बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कुष्ठरोगीलाई सामाजिक बहिष्करणको त्रास

कुष्ठरोगीलाई सामाजिक बहिष्करणको त्रास

कुष्ठरोगीलाई समाजले हेर्ने दृष्टिकोण नबदलिएका कारण बागलुङका कुष्ठरोगीहरु मुकुण्डो लगाएर स्वास्थ्यकर्मीकहाँ पुग्छन् ।


  • ढोरपाटन संवाददाता
  • माघ १९ २०७९, बिहिबार

बागलुङ/ राति १२ बजेको समय । महिनामा एक÷दुई पटक स्वास्थ्यकर्मीको घर वरीपरी घुम्छन् मुकुण्डो (अनुहार पहिचान नहुने गरी लगाइएको कवच) लगाएका मानिस । झट्ट हेर्दा छरछिमेकी तर्सिने खालको हुलिया ! नचिनिने गरी को मानिस गाउँमा आएको होला ? के कामले आएको होला ? पहिले–पहिलेले स्वास्थ्यकर्मी नै झस्किन्थे । तर, उनी किन स्वास्थ्यकर्मीको घर पुगेका हुन् भन्ने स्वास्थ्यकर्मी र स्वयं मुकुण्डोधारी बिरामीलाई मात्र जानकारी हुन्थ्यो ।

बागलुङको एक गाउँमा हरेक महिना देखिने दृष्य हो यो । कुष्ठरोग संक्रमण रहेको पुष्टि भएका बिरामी औषधि लिनका लागि जाँदासमेत आफ्नो पहिचान लुकाउनका लागि मुकुण्डो प्रयोग गरेर त्यहाँ पुगेका हुन् । कुष्ठरोगीलाई समाजले हेर्ने दृष्टिकोण नबदलिएका कारण बागलुङमा बिरामीहरु अहिले पनि पहिचान लुकाउन बाध्य छन् । पहिचान नखुलाएका ती बिरामीले रातको समयमा मात्रै स्वास्थ्यकर्मीबाट औषधि लिन्छन् ।

रोगको प्रकृति र बिरामीको गोपनीयतालाई ध्यानमा राखेर स्वास्थ्यकर्मीले पनि स्वास्थ्यचौकीबाट औषधि घरमै पु¥याउँदै आएका छन् । राति औषधि लिन आउँदा बिरामीको अनुहार देखिँदैन् । स्वास्थ्यकर्मीको छरछिमेकै बिरामी भए पनि औषधि सकिँदाको दिन छुट्टै नम्बरबाट फोन आउँछ । नचिनिने हुलियाका मानिस रातको समयमा घरमा आउँछन् ।

अन्य माध्यमबाट बिरामीको निश्चित गरेर स्वास्थ्यकर्मीले औषधि दिँदै आएका छन् । बिरामीसँग उहाँको व्यक्तिगत रुपमा स्वास्थ्यकर्मी र बिरामी भएर पहिचान भएको छैन । ‘मैले बिरामीलाई पहिचान गरेको भन्नु भएको छैनन्,’ आफ्नो पहिचान खुलाउँदा बिरामीको समेत पहिचान खुल्ने भएकाले नाम उल्लेख नगर्ने सर्तमा स्वास्थ्यकर्मीले भने,‘बिरामीले नियमित औषधि खानुभएको छ, त्यो ठूलो कुरा हो ।’

कुष्ठरोग लागेको बिरामीलाई समाजले भेदभाव र घृणा गर्ने त्रासले बिरामीहरु खुल्न नचाहेको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठरोग निरीक्षक देवप्रकाश घिमिरेको भनाइ छ । जिल्लामा रहेका अधिकांश बिरामी भेदभावकै डरले खुल्न चाहन्न् । औषधि सेवन पछि रोग पूर्णरुपले निको हुने भए पनि बिरामीहरु मानसिक त्रासमा औषधिसमेत खुल्ला रुपमा सेवन गर्न नसकेको उनको भनाइ छ ।

बागलुङमा पछिल्लो पाँच महिनाको अवधिमा सातजना कुष्टरोगी बिरामी पहिचान भएका छन् । यो तथ्याङ्क अघिल्लो एक वर्षभित्र पहिचान भएका बिरामीको हाराहारी हो । अघिल्लो वर्ष नौजना बिरामी पहिचान भएका थिए । चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म सातजना नयाँ बिरामी भेटिएका छन् । यो तथ्याङ्क निकै चिन्ताजनक रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताए ।

‘कुष्ठरोग समस्याको रुपमा रहेको छ,’ कार्यालय प्रमुख शर्माले भने,‘बिरामीको पहिचान र औषधिको नियमित सेवनमा समस्या छ ।’ सामाजिक विभेदमा पर्ने डरले बिरामीहरु रोग लुकाएर बस्ने गरेको शर्माको भनाइ छ ।

जिल्लाको बडिगाड गाउँपालिकामा सबैभन्दा बढी कुष्ठरोगका बिरामी पहिचान भएका छन् । क्षयकुष्ठ अधिकृत घिमिरेका अनुसार बडिगाड गाउँपालिकामा तीन, जैमिनी नगरपालिकामा दुई, गलकोट नगरपालिकामा एक र बागलुङ नगरपालिकामा एक नयाँ बिरामी पहिचान भएका छन् । जिल्लामा पुराना र नयाँ गरी कुल १२ जना कुष्ठरोगका बिरामीले हाल नियमित औषधि सेवन गदै आएका छन् ।

माइकोब्याक्टेरीयम लेप्रे नामको जीवाणुबाट लाग्ने यो रोग उपचार नगरेको कुष्ठरोग विरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्छ । सुरूकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरूलाई सर्दैन । समयमा नै उपचार गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुन्छ र अपांगता नहुने कार्यालय प्रमुख शर्माको भनाइ छ ।

रोग नियन्त्रणको लागि कार्यालयले उच्च रोगभार भएका स्थानीय तहमा परिवार तथा छिमेकीहरूको सम्पर्क परिक्षण, घरधुरी परीक्षण, छाला शिविर, अपांगता रोकथाम, उपचार , जटिलताको व्यवस्थापन, प्रेषण सेवा, स्वयम हेरचाह, परामर्श सेवा, पुनस्र्थापनाको लागि आय आर्जन, स्वयम् हेरचाह समूह गठन, सहयोग सामग्री वितरण, सीपमुलक तालिम, आरोग्य आश्रममा रहेका प्रभावितहरूलाई खान– बस्न व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->