बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

परिवर्तनका लागि योगदान गरौ : प्रदेशसभा सदस्य थापा

परिवर्तनका लागि योगदान गरौ : प्रदेशसभा सदस्य थापा

तीन पत्रकार पुरस्कृत, युवा क्रियाशिल पत्रकारिता पुरस्कार स्थापना ।


  • सृष्टि पौडेल
  • माघ २३ २०७९, सोमबार

बागलुङ/नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य लिलबहादुर थापाले आर्थिक र सामाजिक परिवर्तनका लागि सबैको सकारात्मक योगदान हुनुपर्ने बताएका छन् । कसै न कसैको योगदानबिना देशमा परिवर्तन भएको इतिहास नरहेको भन्दै थापाले विकास र परिवर्तनका लागि सबै नेपाली नागरिकको भुमिका उत्तिकै रहने बताए ।

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसका अवसरमा बागलुङ शाखाले आयोजना गरेको पुरस्कार वितरण तथा घोषणा कार्यक्रममा बोल्दै थापाले बागलुङको विकासका लागि सबै दल, नेता र जनप्रतिनिधिको उत्तिकै भूमिका रहेको बताए । विकास र परिवर्तन आफैंबाट सुरुवात नभएसम्म अरु कसैले नगर्ने उनको धारणा थियो ।

देशको राजनीतिक र सामाजिक बेथितिको विषयमा खुलेर लेख्न र आलोचना गर्न उनले पत्रकारहरुलाई आग्रह गरे । ‘पत्रकारिताले प्रश्न गर्न छोड्यो भने त्यो दुर्भाग्य हुन्छ’ थापाले भने ‘यदि म आफै हिलोमा छु, फोहोरी भएँ भने फोहोरी होस भनिदिए त्यसले राजनीतिक र सामाजिक जीवनमा सुधार ल्याउँछ ।’

नेकपा एमालेका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य गोविन्द नेपालीलले पत्रकारितामा आलोचनात्मक चेत हुनुपर्ने बताए । पछिल्लो समय पत्रकारिता क्षेत्रमा बिकृत रुपहरु देखिन थालेको भन्दै कसैको तेजोबध गर्ने र कसैको गाना गाउने काममा पत्रकार लाग्न नहुने धारणा राखे ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य अमर थापा, प्रेस चौतारी केन्द्रिय सदस्य तारानाथ आचार्य, पूर्वकेन्द्रीय सदस्य दिल शिरीष, प्रेस युनियन बागलुङका उपाध्यक्ष संगम घर्ती मगर, पत्रकार महासंघ बागलुङका सचिव विजय राना, फोनिज बागलुङका अध्यक्ष प्रकाश छन्त्याललगायतले बोलेका थिए ।

चौतारीका जिल्ला अध्यक्ष नविन शिशिर बिकको अध्यक्षता, उपाध्यक्ष सिर्जना पन्तको स्वागत र सचिव कमल पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तीन पत्रकार पुरस्कृत, युवा क्रियाशिल पत्रकारिता पुरस्कार स्थापना

प्रेस चौतारी नेपाल बागलुङ शाखाले स्थापना गरेको ‘प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार’बाट तीन पत्रकार पुरस्कृत भएका छन् । चौतारीको २५ औं स्थापना दिवसको अवसरमा पत्रकारहरु दिल शिरिष, खिमबहादुर कार्की र उमाकान्त शर्मालाई पुरस्कृत गरिएको हो ।

‘प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०७७’बाट शिरिष, २०७८ बाट कार्की र २०७९ बाट शर्मालाई पुरस्कृत गरिएको सचिव कमल पौडेलले बताए । २०७२ सालमा जिल्ला शाखाले स्थापना गरेको ‘प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार कोष’बाट हरेक वर्ष एक जना क्रियाशिल जेष्ठ पत्रकारलाई पुरस्कृत गरिँदै आएको छ ।

२०७२ सालमा गएको शक्तिशाली भुकम्पपछि तयार भएको ‘भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्री प्रदर्शन गरेर जिल्ला शाखाले कोष बनाएको थियो । ‘प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार’बाट यसअघि हरिनारायण गौतम, रामबहादुर जिसी, रामकृष्ण शर्मा, रामकृष्ण बोहरा, चन्द्रप्रकाश शर्मा पुरस्कृत भैसकेका छन् ।

त्यस्तै, जिल्ला शाखाले पत्रकारिता क्षेत्रमा युवा पुस्तालाई आकर्षण गर्ने भन्दै ‘प्रेस चौतारी क्रियाशिल युवा पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । स्थापना दिवसको अवसरमा पुरस्कारका लागि एक लाखको अक्षयकोष घोषणा गरिएको अध्यक्ष नबिन शिशिर बिकले बताए । यो कोषबाट आगामी वर्षदेखि पत्रकारिता क्षेत्रमा उदयमान युवाहरुलाई पुरस्कृत गरिने बिकले बताए । ‘पत्रकारिताप्रति आकर्षण सिर्जना गर्न यो पुरस्कार पनि सहयोगी हुन सक्छ’ बिकले भने ‘स–साना पुरस्कारबाट उत्साह भर्ने काममा हामी लागेका हौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->