बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गलकोट नगर अस्पताल बिस्तारको तयारी

गलकोट नगर अस्पताल बिस्तारको तयारी


  • ढोरपाटन संवाददाता
  • माघ १२ २०७९, बिहिबार

बागलुङ/गलकोट नगरपालिका ५ को हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरउन्नती गरेर नगर अस्पताल बनाइएको छ ।

नगर अस्पतालको सबै मापदण्ड पुरा गर्न नगरपालिकाले दरबन्दी पुरा गर्ने, आवस्यक पूर्वाधार र सामाग्रीको जोहो गर्ने तयारी गरेको छ । त्यसकालागि हालको जग्गा कम भएकोले २ रोपनी जमिन थप गर्ने तयारी समेत गरिएको वडा नं ५ का अध्यक्ष पवन हमालले बताए ।

१५ शैयाको अस्पताल बनाउने तयारी पछि यहाँको संरचनात्मक सुधार गर्नु पर्ने आबस्यकता भएको हमालले जानकारी दिए । त्यसकालागि कम्तिमा २ जना डाक्टर रहने व्यवस्थापन गरिएको छ । हाल दरबन्दीमा रहेका एकजना डाक्टरले मात्र सेवा प्रवाह नपुगेपछि अर्का डाक्टरको थप गर्न लागिएको हो । ‘छात्रवृत्ति करारमा आएका डा. राजेश पौडेललाई नगरपालिकाले समेत सेवा थप गरेर राख्ने तयारी छ’ उनले भने,‘नियमित डाक्टर बस्ने भएमा सेवाग्राहीमापनि विश्वास बढेर नगर अस्पतालको गरिमा बढ्छ ।’ गलकोट नगरपालिका वडा नंं ५ र ६ बाहेक ताराखोला गाउँपालिकालाई पायक पर्ने प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा स्तरउन्नती हुँदा गलकोट नगरपालिका भरका सेवाग्राहीले पनि सेवा लिन पाउनेछन् ।

न्गरपालिकाले स्वास्थ्य मन्त्रालयलाई ‘ओएनएम’ सर्भे गरिदिन पनि आग्रह गरेको छ । यो अस्पतालमा नियमित उपचार सेवा बाहेक पोष्टमार्टम सेवा पनि संचालनमा छ । नगरपालिका र अस्पतालमा जानकारी नभइ डाक्टर हिड्ने प्रवृत्ति अन्त्य गर्न पनि अधिकांस नगरबासीले माग गरेका छन् । अस्पतालमा अहिले नै दैनिक ५० देखि ६० बिरामी आउने गर्छन् ।

तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्दा यो केन्द्रपनि अस्पताल बनाउने निर्णय भएको थियो । तर नगरपालिकाले नयाँ भवन बनाएपछि मात्रै अस्पतालको स्वरुप बन्न लागेको हो । ‘तीन बर्ष अघिनै बोर्ड फेरेपनि सबै पूर्वाधार र जनशक्ति व्यवस्थापन गरेर बल्ल अस्पताल बनाउन लागेका छौं’ नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘भएका जनशक्ति र सामग्रीबाट आएका बिरामीको उपचार भने नियमित थियो ।’ अस्पतालकालागि कुनै पूर्वाधार र जनशक्ति मन्त्रालयबाट नआउँदै नगरपालिकाले आन्तरिक श्रोतबाट जनशक्ति राखेर संचालनमा ल्याएको हो ।

अस्पताल बन्नकालागि १५ बेड, एक जना विशेषज्ञ डाक्टरसहित ३ डाक्टर, सुरक्षित प्रसुतीकर्मी लगायतको स्वास्थ्यकर्मीको दरबन्दी चाहिन्छ । औषधी र एम्बुलेन्स लगायतका साधन पनि प¥र्याप्त बनाएर अस्पताललाई चुस्त बनाउन लागिएको नगरउप्रमुख फमलाल निउरेले बताए । अमित बिल्डर्सले बनाएको केन्द्रको नयाँ भवनले अस्पताल संचालनमा सहज भएको हो । अस्पताल भएपनि चाहिने अन्य पूर्वाधारकालागि भने जग्गा अभाव भएपछि नजकिको जग्गा व्यवस्थापन गर्न नगरपालिकाले चासो दिएको हो ।

मन्त्रालयका प्राविधिक आएर संभाव्यता अध्ययन प्रतिवेदन तयार पारेपछि मात्रै सरकारले दरबन्दी र उपकरण दिने प्रक्रिया ‘ओएनएम’ हो । ‘ओएनएम सर्भे भयो भने पाइने सेवासुविधाबाट गलकोट अस्पताल राम्रो चल्छ’ स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देबप्रकास घिमिरेले भने ‘आवस्यक स्थानमा सेवा प्रवाहमा चाहिने तालिमलगायतको सेवा कार्यालयले सहयोग गर्छ ।’ कार्यालयले अहिले सम्म औषधी र अन्य उपकरणमा पनि साथ दिएको थियो । केही समयदेखि यहाँ फेयरमेड फाउण्डेसन र ग्रामीण स्वास्थ्य सुधार परियोजनाले पनि उपकरणमा साथ दिएको छ । यहाँ कम्तिमा एकजना विशेषज्ञ डाक्टर सहित २ मेडिकल अधिकृत, १ जना हेल्थ असिस्टेन्ट, ३ जना अनमी, २ जना अहेव, २ नर्स रहने व्यवस्था छ । हाल ५ बेड संचालन भएको अस्पताललाई १५ बेड बनाउन लागिएको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->