बागलुङ/ कहिले किरा लागेर त कहिले उत्पादन घटेर हैरान भएका किसानलाई यो बर्ष सुन्तला उत्पादनमा फाइदा भएको छ । अघिल्ला बर्षको तुलनामा यो बर्ष सुन्तलाको उत्पादन २० प्रतिशत बढेको छ ।
सुन्तलाको उत्पादन बढेकोमा किसान खुसी छन् । ‘अहिले धेरै र राम्रो सुन्तला फल्यो’ काठेखोला गाउँपालिका–६ का बालानन्द कंडेलले भने, ‘अहिले किरा पनि लागेको छैन, सबैले राम्रो फाइदा कमाउन सकिने भयो ।’
बागलुङ नगरपालिका–८ सिगानाका रामबहादुर खड्काले पनि गत बर्षभन्दा धेरै सुन्तला फलाएको बताए । गत बर्ष ३० क्विन्टल सुन्तला बेचेका खड्काको बारीमा यो बर्ष झण्डै ४० क्विन्टल सुन्तला फलेको छ । उनको बारीमा थप १ सय बिरुवा हुर्कदैछन् । दुई बर्षसम्म किरा लाग्ने समस्याले आजित भएका किसानले यो बर्ष राहत पाएको बताए ।
दुई बर्षसम्म पहेलिएर झरेका सुन्तला प्लाष्टिकमा पोको पारेर खाल्डो खनेर पुरेका उनीहरुले लाखौं रकम कमाउने गरी बेच्न सफल भएको बताए । कृषि ज्ञान केन्द्र बागलुङले तीन हजार थान प्लाष्टिक बितरण गरेर झरेका सुन्तला व्यवस्थापन गर्दा यो बर्ष उत्पादन बढेको हो । ‘यो बर्ष बर्षातले पनि सुन्तला उत्पादनमा साथ दियो, दुई बर्षसम्म किरा लागेका दाना व्यवस्थापन भयो’ ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराइले भने, ‘अहिले २० प्रतिशत बढी उत्पादन भएको छ । कतिपय स्थान बिशेषमा दोब्बर कमाई हुने अबस्था छ ।’ भट्टराइका अनुसार, यो बर्ष बागलुङको ६ सय ३५ हेक्टरमा सुन्तला लगाइएकोमा ३ सय ५५ हेक्टरले उत्पादन दिएको थियो ।
कुल ४ हजार ३ सय ८० मेट्रिकटन सुन्तला फलेर जिल्लाका किसानले कम्तिमा २४ करोड कमाउन सकेको प्रारम्भिक तथ्यांक केन्द्रले तयार पारेको छ । किसानले प्रतिकेजी ५५ रुपैयाँमा बेच्दा यो कमाइ भएको उनको अनुमान छ । यद्यपी बजारमा १ सयदेखि १ सय २० रुपैयाँ प्रतिकेजी सुन्तला बिक्री भैरहेको छ । गत बर्ष ३ सय ४५ हेक्टरमा मात्रै सुन्तला फलेको थियो । जहाँ ३ हजार ६ सय मेट्रिकटन मात्रै उत्पादन थियो । यो बर्ष १ हजार मेट्रिक टन वृद्धि भएको केन्द्रको तथ्यांक छ ।
गत बर्षको सुन्तलामा किरा लागेर बिक्री गर्न नसकेका किसानले यो बर्ष बोटबाटै बेचेको बताए । ‘अहिले घरै आएर व्यापारीले राम्रो मूल्य दिएर गए’ कंडेलले भने, ‘कोल्ड स्टोरमा पनि केही राखेका छौं ।’ यहाँ निर्मित कोल्ड स्टोरमा ३ महिना सुन्तला राख्दा ६ लाख बढी नाफा हुने उनले बताए । यहाँका किसानले १ सय १० मेट्रिकटन सुन्तला भण्डारन गर्ने व्यवस्था गरेका छन् ।
बागलुङ नगरपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रममार्फत सिगाना, भकुण्डे, तित्याङ लगायतका स्थानमा उत्पादन बढाउने लक्ष राखेका छन् । गत बर्षसम्म सिगानामा २ करोडको सुन्तला बिक्री हुने गरेको थियो ।





