बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कहालीलाग्दो बसाइँसराइ गाउँनै रित्तिने खतरा

कहालीलाग्दो बसाइँसराइ गाउँनै रित्तिने खतरा

गाउँमा विकास पुगेको छ तर गाउँ खाली हुने क्रम बढेको छ । भौतिक संरचनाहरु उपयोगविहीन हुने खतरा देखिएको छ ।


  • तारानाथ आचार्य
  • माघ १२ २०७९, बिहिबार
बागलुङको जैमिनी नगरपालिका–९ को पैञ्युथन्थाप गाउँ । यो गाउँमा पनि बसाईसराई उच्च छ । तस्विरः ढोरपाटन

बागलुङ/एउटै गाउँपालिकाबाट पछिल्लो पाँच महिनामा ५८ परिवार बसाइँ सरेका छन् । जिल्लाको काठेखोला गाउँपालिकाबाट पाँच महिनाको अवधिमा ५८ परिवारका २२१ जना सदस्य बसाइँ सरेका हुन् ।
गाउँपालिकाले तयार गरेको तथ्यांकअनुसार गत साउनदेखि पुस मसान्तसम्म अन्य व्यक्तिगत घटनाभन्दा बसाइँ सर्नेको तथ्यांक धेरै छ । आठ वटा वडा रहेको गाउँपालिकामा सबैभन्दा धेरै वडा नं. ५ बिहुँबाट बसाइँ सरेर बाहिर गएको गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले बताए ।

बिहुँबाट मात्रै पाँच महिनामा २२ परिवारका ८४ जना सदस्यले गाउँ छोडेका छन् । वैदेशिक रोजगारीमा रहेका र उच्च शिक्षाका लागि विदेशमा रहेका युवाहरुको परिवार धेरै बसाइँ सरेका छन् । वडा नं. ६ बिहुँबाट पनि बसाईं सर्नेको संख्या उच्च छ । यो वडाबाट पाँच महिनामा ११ परिवारका ४३ सदस्य बसाइँ सरेको तथ्यांक छ ।

गाउँपालिकाबाट बसाइँसराइ लिएर जानेबाहेक थातथलो छोडेर अन्यत्रै बस्नेहरुको संख्या पनि उच्च छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले फन्को मारेको साविकको बिहुँ गाविस (हाल वडा नं. ५ र ६)मा सदरमुकामदेखि छोटो दूरीका वडा हुन् । यहाँ सडक सुविधा छ । दुईवटा सामुदायिक क्याम्पस, विद्यालयहरु, खानेपानी, बिद्युत, स्वास्थ्य संस्था लगायतका संरचना तयार भएपनि गाउँ रित्तिन नछोडेको उपाध्यक्ष थापा बताउँछन् ।

‘अहिले राष्ट्रिय परिचय पत्र बनाउने कामका लागि पहिल्यै बसाइँ सरेकाले पनि घटना दर्ता गराए भन्ने हाम्रो आँकलन छ’, थापा भन्छन् ‘यस्तै अवस्थामा बसाईंसराईं रहने हो भने हामीले गाउँमा विकास पु¥याउने, गाउँ खाली हुने अवस्था हुन्छ, यसप्रति हामी चिन्तित र सचेत छौं ।’

काठेखोलामा सबैभन्दा कम बसाईंसराईं वडा नं. ६ लेखानीमा छ । यो वडाबाट पाँच महिनाको अवधिमा १ परिवारका तीन जना सदस्य मात्रै गाउँ छोडेर अन्यत्रै गएको थापाले जानकारी दिए । वडा नं. १ पालाबाट दुई परिवारका ८, वडा नं. २ भीमापोखराबाट ६ परिवारका १८, वडा नं. ३ धम्जाबाट पाँच परिवारका १९, वडा नं. ४ तंग्रामबाट २ परिवारका १२ र वडा नं. ७ रेशबाट ९ परिवारका ३४ जना बसाइँ सरेको गाउँपालिकाको तथ्यांक छ ।

बसाईं सर्नेहरुमा आर्थिक हिसाबले मध्यम वर्ग कम रहेको वडा नं. ५ का अध्यक्ष ज्ञामनाथ कँडेलले बताए । ‘कतिपय बसाईं सर्ने लहरको पछि लागेर गएका छन्, कतिपयको परिस्थितिले बसाइँसराइ गराएको छ’ कँडेलले भने ‘वैदेशिक रोजगारी बसाइँसराइलाई थप सहयोग गरिरहेको छ ।’ गाउँपालिकाको तथ्यांकअनुसार दैनिक ज्यालामजदुरी गरेर खानेहरु अवसरको खोजीमा सहरबजार झरेका छन्भने आर्थिक रुपले सक्षम भएकाहरु देशका ठूला शहर र तराइ बसाइँ सरेका छन् ।

‘उच्च शिक्षाका लागि विदेश जाने, उतै कार्ड बनाउने र परिवार लाने गरेका कारणले पनि बसाइँसराइको तथ्यांक बढ्दो छ’ उपाध्यक्ष थापा भन्छन् ‘हाम्रो गाउँ पालिका दुर्गम होइन् तर गाउँ छोड्नेहरुको कमी रहेन् ।’

गाउँपालिकामा पछिल्लो पाँच महिनामा ११ परिवार गाउँ फर्किएका छन् । बसाइँसराइ गरेर गाउँ छोडेका ११ परिवारका २८ सदस्य गाउँ फर्केको थापाले बताए । गाउँ फर्किनेको संख्या पनि अन्य वडाभन्दा बिहुँमा बढी छ । वडा ५ बिहुँमा ५ परिवारका १६ जना, वडा नं. ६ बिहुँमा ३ परिवारका ५ जना गाउँ फर्केका छन् । वडा नं. २ मा एक परिवारका ५ जना र वडा नं. ८ मा २ परिवारका २ जना गाउँ फर्किएका छन् ।

बसाइँसराइको तथ्यांक बढ्न थालेपछि गाउँपालिकाले आफ्ना नीति तथा कार्यक्रम र बजेटहरुमा सोही अनुसार तर्जुमा गर्ने योजना बनाएको छ । पछिल्लो तथ्यांकलाई आधार मानेर आफूहरुले छलफल थालेको उपाध्यक्ष थापा बताउँछन् । ‘अर्को पाँच महिना कुरेर हामीले तथ्यांक तयार गर्छौं, अबवथा यस्तै रहयो भने विचार गर्ने बेला आयो’ थापाले भने ‘बनेका संरचनाको उपयोग कसले गर्छ भन्ने चिन्ता हुनथाल्यो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->