बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

पोखरा विमान दुर्घटना: एक जना होइन अझै दुई जना बेपत्ता

पोखरा विमान दुर्घटना: एक जना होइन अझै दुई जना बेपत्ता


  • ढोरपाटन संवाददाता
  • माघ १५ २०७९, आइतबार

पोखरा / पोखरामा भएको यति एयरको विमान दुर्घटनामा अझै २ जनाको शव भेटिएको छैन् । सुरक्षाकर्मीले ७१ जनाको शव फेला परेको बताएपनि त्रिवि शिक्षण अस्पतालमा चेकजाँचको क्रममा ७० जनाको मात्रै शव रहेको खुलेको छ।

ती मध्ये पोखरामा पोष्टमार्टम गरेर २२ वटा शव आफन्तलाई बुझाइएको थियो। काठमाडौं ल्याइएकोमा ४९ भने पनि ४८ वटा मात्रै शव भएको खुलेको छ। घटनास्थलबाट दुई वटा पोकामा ल्याइएका टुक्रा छुट्टै शव नभएर तीनै व्यक्तिका शवका टुक्रा रहेको अस्पतालले जनाएको छ। अस्पतालको यो रिपोर्टसँगै विमान दुर्घटनामा परेका दुई जना हराइरहेको खुलेको हो।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक मेडिसियन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले भने, ‘पोकामा रहेका पार्ट छुट्टै शव होइनन्। ती यीनै शवका छुटेका भाग हुन्। यसलाई छुट्टै शव मान्न सकिँदैन। दुई जना बेपत्ता रहेको जानकारी हामीले दिइसकेका छौं।’

काठमाडौं ल्याएका मध्ये ३९ वटा शवको सनाखत गरेर आफन्तको जिम्मा लगाइएको छ। दुर्घटनामा परेका १५ जना विदेशिकै सनाखत भइसकेको छ। उनीहरु मध्ये १३ जनाको अव जिम्मा लगाइसकेको अस्पताल प्रशासनले जानकारी दिएको छ। दुई वटा शवको पहिचान भइसके पनि लैजान बाँकी छ।

यस्तै एक नेपालीको शव सनाखत भइसके पनि आफन्तले लगेका छैनन्। दुर्घटनामा श्रीमान श्रीमती नै परेको भएपनि श्रीमानको मात्रै शवको सनाखत भएपछि आफन्तले अर्को शवको सनाखत भएपछि सँगै लैजाने भन्दै नबुझेका हुन्।

त्रिवि शिक्षण अस्पतालमा ल्याइएका मध्ये ६ वटा शवको सनाखत भएको छैन। ती शव डीएनए गर्न नेपाल प्रहरीको ल्याबमा पठाइएको छ।

गत माघ १ गते बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको विमान सेती खोँचमा दुर्घटना भएको थियो। दुर्घटनामा चालकदलका चारसहित ७२ जना परेका थिए।

ती मध्ये ७० जनाको मात्रै शव भेटिएको छ। अन्यको खोजि कार्य जारी रहेपनि फेला पार्न सकेको छैन। नेपाली सेना र सशस्त्र प्रहरीले अहिले पनि बेपत्ताको खोजि जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->