बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

भव्य विमानस्थल, अकल्पनीय त्रासदी र कहालीलाग्दो उद्धारकार्य

भव्य विमानस्थल, अकल्पनीय त्रासदी र कहालीलाग्दो उद्धारकार्य

दुर्घटनाले कसैको तीन पुस्ता सकाएको छ, कसैको सुहाग पुछेको छ भने कसैको सिउँदो खोसेको छ । चीरकालसम्म यो त्रासदी पोखराले भुल्ने छैन ।


  • ढोरपाटन संवाददाता
  • माघ १३ २०७९, शुक्रबार

पोखरा/माघे संक्रान्तिको दिन पोखराले एउटा त्रासदीपूर्ण घटना व्योहो¥यो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सुरु भएको १५ दिनभित्रै यति एयरलाइन्सको विमान दुर्घटना हुँदा देश नै स्तब्ध बन्यो । अन्तर्राष्ट्रिय रुपम नै नेपालको हवाइ सुरक्षाको चासो उब्जियो । युरोपियन युनियन एभिएसन सेक्युरिटी काउन्सिलले नेपाललाई सन् २०१३ यता कालोसूचीमा राख्दै आएको छ ।

कालोसूचीमा राख्नुको कारण चाहिँ हवाइ सुरक्षा, दुर्घटनापछिको उद्धारलगायतका क्षेत्र छन् ।

पछिल्लो वर्षमात्रै नेपालमा दुइवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन । विदेशी एयरलाइन्सले चासो राख्ने र नेपालभित्रकै निजी विमान कम्पनीले पनि अन्तर्राष्ट्रिय उडानमा चासो राखिरहेको समयमा अकल्पनीय विमान दुर्घटना हुँदा चालकदलका चारसहित ६८ यात्रुको ज्यान गएको छ ।

यति एयरलाइन्सको पछिल्लो विज्ञप्ती अनुसार कुल ७२ यात्रुमध्ये ६० जनाको शव परिवारलाई हस्तान्तरण गरिएको छ । ६ जनाको शव सनाखत भई हस्तान्तरणको प्रक्रियामा छ । चारजनाको सनाखत हुन सकेको छैन भने दुईजना अझै हराइरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीका अनुसार खोजीकार्य अहिले पनि जारी रहेको छ । तर, दुर्घटनास्थलबाट ७२ जनाकै शरीरका अंगहरु छुट्टाछुट्टै पठाइएकोले डिएनए परीक्षणबाट सबै यात्रुको पहिचान खुल्ने र हराएको÷नहराएको भन्न सकिने उनले बताए ।

अवतरणको लागि विमानस्थलको धावनमार्ग भन्दा करिब डेढ किलोमिटर तल रहेको सेती खोँचमा विमान बजारिन पुगेको थियो । पोखरा महानगरको मध्यभागमा बजारिन पुगेको विमानको उद्धारकार्यलाई लिएर पनि यतिबेला अनेकौँ आक्रोश र चर्चा भइरहेका छन । इयुले नेपाली आकाश कालोसूचीमा राख्नुको एउटा कारण ‘दुर्घटनापछिको उद्धार’ पनि हो ।

जर्मन मूलका अमेरिकी नागरिक माइकल कोबल्डले रोटरी क्लवका डिष्ट्रिक गभर्नरले उधृत गर्दै घटना भएकै दिन लेखेका छन,‘… दुईवटा फायर ट्रक (वारुण यन्त्र) नै पोखराका लागि पर्याप्त छन । तर, आज पोखराको मध्यभागमा यतिको विमान दुर्घटना हुँदा एउटा ट्रक पनि पुग्न सकेको छैन .. ।’

उनै कोबल्डले त्यसपछि पनि सामाजिक सञ्जाल फेसबुकमा लगातार उक्त दुर्घटनालाई लिएर नेपालको सुरक्षा प्रणालीदेखि सरकारमाथि पनि अनेक टिप्पणी गरेका छन ।

दुर्घटनाको दिन वारुणयन्त्र नपुगेका भने होइनन् । पोखरामा नै घरदेखि रेष्टुरेन्टमा पानी आपूर्ति गर्ने साना ट्यांकरहरुले भने पानी ल्याउँदै आगो निभाउने प्रयास गरिरहेका थिए । नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयसँग भने पाँचवटा ठूला खालका फायर इन्जिन (वारुणयन्त्र) छन । तीमध्ये एउटा पुरानो विमास्थल र बाँकी चारवटा भने नयाँ विमानस्थलमा लगिएका छन ।

दुर्घटनास्थल पुरानो विमानस्थलबाट करिब २ सय मिटर र नयाँ विमानस्थलबाट भने डेढ किलोमिटर दक्षिणमा छ । सरकारी अधिकारीहरुका अनुसार दुर्घटनाको १२ मिनेटमा विमानस्थलका वारुणयन्त्र पुगेका थिए । दूरी नजिक भएतापनि नयागाउँपट्टिका साँघुरा सडक, त्यसमा पनि सडकमै पार्किङ गरिएका सवारी, सीताराम कोलोनीको साँघुरो पुल, र दुर्घटना हेर्न जाने मानिसका कारण सुरक्षा निकायदेखि वारुणयन्त्रसमेत बाटोमा नै अलपत्र परेका थिए ।

मानिसको भिड छिचोल्न नसकेपछि कास्की प्रशासनले रेडियोमा सूचना नै जारी गर्नुपरेको थियो । ट्राफिक प्रहरीले पृथ्वीचोकको बसपार्कबाटै सवारी रोकेतापनि मानिसको भीडका कारण संवेदनशील सवारी समेत जाममा परे । उद्धारका लागि खटिएका सुरक्षाकर्मी नै जाममा पर्दा विमानमा लागेको आगो निभाउनै पनि समय लाग्यो भने उद्धारमा पनि ढिलाइ हुन पुग्यो ।

साना क्षमताका ट्यांकरहरुसँग त्यो आगो निभाउन सक्ने क्षमता थिएन । बरु स्थानीयहरु चाहिँ उछिट्टिएका शवहरु संकलनमा सहयोग गरिरहेका थिए । अनि धेरैचाहिँ, तस्वीर र भिडियो खिच्नमा । दुर्घटना स्थल नजिकै पुगेर हेर्नेको भीडका कारण सुरक्षा संयन्त्रका चारै निकायलाई झनै चुनौती पनि थपियो । पछि, सुरक्षा निकायले निश्चित क्षेत्र तोकेर सर्वसाधारणलाई हटाएपछि मात्रै उद्धारको कार्य बिना अवरोध सञ्चालन भएको थियो ।

नयाँ विमानस्थल बनेपछि पृथ्वी राजमार्गमा सवारी चाप घटाउन भनेर महानगरले विमानस्थलबाट अमरसिंह चोक हुँदै रामबजार, मितेरी पुल, पुरानो विमानस्थल पछाडिको बाटो हुँदै मुस्ताङचोक निस्किने सडकलाई वैकल्पिक मार्गको रुपमा अगाडि सारेको थियो । तर, एउटा फायरट्रकले भने सहजै तरिकाले त्यो मार्ग छिचोल्न सकेन । महानगरभित्रको वैकल्पिक मार्गको रुपमा खोजिएका यी सडक र अकल्पनीय त्रासदीको दुर्घटनामा उद्धारकार्यको लागि सहज हुन्छ त भन्ने प्रश्न पनि उठेको छ ।

अप्ठ्यारो भूगोल पनि उद्धारको लागि झनै ठुलो समस्या हुन पुग्यो । पोखरा विमानस्थल प्रमुख विक्रमराज गौतम भन्छन,‘हामीसँग चारवटा फायर ट्रक छन । उद्धारको लागि तत्कालै पठाइएको हो । मेरो रिपोर्टमा १२ मिनेटमा पुगेको भन्ने छ । साँघुरो बाटो, सडकमै पार्किङ र मान्छेको भीडका बाबजुद फायरट्रक छिटै पुगेका हुन्’, उनले भने ।

तर, उद्धारकर्मी र उपकरण पुगेतापनि आगो निभाउन भने निकै समय लाग्यो । माथिबाट हेर्दा केही नदेखिने झन्डै सेतीको खोँचमा ३०० मिटर तल विमानको संरचनामा आगो दन्किरहेको थियो । फायर ट्रक त थिए, तर आगो र धुवाँको राप र मुस्लोले कोही पनि तल के भइरहेछ भनेर हेर्न सक्ने स्थितिमा थिएनन् । घटनास्थल भन्दा त्यही तीन सय मिटर माथिबाटै फायरट्रकबाट पानीको फोहोरा फालिएको थियो ।
जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रजिअ अनिलकुमार शाही भन्छन,‘आगो निभाउन नै समय लाग्यो, हामी नपुगेर होइन फेरि । त्यो ठाउँमा हाम्रो साधनको क्षमता पनि अलिक पुगेन । पम्पले जति स्पिडमा पानीको फोहोर फ्याँक्थ्यो, तर खोँचमा भएको हुनाले कम प्रभावकारी बन्न पुग्यो ।’

दुर्घटनाको दिन विमानमा लागेको आगो निभाउनमात्रै समय लागेन, खोँचका कारण सुरक्षा निकायका उद्धारकर्ताहरुले भीरमा डोरी बाँधेर शव खोज्नुपरेको थियो । भेटिएका शवहरु पनि त्यसरी नै डोरीको सहायताले सुरक्षाकर्मीले सडकसम्म ल्याए । दुर्घटनास्थलमा पानी पनि भएका कारण दक्ष गोताखोरहरु खटेर शवको खोजतलास गरे । क्रेनको सहायता लिएर पनि सुरक्षाकर्मीहरुले शवको खोजीकार्य गरिरहेका थिए ।

जसोतसो माथि ल्याइएका ती शवहरुलाई एम्बुलेन्सले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पु¥याए । तर, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोष्टमार्टम भवनमा भने शवलाई आवश्यक पर्ने फ्रिजहरु पुगेनन् ।

भौगर्भिक विषयविज्ञ श्रीकमल द्विवेदीले यस घटनाले मोबाइल अस्पतालको आवश्यकता खड्किएको बताए । ‘एम्बुलेन्स खाली जान्छ, एम्बुलेन्स गएर बिरामी लिएर आउँछ, तर त्यहाँ अलिक गम्भीर घाइतेलाई त्यहीँ नै प्राथमिक उपचार गरेर अस्पताल लैजाँदा ज्यान बच्थ्यो कि । प्यारामेडिक्सको टिम पनि गएर उपचार गर्ने सिस्टम हाम्रो छ जस्तो मलाई लाग्दैन ।’

उद्धारको क्रममा खटिएका स्थानीयहरुले दुइजनाको स्वास चलिरहेको बताएका थिए । त्यस्ता घाइतेहरुलाई घटनास्थलमा नै स्वास्थ्यकर्मीहरुले प्राथमिक उपचार, अक्सिजनका व्यवस्था गर्न पाएको खण्डमा घाइते बाँच्न सक्ने उनको टिप्पणी छ ।

‘यो एउटा शिक्षा पनि हो । यसमा भएका कमजोरीहरु सुधारेर, सिकेर कसरी तयारी गर्न सकिन्छ, कसरी कम क्षति हुन सक्छ भन्नेतिर शिक्षा लिनुपर्छ’,उनले भने,‘अहिले मोबाइल हस्पिटलका कुराहरु पनि आएका छन । यी कुराहरु गर्न सकिन्छ कि भन्नेतर्फ सोच बनाउनुपर्छ भन्ने जस्तो मलाई लाग्छ ।’

यति एयरलाइन्सको विमान दुर्घटना भएको १२ दिन बितिसक्दा पनि अझै सबैको शव भेटिएको छैन । यो दुर्घटनाले कसैको तीन पुस्ता सकाएको छ, कसैको सुहाग पुछेको छ भने कसैको सिउँदो खोसेको छ । दुधेबालक देखि वृद्ध उमेरहरुका सेतीखोँचमा विलिन भएका छन । दुर्घटनाले मानवीय, भौतिक क्षति जति पु¥याएको छ, त्यत्ति नै नेपाली आकाशले सुरक्षाका चुनौतीको सामना गर्नुपरेको छ ।

यो दुर्घटनाले, देशकै ठुलो महानगर भएपनि मध्यसहरमा विमान दुर्घटना हुँदा समयमा नै सवारी उपकरण पु¥याउन कठीन भएका कारण महानगरले पनि आफ्ना पूर्वाधारको बारेमा ‘सोच’ भनेर शिक्षा दिएर गएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->