बागलुङ/अपांगता भएका व्यक्तिले आफ्नो अधिकार लडेर लिनुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले राज्यका नीति नियम र कानूनमा भएका प्रावधान पनि मागेर नपाइने भन्दै लडेर लिनुपर्ने धारणा राखेका हुन् ।
आइतबार भएको बागलुङ बहिरा संघको २२ औं साधारणसभामा सहभागिले अधिकारका लागि पटक पटक आबाज उठाउनुपर्ने धारणा राखे ।
गण्डकी प्रदेशसभाका सदस्य गोबिन्द नेपालीले अपांगता क्षेत्रको अधिकारका लागि आँफूले संसददेखि सडकमा पनि पहल गर्ने बताएका थिए । साधारणसभाको आइतबार उद्घाटन गर्दै नेपालीले कानूनी रुपमा अपांगको अधिकार सुरक्षित बनाउनुपर्ने धारणा राखे । उनले गण्डकी प्रदेशमा केही काम गर्नुपर्ने भएमा आफ्नो क्षमता प्रयोगमा ल्याउने पनि बताए ।
कार्यक्रममा राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले शिक्षामा भएको समावेशीकरण रोजगारीमा नभएको भन्दै राज्यले अपांगता
भएका व्यक्तिलाई रोजगारीको क्षेत्रमा ठगेको आरोप लगाए । उनले अधिकार मागेर नपाइने भन्दै लडेर लिन अपांगहरु तयार बन्नुपर्ने बताए । हरेक पालिका स्तरमा जोडिएर अधिकार र आर्थिक श्रोतसँग जोडिन अपांगता भएका व्यक्तिलाई उनले आग्रह गरेका थिए । ‘कैयौं कार्यक्रम अलपत्र परेर बजेट खर्च पनि नभएको अबस्था छ’ उनले भने, ‘हामी ती कार्यक्रममा जोडिन सकेका छैनौं ।’
कार्यक्रममा धौलागिरि बहिरा बिद्यालयका अध्यक्ष केवी राना मगरले अपांगता भएका व्यक्ति प्रति राज्यका हरेक निकाय उदार नभएको टिप्पणी गरे । राज्यले दिने र पाउनै पर्ने कार्यक्रम र बजेटका लागि पनि मुठी बर्जानुपर्ने अबस्था अन्त्य नभएसम्म अपांगको बिकास नहुने बताए ।
बहिरा संघ बागलुङका अध्यक्ष नलबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष अमृत शर्माको स्वागत र सचिव सुनिता शर्माको संचालन तथा पूजा किसान र मिरा बिष्टको दोभासेमा सम्पन्न साधारणसभाको कार्यक्रममा बहिरा बिद्यालयका प्रअ रेशम श्रीष, बहिरा संघका पूर्व अध्यक्ष सन्तोष पौडेल, बसन्तजंग राजभण्डारी, अपांग सरोकार संघकी अध्यष चिजा थापा, बागलुङ नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख सरस्वतीदेवी रेग्मी लगायतले मन्तव्य राखेका थिए ।





