बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ढुंगा निकालेर दैनिकी गुजार्दै मजदुर

ढुंगा निकालेर दैनिकी गुजार्दै मजदुर

आजकल ढुंगाको जोहो गर्नुको साटो धेरैले जस्तापाता खोज्दा गाउँको ढुंगा उपयोगबिहिन बन्दै गएको हो ।


  • ढोरपाटन संवाददाता
  • माघ २६ २०७९, बिहिबार

बागलुङ/दशकौ भयो राङखानीका गम्भिर बहादुर बिकले ढुंगाखानीमा काम गर्न थालेको । व्याडथला नजिकैको ढुंगाखानीमा काम गर्न सजिलो भने छैन । ज्यानै जोखिममा पारेर काम गर्नुपर्छ । चिसो ओडारमा काम गरेर बिकले घर छाउने ढुंगा निकाल्छन् । पहिला सजिलै बिक्री हुने ढुंगा आजकल बिक्री हुन छाडेको छ ।

सोह्र बर्षअघि घर छाउनेले जति ढुंगा मगाउँथे त्यो अहिले आधाबढी घटेको बिकको अनुभव छ । व्याडथला र राङखानीका १० जना मजदुरले बर्षौदेखि ढुंगा उत्पादन गरेर बसेका छन् । ‘पहिला पहिला बाहिरै पाइने ढुंगा खोस्रेर भित्र पुगेको छ, काम गर्नै गाह्रो छ’ अर्का मजदुर भीमबहादुर श्रीषले भने, ‘यही ढुंगाले जीवन चलेको छ ।’ सामुदायिक वनको ढुंगा भएकोले उनीहरुले सिधै निकाल्न पाउँदैनन् । ढुंगाखानीबाट निकासी गरेपछि कमाइको तोकिएको प्रतिशत यहाँको बिद्यालयमा जाने गरेको छ ।

तत्कालिन जैदी गाविसको जग्गा भएकोले जैमिनी नगरपालिका–७ को सरस्वती आधारभूत बिद्यालयलाई निश्चित रकम तिर्नुपर्ने चलन छ । सोही कमाइबाट बिद्यालयले निजी श्रोतका शिक्षक राखेर पढाइ गरिरहेको हो । बिद्यालयको आम्दानीको श्रोत नभएपछि तत्कालिन जैदी गाविसले ढुंगाखानीको आम्दानी बिद्यालयमा बाँधेर संचालन गर्न लगाएको थियो ।

अहिले मजदुरले प्रतिगोटा ढुंगाको १ सय ३५ मा बेच्छन् । त्यसका लागि बिशेष नाप छ । एकहात चौडाइ र झण्डै डेढ हात लम्बाइको ढुंगा बनाएर उनीहहरुले बेच्ने गरेका हुन् । तर, खानीबाट व्याडथलास्थित बिक्रीकेन्द्रमा ल्याउन प्रतिगोटा ढुंगाको १० रुपैयाँ ज्याला खर्च भैसकेको हुन्छ । एक जनाले बढीमा १० वटाको दरले चार खेप गर्दा ४० वटा ढुंगा बोकेर व्याडथला ल्याउन सक्छन् । यसरी काम गर्दा उनीहरुले दैनिक ६ सय रुपैयाँ कमाउने गरेको बताए ।

‘ज्याला तिरेर हामीले संकलन गर्ने हो, स्थानीय युवाहरुले बोकेर ल्याइदिन्छन्’ श्रीषले भने, ‘यहीं ढुंगा बोकेर छोराछोरी पालियो ।’ प्रत्यक्ष रुपमा १० जना मजदुर देखिएपनि ढुंगा खेप्ने समेत गरी यहाँका ५० जना बढीले ढुंगाबाटै जीवन चलाएका छन् ।

कानूनी रुपमा ढुंगा खानी संचालन गर्न पाईदैन । खासमा यो परम्परागत पहिरोमा खसेका ढुंगा कुँदेर घर छाउने बनाइएको बिकले बताए । पातालो र नरम प्रकारका ढुंगा निस्कने र निकालिसकेपछि कडा बन्ने भएकोले यो ढुंगा धेरैको रोजाइमा पर्दै आएको थियो । पछिल्लो समय जस्तापाताले ढुंगालाई विस्थापित गरेको छ ।

राङखानी, सर्कुवा, जैदी, छिस्ती अर्जेवा लगायतका बस्तीमा अधिकांंस घर ढुंगाले छाएका छन् । आजकल ढुंगाको जोहो गर्नुको साटो धेरैले जस्तापाता खोज्दा गाउँको ढुंगा उपयोगबिहिन बन्दै गएको हो । जस्तापाता किन्दा गाउँलेको रकम बजार पसेको र गाउँले सिपले बजार पाउन छाडेको स्थानीय टिकाराम शर्माले बताए । ‘ढुंगाले छाउन धेरै खर्च लाग्छ, समय पनि लाग्छ, जस्तापाता भए एकैदिनमा काम सकिन्छ भनेर ढुंगा प्रयोग गर्न छाडेका छन्’ शर्माले भने, ‘बिक्री नभएपछि ढुंगाको पेशामा लाग्नेहरु पालायन हुँदैछन् ।’ पुराना बुढापाकाले काम गरेपनि युवाहरुको आर्कषण घटेको उनले बताए । युवाहरु बिदेश जाने वा अन्य जागिरमा लाग्दा परम्परागत सिप भने लोप भएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->