बागलुङ/सचेतना अभाव र वेवास्ताका कारण बागलुङमा कुष्ठरोगीको संख्या बढेको पाइएको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार अघिल्ला वर्षको तुलनामा चालु वर्षको पहिलो ५ महिनामै कुष्ठरोगी बढेको देखिएको हो ।
आइतबार भएको अन्तक्र्रियामा स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले लान्छना लगाउने काम हटाउन सकेमा कुष्ठरोगीको संख्या घटाउन सकिने बताए । भेदभाव घट्दा खुल्ने दर बढेर रोग निवारण गर्न सकिने स्वास्थ्यकर्मीको भनाइ छ । उनले कुष्ठरोग निवारणको तयारी भइरहेको पनि बताए ।
यसअघि पनि २०६६ सालमा रोग निवारण भएको घोषणा गरिएको थियो । १३ वर्षपछि बागलुङमा कुष्ठरोगीको संख्या बढ्न थालेपछि जनस्वास्थ्यको चासो समेत बढेको छ । दुइ वर्षअघि ३ जना र गत वर्ष ६ जना गरी ९ जना सक्रिय संक्रमित रहेकोमा चालु वर्षको पहिलो ५ महिनामै थप ७ जना बिरामी थपिएर बागलुङमा संक्रमितको संख्या १६ पुगेको क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए ।
गत वर्षको १२ महिनामा बागलुङमा ६ जनामा यो रोग भेटिएको थियो । थप भएका संक्रमितमा बडिगाड गाउँपालिकामा ३ जना, गलकोटमा २ जना तथा जैमिनी नगरपालिका र बागलुङ नगरपालिकामा एकएक जना छन् । अघिल्लो वर्ष ढोरपाटन जैमिनीमा संक्रमित भेटिएका थिए ।
खोजी अभियान अझै जारी रहेको घिमिरेले जानकारी दिए । कुष्ठरोग लागेकाहरुले नियमित औषधी सेवन गरेमा अन्यमा नसर्ने घिमिरेले जानकारी दिए । कुष्ठरोगप्रति सामाजिक भेदभाव बढी भएकोले त्यसबारेमा सचेतना ल्याउनुपर्ने शर्माले बताए । व्याक्टेरियाबाट सर्ने रोग भएकोले धार्मिक अन्धविश्वास बारे भ्रम चिर्दै नियमित औषधि खान सचेतना ल्याउनुपर्ने समेत उनको भनाइ छ । घिमिरेका अनुसार औषधि खान थालेपछि सर्ने दर ९९ प्रतिशत घट्छ । बिरामीले आफ्नो समस्या निको हुनकालागि मात्रै ६ महिना देखि एक वर्ष औषधि खानुपर्छ ।
शरीरमा लाटो फुस्रो दाग देखिएमा कुष्ठरोगको संभावना रहन्छ । त्यस्ता मानिसले समयमै जचाउनुपर्ने घिमिरेले जानकारी दिए । कुष्ठरोग लागेपछि शरिरका अंगले घाउ भएकोसमेत थाहा नपाउने भएकोले अन्य संक्रमण पनि बढी हुन्छ । कुष्ठरोग लाई जनस्वास्थ्यको साझा समस्याको रुपमा लिएर फेरी उपचार र खोजी अभियान थाल्नुपर्ने उनले बताए । आगामी २०८२ सम्म कुष्ठरोग शुन्यमा झार्ने कार्यालयको लक्ष छ ।





