बागलुङ/ मध्यपहाडी लोकमार्गअन्र्तगत घोडाबाँधेदेखि हटियासम्मको जीर्ण सडक मर्मतको काम सुरु भएको छ ।
यहाँका घुम्ती चक्ल्याउने, पहिरो खसेका स्थानमा पर्खाल लगाउने र सडक पेटीमा नाली निर्माणको काम थालिएको लोकमार्ग आयोजना कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले बताए ।
पाँच वर्षअघि नै कालोपत्रे भएको लोकमार्गको घोडाबाँधेदेखि गलकोट खण्डको २० किमी सडकखण्ड जीर्ण बनेको थियो । यहाँ नालीसमेत बनाइएको थिएन । नाली नहुँदा बर्षातमा बाढी पसेर सडक ध्वस्त भएको थियो । कतिपय स्थानमा खसेका पहिरोले सयौं रोपनी जमिन पुरिएको थियो । केही बस्ती जोखिममा परेका थिए ।
नालीबिनै कालोपत्रे गर्दा यो खण्डका अधिकांश घुम्ती पहिरो खसेका थिए । पहिलोले किसानको खेत र घरसमेत पुरेर जोखिम बनेको थियो । कतिपय स्थानीय बासिन्दाले बस्ती नै सर्नुपर्ने बाध्यता भएको गुनासो गरेका थिए । कालोपत्रे गरिएको दोश्रो वर्षदेखि अधिकांश घुम्ती र सडकमा पहिरो खसेको थियो ।
रगेनी, झाँक्रीस्थान, काफलठुटा, मौरीयालगायतका अधिकांस स्थानमा सडक अत्यन्त जीर्ण भएको थियो । पटक पटक वर्षात्मा गलकोट नगरपालिकाले सडक मर्मत गरेर सवारी चलाएको थियो । ‘आयोजनाको मुख ताक्दा धेरै समय लाग्ने भएर हामीले लगानी गरेर सवारी चलाएका थियौं,’ गलकोट नगरपालिका वडा नं. २ का अध्यक्ष हिमबहादुर भण्डारीले भने, ‘अब केही सुधार भए बर्षात्मा राहत होला ।’ नगरपालिकाको बजेट लगानी गर्दा बेरुजु हुने खतरा मोलेको उनले बताए ।
गत आर्थिक वर्षदेखिनै लोकमार्ग आयोजना कार्यालयले सडक मर्मतको काम थाले पनि पुरा भएको थिएन । गत कात्तिकदेखि भने नाली निर्माण, छेउमा पर्खाल बनाउने र खाल्डा पुर्ने काम सुरु भएको भण्डारीले बताए । ‘हामीले अहिले काम थालेका छौं, छिट्टै सक्छौं’ उनले भने, ‘वर्षात् धेरै भएकोले काम गर्न कठीन थियो, हिउँदमा काम सकेर सहज बनाउँछौं ।’ ५२ करोड रुपैयाँको लागतमा पुनर्निर्माण, मर्मत र सुधारका काम थालिएको उनले बताए ।
बिहुँ खण्डको सडकलाई भने अलपत्र हुन नदिन ठेकेदारको खोजी गरेको उनले बताए । यहाँको एक खण्डमा काम गर्दा गर्दै ठेकेदार सम्पर्कविहीन भएपछि काम रोकिएको छ । ‘असार मसान्तभित्र काम सक्छु भनेकोले सोही अनुसारको ताकेता गरेका छा,ैं’ भण्डारीले भने, ‘कतिपय जोखिमका क्षेत्र सहज बनेका छन् ।’ सदरमुकामदेखि अक्षेते जाने सडकको बोक्सेलगायतको खण्ड सहज भएको उनले बताए ।





