पोखरा/ गण्डकीका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहाकी बुहारीलाई जागिर दिन भन्दै प्रदेशकै एक मन्त्रालयले विभागीय कार्यालयलाई तोकादेश पठाएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले मातहतको यातायात व्यवस्था कार्यालय नवलपुरलाई पत्र लेखेर कम्प्युटर अपरेटर पदमा व्यवस्थापन गर्न भनेको छ । मन्त्रालयले कम्प्युटर पदमा नियुक्त हुने कर्मचारीको नामसहित कार्यालयलाई नै सेवा करारमा नियुक्त गर्न भन्दै पत्र पठाएको हो ।
मन्त्रालयले आफ्नै मातहतको कार्यालयलाई पत्र लेखेर जागिर खुवाउन भनेकी व्यक्ति भने गण्डकीकै मन्त्रीकी बुहारी हुन । प्रदेशका कानूनमन्त्री गाहाकी बुहारी सजिना थापालाई मन्त्रालयले पत्र लेखेर नियुक्त गर्न लगाएको हो । उनको शैक्षिक योग्यता १०+२ र कम्प्युटरको अफिस प्याकेज रहेको मन्त्रालयले लेखेको पत्रमा उल्लेख छ ।
गत माघ ६ गते मन्त्रालयले लेखेको पत्रमा, “गण्डकी प्रदेश सरकारबाट वार्षिक स्विकृत अस्थायी दरबन्दी तेरिज अनुसार त्यहाँ कार्यालयमा रहेको अस्थायी कम्प्युटर अपरेटर पाँचौ तहको रिक्त पदमा तपशील अनुसार योग्यता भएका निवेदकलाई नियमानुसार कार्यालयबाट नै सेवा करारमा व्यवस्थापन हुन आदेशानुसार अनुरोध छ ।” लेखिएको छ ।
मन्त्रालयका प्रवक्ता उपसचिव टिकाराम पौडेलले आफूले पत्र लेखेको स्विकार गर्दै निवेदन आएका कारण व्यवस्थापन गर्न भनिएको जानकारी दिए ।
थापाले यसअगाडि माघ ३ गते मन्त्रालयमा करार नियुक्ती पाउँ भन्दै हस्तलिखित निवेदन पेश गरेकी थिइन ।
मन्त्रीलाई सम्बोधन गरेर लेखिको निवेदनमा भनिएको छ, “नवलपरासी जिल्ला (ब.सु.पूर्व ) यातायात कार्यलयमा कम्प्युटर अपरेटर पद रिक्त रहेको बुझिएकोले उक्त पदमा काम गर्ने मेरो योग्यता पुग्ने भएका हुँदा सो पदमा करारमा नियुक्तिको लागि सवि नम्र यो निवेदन पेश गरेको छु । उक्त पदमा नियुक्ति आएमा आफुलाई दिएको जिम्मेवार साथ पुरा गर्ने प्रतिबद्धता रहने छ ।”
यो निवेदनमा तत्कालीन समयमा भौतिक मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री खगराज अधिकारीले तोक लगाएका छन ।
सोही निवेदन आएका कारण मन्त्रालयले कार्यालयलाई पत्र लेखेको पौडेलले जानकारी दिए । भौतिक पूर्वाधार मन्त्रालयले नै कर्मचारी भर्नाको लागि ‘सेवा करारमा प्राविधिक जनशक्ति छनौट सम्बन्धि कार्यविधी, २०७६’ पनि बनाएको छ । तर, यो कार्यविधीले सीमित पदमात्र चिन्ने उनले बताए ।
“हाम्रो कार्यविधीले इन्जिनियर, सबइन्जिनियर र ल्याब टेक्निसियनलाई मात्रै कार्यविधी अनुसार नियुक्त गर्ने भनेको छ । कम्प्युटर अपरेटर पदलाई विज्ञापन आवश्यक पर्दैन, केन्द्रले पनि त्यस्तो गर्दैन । त्यो अस्थायी पद हो । एक वर्षका लागि स्विकृत हुन्छ । अस्थायी दरबन्दी वार्षिक रुपमा मन्त्रिपरिषदले स्विकृत गरेको हुन्छ ।” उनले भने ।
मन्त्रालयमा ठाउँ खाली नभएकै कारण कार्यालयलाई प्रक्रिया पु¥याएर व्यवस्थापन गर्न भनिएको उनको भनाई छ ।
उनले भने, “कार्यालयलाई सबै अधिकार दिएको छ, निवेदन लिएर आउँछन, तोक नलगाएर त भएन नि । मन्त्रालयमा खाली भएन, खाली भएसम्म आवश्यक प्रक्रिया पु¥याएर कार्यालयलाई व्यवस्थापन गर्न भनेका हौँ ।”
यातायात व्यवस्था कार्यालय नवलपुरका प्रमुख टेकबहादुर घर्तीले मन्त्रालयको पत्र आएको तर नियुक्ति भइनसकेको बताए ।
“उहाँहरुले आदेश गर्नुभएको छ, प्रक्रिया पु¥याएर नियुक्त गर्ने हो । आदेशले मात्रै हुँदैन ।” उनले भने । मन्त्रालयका उपसचिव पौडेलले विज्ञापन आवश्यक नभएको बताएपनि घर्तीले भने विज्ञापन गर्नुपर्ने बताए ।
“विज्ञापन नै मन्त्रालय आफैले गरेर पठाइदिएको भए हुन्थियो, यसअगाडि विज्ञापन गरेर नै आउँथे । विज्ञापनमार्फत आएकाहरुलाई स्वतः नियुक्ति दिने गरिएको थियो ।” उनले भने, “उहाँ (सजिना) अहिले काम सिक्ने हिसाबले काम गर्नुभएको छ ।”
कार्यालयमा कर्मचारी अभाव छ । यातायातमा लाइन उत्तिकै छ, कर्मचारी हुनुहुँदैन ।
“नियुक्त गर्नैपर्ने हो कि होइन मैले मन्त्रालयलाई पत्र लेखेर सोध्नेछु, मौखिक त सोधेको छु, अहिलेलाई नियुक्त नगर्नुहोस भन्नुभएको छ ।” उनले भने ।





