बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ट्राफिक व्यवस्थापनमा चुनौतीका चाङ

ट्राफिक व्यवस्थापनमा चुनौतीका चाङ

जनशक्तिको र उचित स्थानको अभावका कारण ट्राफिक व्यवस्थापन कठीन ।


  • ढोरपाटन संवाददाता
  • माघ २० २०७९, शुक्रबार

बागलुङ/ कसैको घर बनाउनु प¥यो भने निर्माण सामग्री सडकमै थुपारिन्छ । जथाभावी थुपारेको सिमेन्ट, रड र गिट्टीबालुवाले सवारी आवागमन मात्र हैन, पैदल यात्रीलाई पनि बाधा पु¥याईरहेका छन् । सरकारी भवन बनाउँदा होस् वा व्यक्तिका घर बनाउँदा पनि निर्माण सामाग्री बागलुङ बजारको सडकमै थुपार्ने गरिएको छ ।

त्यसमाथी सडकमै सवारी साधनको पार्किङले बागलुङ बजार अस्तव्यस्त बन्दै गएको छ । सरकारी काम लिएर आएकाहरुले पनि सडकमै सवारी पार्किङ गर्छन् । सदरमुकाममा रहेका कुनैपनि सरकारी कार्यालय भित्र सेवाग्रहीले पार्किङको सुविधा पाउँदैनन् । जिल्ला प्रशासन कार्यालयदेखि नेपाल टेलिकम, सबै कार्यालयमा काम गर्ने कर्मचारीको मात्रै सवारी साधन कार्यालय परिसरमा राखेपछि गेट बन्द गरिन्छ । सेवाग्रहीका सवारी राख्ने ठाउँ नभएर होईन कार्यालयहरुले सेवाग्रहीका सवारी पार्किङ गर्नका लागि अनुमति दिँदैनन् । मानिस छिर्ने ठाउँ राखेर ढोका बन्द गर्ने चलन वर्षांैदेखि छ ।

सदरमुकाममा रहेका ठूला सप्लायर्सहरुका ढुवानी गर्ने ट्रकहरुले कार्यालय, विद्यालय समय हेर्दैनन् । सडकनै जाम हुनेगरी जुनकसुकै बेला बजार प्रवेश गर्छन् । साँघुरो सडकनै जाम हुनेगरी आउने ठूला ट्रकले अन्य सवारी आवागमनमा बाधा पु¥याउँदै आएका छन् । पार्किङ स्थलको अभावमा सवारी साधन सडक छेउमै पार्किङ गर्नुपर्ने सर्वसाधारणको बाध्यता छ । कतिपय सवारीले त यी र यस्तै बहानामा सडकनै अबरोध हुनेगरी पार्किङ गर्छन् । उल्लेखित समस्याबाहेक जिल्लाभर सवारी व्यवस्थापनको जिम्मेबारी लिएको ट्राफिक प्रहरीसँग कयौं चुनौतीको चाङ छन् । यीनै चुनौतीलाई चिर्न नसक्दा जिल्लाभरको ट्राफिक व्यवस्थापन र दुर्घटनाको जोखिम न्यूनीकरणमा ट्राफिक प्रहरी दवावमा छ ।

जिल्लाका ८५ वटै वडामा सवारी साधन चल्छन् । सबै स्थानबाट सदरमुकाममा सवारी फर्कन्छन् । त्यसैले सडक सुरक्षाको मुख्य जिम्मेबारी पाएको ट्राफिक प्रहरीको कार्यक्षेत्र जिल्लाभरी नै हो । सहरउन्मुख दशवटा पालिका मुकाममा ट्राफिक व्यवस्थापन चुनौती बन्दै गएको छ । जिम्मेबारी पाएको ट्राफिक प्रहरी कार्यालयसँग १५ जनाको मात्रै दरवन्दी छ । सदरमुकाम बागलुङ बजारकै बग्रेल्ती समस्याहरुमा आँखा पु¥याउन मात्रै ८÷९ जना जनशक्ती चाहिन्छ । बाँकी जनशक्तिले जिल्लाका सबै क्षेत्रको ट्राफिक व्यवस्थापन गर्न कठिन भइरहेको ट्राफिक प्रहरी प्रमुख, बरिष्ठ प्रहरी नायव निरीक्षक मीनबहादुर खड्काले बताए ।

सदरमुकामबाट भौगोलिक हिसावले टाढा रहेका निसीखोला, तमानखोला गाउँपालिका लगायतका क्षेत्रमा त मोटरसाइकल हेलमेट नलगाइ चलाउने, सिकारुकै भरमा सवारी चल्नेजस्ता समस्याको चाङ छ । सदरमुकाम आउने रातो प्लेटका सवारीले यात्रु बोक्नेदेखि क्षमताभन्दा धेरै यात्रु बोक्ने समस्या प्रहरीको नजर पुगेको छ । तर यो समस्या घटाउन कठीन छ । ‘जिल्लामा पार्किङदेखि साँघुरा सडकको समस्या रहेछ, सबै समुदायको साथ नहुने हो भने ट्राफिकले मात्रै समस्या सुल्झाउन सक्दैन्’, खड्का भन्छन् ‘दुर्घटना भए ट्राफिकको कमजोरी देखिन्छ ।’ तर
दुर्घटना हुन नदिनका लागि सबैको भूमिका हुनुपर्ने उनले बताए ।

जनशक्तिको र उचित स्थानको अभावका कारण ट्राफिक व्यवस्थापन कठीन रहेको खड्काले बताए । तीव्र गति नियन्त्रण, नियम विपरीत सवारीका गतिविधि नियन्त्रण, दुर्घटनापछिको उद्धार लगायतमा ट्राफिक प्रहरी गम्भीर भएर लाग्ने उनले बताए ।

ट्राफिक नियमसम्बन्धी सचेतना समुदायस्तरमा नपुग्नु अर्को ठूलो चुनौती हो । सचेतना बिस्तारका लागि सामाजिक र सरकारी अन्य क्षेत्रको सहयोग आवश्यक रहेको खड्काले बताए । ‘गत साउन यता जिल्लामा ७ वटा दुर्घटनामा २ जनाको मृत्यु भएको छ, १२ जना घाइते भएको तथ्यांक छ’, खड्काले भने ‘यो दुर्भाग्य हो, सडक दुर्घटनाबाट कसैले ज्यान गुमाउन नपरोस् ।’

दुर्घटनाको उद्धारका बेला प्रयोग हुने एम्बुलेन्सको भाडासमेत महंगो पर्दा त्यसको भार ट्राफिक प्रहरीको काममा आएको उनको भनाइ छ । सदरमुकामको ट्राफिक व्यवस्थापनका लागि यसअघी प्रहरी र बागलुङ नगरपालिकाले प्रयास गरेको भएपनि ति प्रयासहरु सफल हुँन सकेका छैनन् । ट्राफिकले एकतर्फी नो पार्किङको व्यवस्थापन गरेर चारवर्षदेखि बजार व्यवस्थापनको प्रयास भने गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->