बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिकाको बाह्रौ गाउँसभा आइतबार सम्पन्न भएको छ । हिउँदे अधिबेशनको रुपमा लिईने गाउँसभाले ११ वटा बिधेयक पारित गरेको छ । गाउँसभाले सामाजिक बिकास समितिले तयार पारेको शिक्षा बिधेयकलाई सर्वसम्मत पारित गरेको हो । काठेखोलाको स्थानीय शिक्षा बिधेयक पारित भएर शिक्षा ऐन तयार भएसँगै शैक्षिक क्षेत्रमा रहेका समस्या समाधान गर्ने बाटो खुलेको सामाजिक बिकास समितिका संयोजक खडक थापाले बताए ।
गाउँसभाले कृषि बिकास बिधेयक, आर्थिक ऐन, स्वास्थ्य तथा सरसफाई बिधेयक, वन, वातावरण तथा बिपत् व्यवस्थापन गर्न बनेको बिधेयक, तथ्यांक तथा अभिलेख व्यवस्थापन बिधेयक, कर तथा गैरकर राजश्व लगाउने उठाउने बिधेयक, पूर्वाधार बिकास बिधेयक, सुशासन समिति बिधेयक, प्रशासकीय कार्यबिधि बिधेयक, सहकारी ऐन संसोधन र आर्थिक कार्यबिधि ऐन नियमित गर्ने बिधेयक पारित भएको गाउँपालिकाका प्रबक्ता टिका संगम बिकले बताए ।
गाउँपालिकाले काठेखोलाका मुहानहरुबाट बागलुङ नगरपालिकामा आएको खानेपानीमा रोयल्टी लिने र गाउँपालिकाको आन्तरिक स्रोत बृद्धि गर्ने बिषय गाउँसभामा उठेको थियो । गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष राजु थापाले गाउँपालिकालाई सबै क्षेत्रको बिकास भएको पालिकाका रुपमा विकास गर्न योजनाबद्ध काम भैरहेको बताए । कृषि क्षेत्रको सुधार, पूर्वाधार बिकास, शिक्षा क्षेत्रको गुणस्तर बृद्धि, स्वास्थ्य क्षेत्रमा पूर्वाधार तथा जनशक्तिको व्यवस्थापनमा गाउँपालिकाले ध्यान केन्द्रित गरेको थापाले बताए ।
गाउँसभाले आर्थिक बर्ष २०७९/०८० को संशोधित बजेट पास गरेको छ । १२ औं गाउँसभाले पारित गरेको ५४ करोड ९१ लाख बजेटबाट थप भएको बजेट समेत संशोधन गरी ५७ करोड८७ लाख बजेट पारित गरेको छ । साथै, उक्त बजेटको पूर्ण कार्यान्वयनको चुनौती पुरा गर्न काम कारवाही चुस्त बनाउनुपर्ने बिषयमा छलफल भएको थियो ।
राष्ट्रपति शैक्षीक सुधार कार्यक्रम र गाउँपालिकाको सञ्चित कोषमा जम्मा भएको बजेटसमेत गरेर बजेटको आकार बढाईएको उपाध्यक्ष तेजबहादुर थापा तिलकले बताए । उनका अनुसार काठेखोला गाउँपालिकाले वडास्तरका योजनाहरुको मात्रै हिउँदे सभाबाट संसोधन गरेको छ । गाउँपालिकाले बिनियोजन गरेका कुनैपनि योजना तथा बजेट संसोधन गर्नुपर्ने अबस्था नरहेको थापाले जानकारी दिए ।





