बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङमा शहीद दिवस मनाइयो

बागलुङमा शहीद दिवस मनाइयो


  • ढोरपाटन संवाददाता
  • माघ १७ २०७९, मंगलबार

बागलुङ/राणा विरोधी आन्दोलनमा फाँसीको सजाए पाएका सहिदको संझनामा मनाइने शहीद दिवस बागलुङमा पनि बिभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्द ठकुरीले राणा विरोधी आन्दोलनमा १९९७ साल माघमा फाँसीको सजाए पाएका थिए । त्यस्तै २००७ सालको वीरगंज आन्दोलनमा शहदात प्राप्त गरेका थिरबम मल्ललाई पनि नेपाल सरकारले शहीदको पद दिएको छ । उनीहरुको स्मृतिमा बागलुङमा श्रद्दाञ्जली सभा, प्रभातफेरी र प्रवचन कार्यक्रम गरिएको हो ।

सोमबार बागलुङस्थित शहीद पार्कमा जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा कर्मचारी समेतले दिवस मनाएका हुन् । वडा नंं २ को समीक्षालय पार्कबाट सुरु भएको प्रभातफेरी वडा नंं १ को सहिद पार्कमा पुगेर कार्यक्रममा परिणत भएको थियो । उक्त कार्यक्रममा नेपाल प्रहरीले सलामी दिएको थियो ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले सहिदले देखाएका बाटोमा हिँड्न सकेमा देशमा सुशासन र कानूनी राज्य स्थापना हुने बताए । साथै उनले शहीदको योगदानका कारण नेपाली जनताले स्वतन्त्रता पाएको भन्दै हरेक नागरिकको अधिकार रक्षाकालागि शहीदको योगदान रहेको बताए ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले नेपालको राजनीतिक र स्वतन्त्रताको इतिहासमा शहीदको योगदान महत्वपूर्ण भएको बताए । बागलुङ नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीको संचालन र निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

२०५४ सालमा गठन भएको बागलुङ नगरपालिकाको संस्थापकहरुले रामरेखा सामुदायिक वन क्षेत्रमा जग्गा लिएर शहीद पार्क निर्माण गरेका थिए । पार्कमा ५ जना शहीदको शािलक राखिएको छ । यहाँ हरेक वर्ष शहीद दिवस मनाउने गरिएको छ ।

शहीद दिवसकै अवसरमा बागलुङमा विद्यालयस्तरीय खुला दौड प्रतियोगिता कार्यक्रम समेत सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सोमबार भएको दौड प्रतियोगितामा ५६ जना विद्यार्थीले भाग लिएका थिए । मालढुंगादेखि बाङगेचौरसम्म तीन हजार मिटर दूरीको दौड प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा छात्रतर्फ ४० जना र छात्रातर्फ १६ जनाले भाग लिएका थिए ।

छात्र तर्फ काठेखोला गाउँपालिका वडा नंं ७ स्थित रेश नुन्थला माविका बादल कार्कीले १३ मिनेटमा उक्त दूरी पार गरेर प्रथम भए । यहाँकै सिगाना मावि तित्याङका सुजन कार्की द्वितीय र अमर आदर्श माविका अमृत घर्ती तृतीय भए । छात्रातर्फ विद्यामन्दिर माविकी ज्ञानदेवी रोकाले सोही दूरी २० मीनेटमा पार गरेर प्रथम भइन् । सिद्धार्थ शिक्षा सदन माविकी एन्जिला लिम्बु द्वितीय र विद्यामन्दिरकै रुपदेवी रोका तृतीय भइन् ।

गण्डकी प्रदेश खेलकुद परिषदले विजयी खेलाडीका लागि पुरस्कार तथा प्रमाणपत्रको व्यवस्थापन गरेको थियो । खेलमा प्रथम हुनेलाई ५ हजार, द्धितीय हुनेलाई ३ हजार र तृतीय हुनेलाई २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको समितिका अध्यक्ष कुमार खड्काले बताए । विजयी खेलाडीलाई पुरस्कार र सम्मान गरिएको थियो । खेलकालागि एम्बुलेन्स र अन्य व्यवस्थापकीय काममा साथ दिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रतिनिधिलाई पनि सम्मान गरिएको थियो । मालढ्ुंगामा पुगेर नगर उपप्रमुख राजु खड्काले दौड प्रतियोगिताको उद्घाटन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->