस्थामा ‘व्याकअप’ पु¥याउने योजना बनाएको छ । ‘क्रमैसँग सबै स्वास्थ्य संस्थालाई सुविधासम्पन्न बनाउँछौं, एकै पटक बजेट लगायतका सिमितता छन्,’ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, ‘स्रोत साधन भएका ठाउँको उपयोग र नभएका ठाउँमा व्यवस्थापन गर्दै जाने योजना छ ।’





