बागलुङ/ न्यून आय भएको समुदायमा रहेको एक बिद्यालयका बालबालिकालाई बागलुङ नगरपालिकाले विद्यालय पोशाक तथा स्टेशनरी सामग्री उपलव्ध गराएको छ । बागलुङ नगरपालिका–७ मा रहेको ज्योतिपुञ्ज प्राथमिक विद्यालयका ४० जना विद्यार्थीको लागि पोशाक र स्टेशनरी उपलब्ध गराइएको हो ।
बिपन्न समुदायका बालबालिका धेरै रहेकाले विद्यालयमा सहयोग गर्न समुदायस्तरबाटै पटकपटक माग भएपछि नगरपालिकाले बिद्यालयमा पुगेर सहयोग गरेको जनाएको छ । बागलुङ नगरपालिकाको शिक्षा शाखाको आयोजनामा विद्यालयमा पुगेर नगरप्रमुख बसन्तकुमार श्रेष्ठले सबै बिद्यार्थीका लागि पोशाक र कपी, कलमलगायत खेलकुदका सामग्री हस्तातरण गरेका थिए ।
सोही कार्यक्रममा सामाजिक अभियान्ता सुरेन्द्र गैरेले तीनजना बालबालिकालाई पोशाक तथा स्टेशनरी सहयोग गरेका थिए । विभिन्न माध्यमबाट संकलित सहयोग रकमबाट गैरेले जेहेन्दार, विपन्न र सरसफाइमा उत्कृष्ट तीन जना विद्यार्थीलाई सहयोग गरेका हुन् ।
जेहेन्दार छात्रा आश्रीया गौतम, विपन्न परिवारका छात्र पारराज रेग्मी र सरसफाइमा उत्कृष्ट छात्र अभिषेक परियारलाई गैरेले सहयोग गरेका हुन् ।





