बागलुङ/ताराखोला गाउँपालिकाको अधिकांश खेतीयोग्य जमिनमा खाद्यतत्व कम भएको भेटिएको छ । गाउँपालिकाले कृषि ज्ञान केन्द्र बागलुङसँगको समन्वयमा गरेको माटो परीक्षणमा अधिकांश नमुनामा खाद्यतत्व कमी रहेको पाईएको हो ।
गाउँपालिकाभरि ३६४ माटोका नमुनामध्ये अधिकांशमा नाईट्रोजन, पोटास र फस्फोरस जस्ता खाद्यतत्व कमी रहेको पाईएको कृषि ज्ञान केन्द्र बागलुङकी माटो बिज्ञ जमुना भण्डारीले बताइन् । माटोमा खनिज पदार्थको अबस्था भने सन्तोषजनक छ ।
‘यहाँ रासायनिक मलको प्रयोग नहुने रहेछ, किसानले प्राङ्गारिक उत्पादनका लागि बाहिरी बजारको मल प्रयोग गर्दैनन्’ भण्डारीले भनिन् ‘घरायासी गोबरमलको कम प्रयोग हुने गरेकाले खाद्यतत्वमा ह्रास भएको हुनसक्छ ।’ माटोमा कृषि चुन वा पोटासको प्रयोग गर्नुपर्ने अवस्था भने नरहेको उनले बताईन् । उनका अनुसार किसानले पहिलेको तुलनामा गाईबस्तु कम पाल्ने र गोबर मलको मात्रा समेत घटाएकाले माटोमा बिस्तारै खाद्यतत्व मासिएको हो । ‘७ वटा नमुनामा कृषि चुनको प्रयोग गर्नुपर्ने अवस्था देखियो’ भण्डारीले भनिन् ‘२६ ठाउँको माटोको नमुनामा अम्लिएपन धेरै देखिएको छ ।’
गाउँपालिकाले माटोको बास्तविक अवस्था थाहा पाउने र किसानलाई सोहीअनुसार कृषि उत्पादनमा लाग्न प्रेरित गर्ने भन्दै शिविर नै सञ्चालन गरेर माटो परीक्षण गरेको थियो । ३६४ नमुनामध्ये २६५ मा नाईट्रोजनको मात्रा कम रहेको पाईएको थियो । ८२ नमुनामा मध्यम र २ वटा नमुनामा अधिक नाईट्रोजनको मात्रा भेटिएको भण्डारीले बताईन् ।
त्यस्तै, १५४ नमुनामा फस्फोरसको मात्रा कम पाईएको छ । १७८ नमुनामा मध्यम र १७ माटोको नमुनामा अधिक फस्फोरस पाईएको छ । ९५ नमुनामा पोटासको मात्रा कम पाईएको थियोभने १८४ मा मध्यम र ७० नमुनामा पोटासको मात्रा अधिक रहेको थियो ।
ताराखोलामा मात्रै होईन बागलुङका अन्य पालिकामा समेत माटोमा खाद्यतत्व कमी हुँदै गएको तथ्यांक कृषि ज्ञान केन्द्रसँग छ । पछिल्लो एक बर्षमा जिल्लभर भएका माटोको नमुना परीक्षणमध्ये अधिकांशमा खनिजको अवस्था सन्तोषजनक हुँदा खाद्यतत्व भने ह्रास आएको पाईएको कृषि ज्ञान केन्द्रका बागबानी बिकास अधिकृत कुमार पुनले बताए ।
मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रमअन्र्तगत गलकोट नगरपालिकाको काँडेबाँसमा गरिएको ६ सय बढी नमुना परीक्षणमा पनी अधिकांशमा खाद्यतत्व कम भएको पाईएको थियो । बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा भएको परीक्षणमा पनि माटोको अवस्था उस्तै पाईएको माटो बिज्ञ भण्डारीले बताइन् ।
माटोमा खाद्यतत्व कमी आउँदा उत्पादनमा असर गर्छ । किसानले चाहेको जस्तो उत्पादन गर्न नसक्ने, उत्पादन कम हुँदा किसानको लागत मुल्य उठ्न कठिन हुने पुन बताउँछन् । माटोको अवस्था सन्तुलनमा राख्न बेला बेलामा माटोको परीक्षण गराई आवश्यक उपचारात्मक बिधि अपनाउनुपर्ने उनले सुझाए ।
‘माटोको प्राङ्गारिक तत्व र खाद्यतत्वका बिषयमा किसान जानकार हुनुपर्छ, तर हामीसँग सधैं जाँच गरिरहन प्रयोगशाला छैन्’ पुनले भने ‘भवन अभावका कारण प्रयोगशाला राख्न सकिएको छैन्, माटो जाँच गर्नुपर्छ भन्ने चेतना किसानसम्म पु¥याउने अभियानमै छौं ।’





