बागलुङ/ बागलुङमा सञ्चालित निशुल्क आँखा परीक्षण शिविरबाट १ सय ३६ जनाले आँखा परीक्षण गराएका छन् । प्रेस सेन्टर नेपालको १९ औं स्थापना दिवसको अवसरमा विद्यामन्दिर माध्यामिक विद्यालयमा आयोजना गरिएको शिविरमा निशुल्क आँखा परीक्षण गराएका हुन् ।
विद्यामन्दिर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुको आँखा परीक्षण गरिएको थियो । उनीहरुमध्ये ११ जनाको आँखामा कम देख्ने र टाढाको नदेख्ने लगायतका समस्या पहिचान भएको नेत्र सहायक गणेश महतोले बताए । उनीहरुलाई आवश्यक उपचारका लागि सिफारीस गरिएको छ ।
शिविरको उद्घाटन गर्दै नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष ज्ञामनाथ गैरेले स–साना बालबालिकमा हुने आँखाको समस्या खोजी गरेर प्रेस सेन्टरले रचनात्मक काम गरेको बताए । उनले पत्रकारीताका अलावा पत्रकार र पत्रकारका संघ संगठनहरुले सामाजिक प्रभाव पार्ने खालका कामहरु गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, प्रेस सेन्टरका केन्द्रीय सदस्य मुकेशचन्द्र राजभण्डारी, विद्यामन्दिर माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक छविरमण रेग्मी, पत्रकार महासंघका कार्यबाहक अध्यक्ष नविन शिशिर बिक, प्रेस सेन्टर बागलुङका संस्थापक बद्रिप्रसाद शर्मालगायतले बोलेका थिए । प्रेस सेन्टर बागलुङका अध्यक्ष थम्मन थापाको अध्यक्षता, केन्द्रीय सदस्य कोपिला कँडेलको स्वागत र सचिव अनिस खातिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्रिभुवन पौडेल पत्रकारिता पुरस्कार कोष घोषणा ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेलको स्मृतिमा प्रेस सेन्टर नेपाल बागलुङ शाखाले ‘त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार कोष’ घोषणा गरेको छ । प्रेस सेन्टर नेपालको १९ औं स्थापना दिवसको अवसरमा उक्त पुरस्कार कोष घोषणा गरिएको हो ।
जिल्ला शाखाले सञ्चालन गर्नेगरी पुरस्कार कोष घोषणा भएको अध्यक्ष थम्मन थापाले बताए । जिल्लामा क्रियाशिल एक जना पत्रकारलाई हरेक वर्ष पुरस्कार प्रदान गर्नेगरी कोष स्थापना भएको हो । प्रेस सेन्टर नेपालकै कामका लागि काठमाडौं पुगेर पोखरा फर्किने क्रममा एती एयको जहाज दुर्घटनाहुँदा गत माघ १ गते पौडेलको निधन भएको थियो ।
‘कोषको रकम कति हुने भन्ने विषय टुंगो लगाइएको छैन्, एक लाख माथिको कोष स्थापना गर्ने योजना अनुसार कोष घोषणा गरिएको हो’, थापाले भने ‘दाताहरुकै सहयोगका भरमा हामीले कोष बनाउन लागेका हौं, धेरै साथीहरु यसमा सकरात्मक हुनुहुन्छ ।’ देश विदेशमा रहेका नेपालीबाट उक्त कोषका लागि सहयोग जुट्नेक्रम सुरु भएको थापाले बताए ।





