बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बडिगाडमा फैलिँदो क्षयरोग

बडिगाडमा फैलिँदो क्षयरोग

शंकास्पद २३७ को खकारको नमूना संकलन गरी परीक्षण गर्दा ८ जनामा संक्रमण देखियो ।


  • ढोरपाटन संवाददाता
  • माघ १४ २०७९, शनिबार

बागलुङ/ बडिगाड गाउँपालिकामा क्षयरोगीका बिरामी बढ्दै गएका छन् । पछिल्लो पाँच महिनामा मात्रै बडिगाडमा ३६ जना क्षयरोगका बिरामी पहिचान भएका हुन् ।

अघिल्लो आर्थिक वर्षमा जिल्लाभर क्षयरोगीको संख्या १ सय ८५ थियो । तीमध्ये ५६ जना बडिगाडका थिए । साउन यता बिभिन्न तहबाट गरिएको परीक्षण तथा पहिचानका क्रममा जिल्लाभर ८७ जना नयाँ संक्रमित पहिचान हुँदा बडिगाडमा मात्रै ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए ।

‘पालिका अनुसारको तथ्यांक केलाउँदा संख्या घटेको छ तर बडिगाडमा भने बढ्दो छ’, घिमिरेले भने ‘बिरामीको मृत्युदरसमेत बडिगाडमा बढी छ ।’ गत आर्थिक वर्षमा जिल्लाभर ६ जना क्षयरोगका बिरामीको मृत्यु हुँदा बडिगाडका चार जना थिए ।

लामो समयदेखि स्वास्थ्य कार्यालयले गरेको नमुना परीक्षणमा बडिगाडमा क्षयरोगका बिरामीको संख्या बढ्दो भेटिएपछि गाउँपालिकाले सक्रिय खोजपड्ताल विधिद्वारा बिरामी पहिचान थालेको थियो । बिरामीको आधिकारिक तथ्याङ्क संकलनको लागि पालिकाले संचालन गरेको क्षयरोगी पहिचान कार्यक्रमअन्तर्गत ८ जना बिरामी फेला परेको बडिगाड गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र केसीले जानकारी दिए ।

पालिकाले पत्ता लगाएका बाहेक स्वास्थ्य कार्यालय, धौलागिरी अस्पताल बागलुङ र पोखरा बिभिन्न अस्पतालमा पुगेका बिरामीको समेत तथ्यांक संकलन गर्दा ३६ जना नयाँ बिरामी थपिएको पत्ता लागेको हो । क्षयरोगका बिरामी बढि भएका गाउँपालिकाका वडा नं. २, ४, ५ र ६ मा अहिले पालिकाको स्वास्थ्य शाखाले विशेष अभियान नै संचालन गरेर क्षयरोगीको खोजी र शंकास्पद २३७ को खकारको नमूना संकलन गरी परीक्षण गरेको केसीले बताए ।

‘हामीले क्षयरोगीको खोजपड्ताल कार्यक्रमअन्तर्गत पुराना क्षयरोगी तथा उनीहरुको सम्पर्कमा आएका शंकास्पद बिरामी, उनीहरुका परिवार र छरछिमेकीको खकारको नमूना संकलन गर्दा ८ जनामा संक्रमण पुष्टि भयो’ केसीले भने ‘यो संख्या बडिगाडमा देखिएको डरलाग्दो हो । तर बडिगाडमा किन क्षयरोगीको संख्या बढ्दो छ भन्ने खोजीमै छौं ।’

बडिगाडको स्वास्थ्य शाखाले पछिल्लो समय अन्य वडामा ‘एकिकृत ग्रामिण मोबाईल स्वास्थ्य कार्यक्रम’अन्तर्गत क्षयरोगीसंगै अन्य विभिन्न स्वास्थ्य जाँच गर्दै आएको छ । बडिगाडमा क्षयरोगी भेटिए पनि वडा नं. ३ र ९ मा भने संक्रमित भेटिएका छैनन् ।

फोक्सोको क्षयरोगीले वर्षमा १०÷१२ जनामा रोग सार्न सक्छन् । बडिगाडका–२, ४, ५ र ६ मा फोक्सोकै क्षयरोगी धेरै भेटिएकाले खोजपड्ताललाई सक्रिय बनाउनुपरेको केसीले बताए । संक्रमण पुष्टि भएका बिरामीलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा नियमित औषधि खुवाउन थालिएको केसीले बताए । ‘स्वासप्रश्वासको माध्यामबाट फैलिने भएकाले हामीले बिरामीलाई सजग रहन र नियमित औषधि सेवन गर्न लगाएका छौं’, केसीले भने ।

गाउँपालिकाले वडा नं. २, ५, ७ र ९ मा प्रयोगशाला सञ्चालन गरेर क्षयरोगसंगै मधुमेह र अन्य विभिन्न स्वास्थ्य परिक्षण गर्ने गरेको छ । गाउँपालिकाले पहिचान गरेका र औषधि उपलव्ध गराएकाबाहेक पोखरा, काठमाण्डौं लगायतका अस्पतालमा क्षयरोग पहिचान भएका बिरामीको संख्या पनि धेरै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । अस्पतालहरुमा पहिचान भएका बिरामीले सोही अस्पतालबाट परामर्श र औषधि लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->