बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

खानेपानीका ठूला योजना नबन्दा सानामा झगडा

खानेपानीका ठूला योजना नबन्दा सानामा झगडा

लिफ्ट खानेपानी परियोजना १० वर्षसम्म पनि सम्पन्न नहुँदा समस्या ।


  • ढोरपाटन संवाददाता
  • माघ २० २०७९, शुक्रबार

बागलुङ/बर्षौदेखि उनीहरुले पानी बाँडेर खाए । तर पछिल्लो समय समुदायमा त्यही पानीको श्रोत विवाद बनेको छ । ओडारचौर र रमेटारका उपभोक्ताबीचको विवादले अनावश्यक दशौं लाख खर्च गरेको संरचनासमेत पुरिएको छ ।

खानेपानी आयोजनाका उपभोक्ताले सुख्खा समयमा पानीको बहाव कम हुन लाग्दा रमेटारका बासिन्दाले एउटै मुहानमा अर्को ट्यांकी बनाइदिएपछि दुई गाउँको झगडा सुरु भएको थियो । तत्काल ट्यांकी निर्माण नरोके तोडफोड गरेर भत्काइदिने ओडारचौरबासीले चेतावनीपछि बनेको ट्यांकी पनि पुरिएको छ ।

२०३३ सालमा दर्ता भएको मुहानमा ट्यांकी बनाएर एउटै लाइनबाट ओडारचौर र रमेटारबासीले पानी खाएका थिए । दर्ता भएको समितिलाई थाहै नदिइ ट्यांकी बनेपछि दुई पक्षको झगडा सुरु भएको थियो ।

‘हामीले दर्ता गरेर बनाएको योजनाबाट उनीहरुलाई पानी दिइरहेका छौं, हामीलाई थाहा नदिइ हाम्रै मुहानमा जोडेर पानी एकतर्फी लैजाने तयारी भएपछि काम रोक्न बाध्य भयौं’, ओडारचौर खानेपानी आयोजनाका अध्यक्ष द्रोणराज आचार्यले भने ‘बिबाद रोक्न नयाँ बनेको ट्यांकीलाई काम नगर्ने गरी रोकिएको छ ।’ रमेटार खानेपानी उपभोक्ता समितिका अध्यक्ष भूमिराज शर्माले भने प्रदेशको बजेट आएकोले नयाँ ट्यांकी बनाएर पानी ल्याउन लागेको बताए । ‘हाम्रो छुट्टै सातआठ घरमा पानीको समस्या छ, पुरानै खाइपाइ आएको मुहानलाई ट्यांकी बनाएका हौं’, उनले भने, ‘हामीमाथि अन्याय भएको छ ।’

डिभिजन कार्यालयका इन्जिनियर इश्वरीप्रसाद शर्माले योजना सम्झौता नै नभएकोले उक्त खर्च कार्यालयले दिन नसक्ने बताए । विवादपछि उक्त ट्यांकी पुरिएको हो ।
हल निर्माणाधीन रमेटार लिफ्ट आयोजना बनाएमा खानेपानीका सबै समस्या समाधान हुने स्थानीयले बताए । निर्माणाधिन योजना दुवैबस्ती माथी पु¥याएर बितरण गर्ने भएकोले सबैलाई प्रसस्त पुग्ने स्थानीय ऋषिराम गोतामेले बताए । बर्षातमा प्रसस्त पानी हुने, हिउँदमा सानो भएकोले विवाद भएको उनले बताए ।

१२ करोड लागतको रमेटार लिफ्ट खानेपानी आयोजना सुरु भएको ७ वर्ष भयो । हरेक वर्ष ४० देखि ५० लाख बजेट आउँदा त्यो पनि बनेर उपभोक्ताले राहत पाउने संभावना धेरै परको विषय बनेको छ । टुक्रे बजेट आउँदा योजना समयमा सम्पन्न नभएकोले सानो सानो मुहानमा उपभोक्ताको झगडा भएको उनले बताए । ‘आयोजना सम्पन्न भए कसैको झगडा हुने थिएन’ बानपा ४ का अध्यक्ष कुमारविक्रम क्षेत्रीले भने, ‘अभावले गाउँलेबीच झगडा निम्तिएको हो, पानी भए केही हुँदैन ।’ तीन वर्षअघि बानपा ४ को कुडुलेमा दुइ गाउँबीचको झगडामा खानेपानीको पाइपलाइन नै काटेर फाल्ने काम भएको थियो ।

सदरमुकाम बागलुङ बजारका विभिन्न टोलमा ठूला आयोजना बन्न नसकेपछि सानो सानो मुहानमा यस्ता झगडा भैरहेका छन् । तित्याङबाट ल्याएको खानेपानी मुहानमा पनि बिबाद छ । सदरमुकाममा ल्याएको भुँदीखोलाको मुहानमापनि विवाद भएकोले वर्षांैदेखि सदरमुकाममा पानी अभाव हँुदा लिफ्ट आयोजना थालिएको थियो । उक्त आयोजना पनि दशवर्ष सम्म बनेको छैन ।

बागलुङ नगर सहलगानी खानेपानी आयोजनाले काम नसक्दा सयौं उपभोक्ता मारमा छन् । साना मुहान र धारोमा नियमित झगडा हुने गरेको हो । हाल १९ किमी पश्चिमको भुँदी खोला र रेशखोलाबाट ल्याएको पानी खुवाएको नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नयाँ योजना सक्न दवाव दिएपनि ठेकेदार पक्ष गम्भीर छैन । सहलगानीको आयोजना निर्माण सम्पन्न भएपछि मात्रै नियमित पानी बितरण गर्न सकिने समितिका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताए । ‘पुरानो पाइपलाइन जीर्ण भएको छ, ठाउँठाउँमा बिग्रेको छ, बनाउँदा हैरान भएका छौं’ श्रेष्ठले भने, ‘आयोजना निर्माणमा ढिला भएकोले पानी बितरण भनेजस्तो छैन ।’

उपभोक्ता समितिको ३० प्रतिशत र संघीय सरकारको ७० प्रतिशत लगानी गर्ने गरी २०७० सालमा थालिएको आयोजना अलपत्र हुँदा यस्ता समस्या आइरहेका हुन् । नजिकैको काठेखोलाबाट लिफ्ट गरेर प्रति सेकेण्ड ७० लिटर पानी ल्याउने लक्ष्य छ । डेढ अर्व लगानीमा यो आयोजना निर्माण भइरहेको हो । यी सबै घटनाले ठूला आयोजना समयमा सक्न दवाव भएको बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->