पोखरा/ पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा स्कुटर अनियन्त्रित भइ पल्टँदा स्कुटर चालकको मृत्यु भएको छ । पृथ्वीचोकस्थित चाइना पुल नजिकै पृथ्वीराजमार्गअन्तर्गतको सडकको ढलान बाटो र पिचबाटो बीचमा रहेको उचाइमा स्कुटर अनियन्त्रित भइ पल्टेपछि चालक रेजिना आचार्य उछिट्टिएर सडकको बायाँतर्फ पुगेकी थिइन् ।
सोही क्रममा सोही दिशातर्फ जाँदै गरेको ना ८ ख ५२५१ नम्बरको पोखरा वीरगंज चल्ने बसले उनलाई कुल्चिएको प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार सडक नै दुर्घटनाको मुख्य कारण हो । पृथ्वीचोकबाट लेखनाथतर्फ जाँदै गरेकी उनले चलाएको ग १५ प २४७६ नम्बरको स्कुटरको पांग्रा लेबल नमिलेको सडकमा झर्दा पल्टिएको प्रत्यक्षदर्शीले बताए ।
‘दुर्घटनास्थल हेर्दा सडक नै मुख्य कारण देखिएको छ । सवारी चालक (स्कुटर) अनब्यालेन्स हुँदा पल्टिएको देखिन्छ । स्कुटर र चालक फरक दिशामा पल्टिएको छ । त्यही बेला पछाडीबाट आएको बसले उनलाई कुल्चेको देखिन्छ,’ प्रत्यक्षदर्शीले भने । उनका अनुसार दायाँतर्फ नै पल्टिएको भए उनी बाँच्ने सम्भावना थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले पनि सडकको स्थिति ठीक नभएको स्वीकारे ।सडकको स्थिति ठीक नभएकाले सवारी चालक स्वयं सचेत हुनुपर्ने उनको भनाइ छ । पृथ्वीचोकदेखि चाइनापुलसम्मको बाटो ६ लेनभन्दा ठूलो र पुल दुई लेनको मात्र रहेको छ ।‘समयसँगै अहिले पृथ्वीचोकदेखि चाइनापुलसम्मको बाटो ६ लेनभन्दा पनि ठूलो भइसकेको छ तर पुल चाहिँ दुई लेनको छ ।
पृथ्वीचोकतर्फबाट जाने सवारी पनि पुलमा नै अड्किने गरेको छन्’m उनले भने,‘त्यही समयमा अघि बढ्ने अवस्थामा सवारी ओभरटेकले पनि कतिपय दुर्घटना निम्त्याएको छ भने सडकै छाडेर जाँदा पनि लगभग दुई लेन नै छाडेर साघुँरो सडकमा जानुपर्ने हुन्छ यसले गर्दा सवारी चलाउन केही असहज देखिएको छ ।’दुर्घटनास्थलको सडकमध्ये बीच भागमा ढलान र छेउको भागमा पिच रहेको उनले सुनाए । उनका अनुसार उक्त सडकको बीच र छेउको भाग एकैनास अर्थात् बराबरीको छैन् । छेउको भागहरु बीचको भन्दा डेढ इन्च जति तल रहेको छ ।
त्यसैले जोखिम बढाएको छ । ‘सडक बनाइरहँदा बीचको सडकमा ढलान छ । दुई साइड पिच गरेको छ । सडक तलमाथि परेजस्तो देखिन्छ त्यहाँ करिब एक डेढ इन्च जति,’ उनले भने, ‘सडक तलमाथि भएको स्थानमा स्कुटर ढलपल ग¥यो । स्कुटर बायाँतर्फ र स्कुटर चालक दायाँतर्फ पल्टिँदा चालक बसको चक्कामा परेको देखिन्छ ।’
लेखनाथ बुढीबजारकी रेजिना गाडीको ट्रायल दिन पोखरा आएकी थिइन् । बिहान आएकी उनी घर तर्फ नै फर्किने क्रममा दुर्घटना भएको हो । उद्धार गरी अस्पताल लगेका विष्णु गुरुङले सडककै कारण दुर्घटना भएको बताए । सोही स्थानको मासु पसलमा काम गर्दै आएका विष्णुले सडकका कारण पटकपटक उक्त स्थानमा मोटरसाइकल र स्कुटर पल्टिने गरेको बताए । ‘हामीले त दिनमा कतिपटक यहाँ (दुर्घटनास्थल) बाट बाइक, स्कुटर उठाउँछौ थाहै छैन् । सामान्य तरिकाले त यो बाटोको कारण कति पल्टिन्छ पल्टिन्छ,’ आजको (बिहीबार) घटनामा त बसको पछाडीको पांग्रो भित्र टाउको थियो । रक्ताम्य अवस्थामा सबैले फोटो र भिडियो बनाएर बसे कसैले लगेनन् अनि मैले र दाइ ((निरज नेपाली) ले ट्याक्सीमा हालेर लगेको हो ।’
दुर्घटनास्थलबाट करिब पाँच सात पसल माथि अस्पताल रहेपनि घाइतेलाई लैजान १० मिनेटभन्दा बढी समय लागेको उनले सुनाए । ‘हिँडाएरै लगेको भए बरु एक मिनेटमै लगिन्थ्यो ट्याक्सीमा हालेको १० मिनेट जति लाग्यो ।’ उनले भने । उनका अनुसार दुर्घटना भएको पनि करिब १० मिनेटपछि मात्रै रेजिनाको उद्धार भएको थियो । निरज नेपालीले पनि अगतिलो बाटोकै कारण दुर्घटना भएको बताए । उनले दुर्घटनामा बस र स्कुटरको नभइ सडक निमार्ण गर्ने निकायको लापरवाही भएको जिकिर गरे । ‘यसमा बस र स्कुटरको गल्ती नै छैन । गल्ती त यो सडक बनाउनेहरुको हो ।
लेभलको सडक नबनाइ कमिसनको खेलमा सडक बनाएपछि दुर्घटना त हुन्छ न,ै’ उनले भने,‘कारवाही त सडक बनाउनेलाई हुनुपर्छ । यो सडक चाँडै बनाउनुपर्छ सधैँ दुर्घटना हेरेर बस्नुपर्ने बाध्यता छ ।’ पृथ्वी राजमार्गअन्तर्गत रहेको उक्त सडकको दायित्व सडक विभागसँग छ । राजमार्ग सडक विभागले नै बनाइरहेको सडक डिभिजन पोखराका पूर्वइन्जिनियर किरण सुवेदीले जानकारी दिए ।
ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी शिव पाठकले पृथ्वीचोकको सो स्थानमा दैनिक दर्जनभन्दा बढी सामान्य दुर्घटना हुने गरेको स्वीकारे । जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पृथ्वीचोकदेखि लामेआहालसम्म ७ महिनामा कुल २० ठूला दुर्घटना भएका छन् । सामान्य दुर्घटनाको त तथ्यांक नै छैन् । जसमा चार जनाले ज्यान गुमाउँदा १२ जना गम्भीर घाइते भएका छन् । जसमध्ये दुई पांग्रे सवारी १२ र चार पांग्रे सवारी ८ वटा रहेका छन् ।





