बागलुङ/भवन अभावमा जैमिनी नगरपालिका वडा नं. १० को राङखानीस्थित एक विद्यालयमा खुला चउरमा पढाउनु पर्ने बाध्यता भएको छ । यहाँको जनता प्राविमा भवन अभावले खुला चउरमा पढाउनु परेको हो ।
२०४३ सालमा बनाएको भवन भत्केर तीन वर्षअघि छाप्रो बनाएर विद्यालय चलाइएकोमा यो बर्षदेखि भने २ कोठे भवन बनाउन छाप्रो भत्काएपछि कक्षा कोठा नपुगेको हो । कक्षा अभावमा बालबालिका चउरमै पढ्न बाध्य भएको प्रअ कृष्णकुमारी श्रीषले बताइन् ।
भुइमा गुन्द्री र कार्पेट बिच्छ्याएर विद्यार्थी पढाउनु परेको शिक्षकहरुले बताए । धुलोले गर्दा बालबालिकाको हात र ओठ फुट्ने समस्या भएपनि राख्ने कक्षा कोठा पनि नभएको श्रीषले बताइन् । अहिले यो विद्यालयको ३ कोठाको कच्ची छाप्रोमा विद्यालय संचालनमा छ । एउटा कोठामा कार्यालय संचालन छ । त्यो पनि साँघुरो भएर सबै सामान थुपारिएको छ । दुइवटा कोठामा पनि फर्निचरको अभाव छ । कहिले भित्र कहिले बाहिर लगेर कार्पेट बिच्छ्याएपछि विद्यार्थी बसेर पढ्ने गरेका हुन् ।
‘सबैलाई एउटा वा दुईवटा कक्षामा राखेर संयुक्त पढाउनु पर्छ,’ प्रअ कृष्ण कुमारी श्रीषले भनिन्, ‘पहिलाको भवन भत्किएपछि तीन वर्षदेखि दुःख गरेर पढाइएका छौं ।’ २०४३ सालमा बनाएको भवन भत्केपछि तीन वर्षअघि विद्यालय छाप्रोमा सरेको थियो ।
तीन वर्षअघि मोटरबाटो खन्ने क्रममा पहिरोले विद्यालय भत्केको थियो । ‘मोटरबाटोमा डोजर लगाउने क्रममा थर्केर पहिरो खस्दा विद्यालय भत्केको हो,’ व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर छन्त्यालले भने, ‘सकेसम्म छिटो भवन बनाएर बालबालिकालाई सुरक्षित स्थानमा सार्छांै ।’ भवन भत्केपछि बिद्यालय नभएर सास्ती भएकोले बल्लबल्ल योजना पारेको उनले बताए ।
यसअघि खुला चउरमा नराखेपनि छाप्रोमा बसेर बालबालिका पढेकोमा अब भने पक्की बनाउने तयारी गरेको उनले बताए । राष्ट्रपति शैक्षिक सुधार परियोजनामार्फत चालु वर्षको बजेटमा २५ लाख रुपैयाँ यो विद्यालयको दुई कोठा भवन बनाउन बिनियोजन भएको छ । भवन सम्झौता भैसकेको श्रीषले जानकारी दिइन् ।
२५ लाखमा २ लाख ५० हजार अभिभावकले श्रमदान गर्नुपर्ने प्रावधान छ । उक्त भवन बनिसकेपछि पनि यहाँ कक्षा पुग्दैन । समयमा भवन बनाउन सकियो भने परियोजनाले अर्को दुई कोठे भवनका लागि बजेट दिने आश्वासन पाएको छन्त्यालले बताए । ‘हामीले यो भवन त चैत वैशाखभित्रै बनाउनै पर्छ,’ उनले भने, ‘नत्र हावाहुरी र पानी पर्दा बालालिका राख्ने ठाउँ पुग्दैन ।’ पक्की भवन बनाउन सकेमा एकै कोठामा दुईवटा कक्षा भएपनि चलाउन सकिने उनले बताए ।
पक्की भवन नभएकोले कतिपय सामाग्री सुरक्षामा पनि समस्या भएको शिक्षकहरुले बताए । कक्षा कोठा नभएपछि कार्यालय पनि सामान थुपार्दा फोहोर भएको श्रीषले बताइन् । फोहोर भएकोले आएका पाहुनालाई बसौं भन्न पनि नसकेको उनले गुनासो गरिन् । यसअघि यो विद्यालयमा ६ वटा कोठाको भवन थियो ।
कक्षा ५ सम्म संचालित बिद्यालयमा ३१ विद्यार्थी छन् । ३ जना दरबन्दीका शिक्षक र १ निजी श्रोतका समेतले बिद्यालय संचालन भैरहेको हो । कच्ची र जीर्ण विद्यालय भएपनि खानेपानी र शौचालयको भने राम्रो व्यवस्था छ । शौचालय पक्की बनाइसकिएकोले विद्यालयले सरसफाइको पहिचान भने दिन सकेको छ ।





