बागलुङ/ बागलुङ कालीका भगवती मन्दिरको जीर्णोदार भैरहेको छ । साथै, यहाँका केही संरचनाको पुननिर्माण पनि भएको छ ।
मन्दिरमा कलात्मक मुर्ति कुद्ने काममा भने यहाँका एक पाका कलाकारले अगुवाइ गरेका छन् । ६० बर्षे भीमबहादुर बिकले मल्लकालिन कलाको काम थालेका हुन् । मन्दिर व्यवस्थापन समितिले काठमाण्डौं, ललितपुर तथा भक्तपुरसम्म पुगेर कलाकार खोज्दा भनेजस्तो नभेटेपछि बानपा ३ मै बिकलाई भेटेर काम लगाएको समितिका सदस्य भरत खड्काले बताए ।
बिकले महंगा कलाकारभन्दा सामान्य कर्मीकै रुपमा काम गरिरहेका हुन् । कालीका मन्दिरमा छाएको तामाबाट पानी चुहिएपछि जीर्णोदार थालिएको हो । यहाँ निर्माण गर्न लागिएको हवनकुण्ड, भजन गृह लगायतका संरचनामा उनले कलात्मक बुटा भर्न लागेका हुन् ।
उनले बर्षौदेखि काठको कलाकारितामा काम गर्दै आएका थिए । सयौं बर्ष अघिको मल्लकालिन कलाकार जस्तै उनले मेहेनत गरेर काष्ठकलाको नमूना देखाएका छन् । आफ्नो सीपमा उनी कहिल्यै घमण्ड गर्दैनन् । बाबुबाट सिकेको कला तीन भाइलाई पनि सिकाएका छन् । अहिले उनका तीन भाइले कुनै न कुनै काम गर्न सक्छन् ।
बागलुङ नरपालिका–३ का भीमबहादुर बिकले बाबुबाजेको बिरासत जोगाउन १२ बर्षको उमेरबाटै काम थालेका थिए । त्यो कला परिस्कृत बन्दै गएको छ । ५८ बर्षको उमेरमा आइपुग्दा उनले बनाएका मठमन्दिर र मुर्तिहरुको गणनासमेत गर्न सक्दैनन् । ‘सयौं मुर्ति कुदेको छु, काष्ठकलाबाट बनाएका टुंडाल हेर्न कतिपय मन्दिरमा सयौं मानिस पुग्छन्’ बिकले भने, ‘पुर्खाको इतिहास सुनेपछि मलाई अन्य पेशामा जानै मन लागेन ।’
२०२५ सालतिर बिद्यालय भर्ना भएर पढेकोले उनले सरकारी जागिर खान सक्थे । तर, पेशालाई नै रोजे । बाबु मोतीलाल पनि मुर्तिकार थिए । मोतीलाल मात्र हैन भीमबहादुरका ६ वटा पुस्ता काष्ठकलामा रहेको इतिहास छ ।
बिकको पुस्ताले पाल्पाको ऋषिकेश मन्दिर बनाएको थियो । पाल्पाका तत्कालिन राजा मणीमुकुन्द सेनले कालीगण्डकी स्नान गर्न ऋषिकेशको मुर्ति भेटेर मन्दिर बनाउन लगाएको इतिहास छ । उक्त मन्दिरमा काठको काम र मुर्तिं कुद्न भीमबहादुरका ६ पुस्ता अघिका जिजुबाउ गएको किंवदन्ती छ ।
हात काटिएर फर्केका उनका जिजुबाबुले छोराछोरीलाई काष्ठकला सिकाएपछि निरन्तर उनीहरुको परिवार यो पेशामै रमाएको उनले बताए । माइलो सूर्य, साइलो नरबहादुर र कान्छा इन्द्रलेपनि कलाकारिता सिकेका छन् ।
मल्लकालिन टुंडाल जस्तै काठमा मुर्ति कुद्नेहरु अहिले राजधानीबाहेक अन्यत्र भेटिंदैनन् । तर उनीहरुले बनाएका कलाबाट मल्लकालकै झल्को दिन्छ । ‘बागलुङ, पर्वत र म्याग्दीका आर्कषक मठमन्दिरका काष्ठकला भीमबहादुर र उनका बाबु मोतीलालले बनाएका रहेछन्’ सामाजिक अगुवा देबबहादुर श्रेष्ठले भने, ‘अहिले पनि बजारका सामुमहाजनको घरमा ढोका कुद्न उनकै खोजी हुन्छ ।’ गैरागाउँका विश्वकर्मा भनेपछि धेरैले अहिले पनि सम्मान गर्ने श्रेष्ठले बताए ।
देवीदेवताको मुर्ति, जंगली जनावर, कलस, यौनलिला जस्ता मुर्ति काठमा कुँद्न भीमबहादुरलाई कसैले भेट्दैन । हरेक टुंडालमा इतिहास लेखाउन सकिने उनले बताए । आधुनिक शैलीका ढलान घर बनेपनि आर्कषक ढोका राख्ने चाहना हुनेले उनलाई बोलाउने गरेका छन् । कलात्मक ढोका बनाउन सालको अग्राख चाहिन्छ । कच्चा काठमा उनले कला भर्दैनन् ।





